यसरी डुब्यो फिल्मको आधा अर्ब लगानी


११ बैशाख २०७५, मंगलवार
Aditi budhathoki 1

काठमाडौं : २०७४ को अन्तिम दिन रिलिज भएको फिल्म नेप्टेका निर्माता तथा नायक रोहित रुम्बा गुनासो गर्दै थिए, ‘दुई रोपनी जग्गा बेचेर बनाएको फिल्मले रिलिजको बेला भने जति हल पाएन । मलाई डुबाइयो । षड्यन्त्र भयो । अब त ज्यान जाला फिल्म बनाउँदिनँ ।’ यो दुःखेसो उनको मात्रै होइन, यो वर्ष रिलिज भएका ९० प्रतिशत फिल्मका निर्माताको यस्तै गुनासो छ ।

Aditi budhathoki
कृ फिल्मकी अभिनेत्री अदिति बुढाथोकी

यो वर्ष रिलिज भएका ८३ चलचित्रमध्ये १० प्रतिशतले नाफा कमाए भने २० प्रतिशतले मात्रै लगानी उठाए । बाँकी सबैले आफ्नो फिल्म असफल हुनुको दोष हलवाला, कलाकार, वितरकलगायतलाई लगाउँदै आफूलाई सान्त्वना दिए । लगानी फिर्ता गर्न असफल प्रायः निर्माता दोहोर्‍याएर फिल्म बनाउने मुडमा छैनन् । केही मात्रै यो पटकको असफलतालाई अर्को पटक सफलतामा बदल्ने प्रयत्नमा लागेका छन् ।

यो वर्ष फिल्ममा लगानी निकै बढे पनि त्यसको अनुपातमा प्रतिफल प्राप्त भएन । कलाकारको पारि श्रमिकका साथै निर्माण खर्च वृद्धि भएकाले फिल्मको लागत पनि ह्वात्तै बढेको हो ।

यो वर्ष २५ लाखदेखि तीन करोडसम्म खर्च गरेर फिल्म निर्माण भए । यीमध्ये थोरै फिल्मले मात्रै अन्तर्राष्ट्रिय बजार उपयोग गर्न सके । स्वदेशी सामान्य बजारले धान्न नसक्ने बजेट र विदेशी बजार उपयोग गर्न नसक्दा धेरै निर्माताको लगानी डुबेको हो । निर्माण सुरु भएका धेरै फिल्म विभिन्न कारणले समयमा तयार हुन सकेनन् जसले गर्दा यसमा भएको लगानी डम्प भएको छ ।

२०७३ भित्र एक सय ६० फिल्म निर्माणका लागि चलचित्र विकास बोर्डमा दर्ता भए पनि २०७४ मा ८३ वटा फिल्म मात्र रिलिज भए । रिलिज भएका धेरै फिल्मले १० देखि ५० प्रतिशत मात्रै लगानी सुरक्षित गर्न सके । औंलामा गन्न सकिने केही फिल्मले भने लगानीको दुई, तीन गुणासम्म नाफा कमाए ।

२०७४ साल वैशाख १ गते दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’ रिलिज भएको थियो भने वर्षको अन्तिम दिन चैत ३० गते मिलन चाम्स निर्देशित फिल्म लिलिबिली र देवकुमार श्रेष्ठ निर्देशित नेप्टे रिलिज भएका थिए ।

यो वर्ष सर्वाधिक कमाउने फिल्ममा छक्कापञ्जा-२, शत्रुगते, कृ, ए मेरो हजुर-२ लगायत रहे । सिक्वेल फिल्मको क्रम चलिरहेकै बेला आएको छक्कापञ्जा-२ ले बक्स अफिसमा राम्रो कलेक्सन गर्‍यो । छिटो कलेक्सनको हिसाबले यसले अघिल्लो फिल्मलाई उछिन्यो । दीपा श्री निरौला निर्देशत यो फिल्मका कलाकार छक्कापञ्जाकै दोहोरिए पनि कथावस्तु फरक छ ।

यो फिल्म एक करोड ५० लाख रुपैयाँमा निर्माण भएको हो । यसैगरी धेरै कमाउने अर्को फिल्म बन्यो मह सञ्चारको शत्रुगते । एक करोड ५० लाखको लागतमा बनेको चलचित्र अहिले पनि केही हलहरूमा प्रदर्शन भइरहेको छ ।

पाँचौं हप्तामा पनि नयाँ रिलिज भएका फिल्मलाई टक्कर दिइरहेको यो फिल्म २०७४ मा रिलिज भएकामध्ये सर्वाधिक कमाइ गर्ने चलचित्र पनि बन्न सक्ने सम्भावना छ । कलाकारको जम्बो टोली समावेश चलचित्र प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यस्तै भुवन केसी र सुवास गिरीले निर्माण गरेको ‘कृ’ मा दुई करोडभन्दा बढी खर्च भएको छ । अनमोल केसी र अदिति बुढाथोकी स्टारर कृले गीत चोरीको आरोपमा ११ लाख जरिवानासमेत तिर्नुपर्‍यो । फिल्मका निर्देशक सुरेन्द्र पौडेल हुन् ।

यस्तै ए मेरो हजुर-२, ऐश्वर्य, प्रेम गीत-२, म यस्तो गीत गाउँछु, कान्छी, लिलिबिलीलगायतका चलचित्रले पनि अफ्नो लगानी सजिलै सुरक्षित गरे । व्यावसायिक हिसाबले फिल्म निर्माण हुन नसक्दा २०७४ सालमा यस क्षेत्रमा लगानी भएको झन्डै आधा अर्ब लगानी डुबेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७