युटिएललाई चार अर्ब पूँजी वृद्धिको अनुमति, २५ लाख ग्राहक पुर्‍याइने


१६ बैशाख २०७५, आईतवार
UTL Nepal

काठमाडौं, १६ बैसाख : सरकारले युनाइटेड टेलिकम लिमिटेड (युटिएल) लाइ चार अर्ब पूँजी वृद्धिको अनुमति दिएको छ ।
उद्योगमन्त्री मात्रिकाप्रसाद यादवको अध्यक्षतामा बसेको उद्योग तथा लगानी प्रवद्धन बोर्डको २२५ औं बैठकले युटिएललाई चार अर्ब रुपैयाँ पूँजी वृद्धिको अनुमति दिएको हो । यसअघि दुई अर्ब रुपैयाँ कूल पूँजी भएको युटिएलले चार अर्ब रुपैयाँ पूँजी वृद्धिको अनुमति पाएसँगै कूल पूँजी छ अर्ब रुपैयाँ पुगेको जनाइएको छ ।UTL Nepalभारतीय लगानीकर्तासँग युटिएलको स्वामित्व खरिद गरेर स्थानीय लगानीकर्ताले ‘रिभाइभल’ सहित सञ्चालनको तयारी गरिरहेको छ । त्यही प्रक्रियामा पूँजी वृद्धि गरिएको युटिएल सञ्चालक स्रोतले जानकारी दिएको छ । युटिएलको भारतीय स्वामित्व उपेन्द्र महतोसहितको देशका ठूला औद्योगिक घरानाले खरिद गरिसकेको छ । स्वामित्व खरिद विक्री करीब अन्तिम चरणमा छ । कागजातको लेनदेन बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।

महतोसँगै युटिएलको शुरु स्थानीय साझेदार विशाल समूह पनि टेलिकम विजनेशमा फर्किएको छ । विशाल समूहसँग भएको नेपाल भेञ्चर्स केही वर्षअघि महतोका नातेदार एमाले नेता रघुविर महासेठ (भौतिक पूर्वाधार तथा यातायात मन्त्री) ले खरिद गरेका थिए । महतो, विशाल समूहसहित हिमालयन डिष्ट्रलरीका राजबहादुर शाह, दीपक मल्होत्रा र आइएमएसमा उनका साझेदार दीपक सावर्थिया पनि नयाँ युटिएलका साझेदार हुन् ।

लगानी कहाँ खर्च हुँदैछ ?

भारतीय लगानीकर्तालाई फिर्ता दिन चाहिने रकमका लागि नेपाली समूहले पहिलो चरणको फन्डिङ समेत जुटाइसकेको छ । भारतीय लगानीकर्तालाई रकम फिर्ता गरेपछि पनि नेपालका बैंक, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका नियमकारी निकाय तथा भुक्तान हुन बाँकी राजश्व गरेर साढे तीन अर्ब रुपैयाँ अतिरिक्त रकम चाहिन्छ ।

त्यो रकम जुटाएर भुक्तानी गरेपछि मात्रै कम्पनी क्लिन हुने एक सञ्चालकले जानकारी दिए । पाँच अर्ब रुपैयाँ लगानीपछि कम्पनीले पूर्वाधार विस्तारका लागि थप रकम जुटाउने छ । कम्पनी वित्तीय रुपमा टाट पल्टिए पनि भारतीय समूहले नेपालमा गरेको डेढ अर्ब रुपैयाँभन्दा बढीको लगानी फिर्ता गर्नुपर्नेछ, त्यसका लागि चाहिने अधिकांश रकम बैंकमा जम्मा भइसकेको छ, लगानीकर्ताहरुले जानकारी दिएका छन् । त्यसपछि इक्विटी र ऋण गरेर थप दश अर्ब जुटाउने योजना छ, यो विषयमा जानकार अर्का एक उद्योगीले बताउँछन्स ।

राज्यलाई राजश्व

युटिएलले राज्यलाई तिर्नुपर्ने एक अर्ब रुपैयाँ रोयल्टी नतिरेको भन्दै, २०६८ सालमा दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयले युटिएल बन्द गराउने निर्णय गरेका थिए ।

लामो अदालती प्रक्रियापछि युटिएलले, २०७३ भदौमा २० करोड रुपैयाँ रोयल्टी तिर्दै सबैखाले टेलिकम सेवा दिन पाउने युनिफाइड लाइसेन्स लिएको छ । एक लाख ग्राहकलाई सेवा दिने गरी स्थापना भएको युटिएलले पूँजी वृद्धिको प्रस्तावमा थप २४ लाख ग्राहकलाई सेवा दिने जानकारी दिएको छ । अब युटिएलले २५ लाख ग्राहकलाई जिएसएम, सिडिएमएलगायतका ताररहित सञ्चार सेवा दिने दावी गरिएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणबाट आधारभुत टेलिफोन सेवा सञ्चालनको लागि अनुमति पाईसेककोले उद्योगको पूँजी वृद्धिको लागि स्विकृती दिइएको बोर्डले जनाएको छ । गत माघमा युटिएल पूँजीवृद्धिको निवेदन लिएर उद्योग विभागमा गएको थियो । युटिएलले अहिले अन्तर आवद्धता शुल्क वापत २४ करोड र फ्रिक्वेन्सीको २२ करोड रुपैयाँ शुल्क गरी ४६ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ ।

कस्तो बन्छ नयाँ कम्पनी ?

युटिएलमा शेयर साझेदार भारतीय कम्पनीले लगानी नबढाएपछि महासेठले इक्विटिमा परिवर्तन हुने गरी लगानी बढाएका थिए। त्यही कारण युटिएलमा नेपालीको ५३ प्रतिशत तथा भारतीय पक्षको सेयर ८० बाट ४७ प्रतिशतमा झरेको थियो ।

नयाँ बन्ने कम्पनीमा महतो समूहको ४० प्रतिशत शेयर साझेदारी हुनेछ भने बाँकी लगानीकर्ताको ६० प्रतिशत शेयर साझेदारी हुनेछ । त्यसमध्ये ३० प्रतिशत शेयर विशाल समूह र आइएमएससँग हुनेछ । मल्होत्रासँगै उनका आइएमएसका पुराना साझेदार दीपक सावर्थिया पनि यो परियोजनामा हुनेछन् । सावर्थिया मध्यपूर्वमा बसेर दक्षिण एसिया, हङकङदेखि अफ्रिकासम्म कारोवार विस्तार गरेका छन् ।
त्यसवाहेक जावलाखेल ग्रुप अफ कम्पनीजका राजबहादुर शाहसँग १० प्रतिशत हाराहारीमा शेयर साझेदारी हुनेछ । त्यसबाहेक बाँकी २० प्रतिशत शेयर ज्योति लगायतका समूहसँग हुनेछ ।

१५ वर्षअघि २०५९ असोज १८ गते अनुमति प्राप्त गरेको युनाइटेड टेलिकम लिमिटेड (युटिएल) भारतका तीन कम्पनीको ८० प्रतिशत स्वामित्वसहित खुलेको थियो । २०६० भदौमा सेवा शुरु गरेर वित्तीय रुपमा ठूलो नोक्सानीमा रहेको युटिएलसँग देशभरका तीन करोड ७० लाख टेलिकम कनेक्सनमध्ये जम्मा पाँच लाख २६ हजार कनेक्सन मात्र छन् ।

शुरुमा युटिएलमा भारतका तर्फबाट टेलिकम्युनिकेसन्स कन्सल्ट्यान्ट इण्डिया लिमिटेड, महानगर टेलिकम लिमिटेड तथा टाटा कम्युनिकसेन लिमिटेडले २६ दशमलव ६६ प्रतिशतका दरले शेयर लिएका थिए । नेपालकातर्फबाट युटिएलमा नेपाल भेन्चर्स प्रालिको २० प्रतिशत शेयर थियो । आगामी केही महिनामा कम्पनीलाई वित्तीय रुपमा क्लिन बनाउने काम हुन्छ, त्यसपछि कम्पनी आक्रामक बजार विस्तारमा जाने रणनीति बनाइएको छ । त्यसको काम समेत शुरु भईसकेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७