रक्षामन्त्री पोखरेलको आग्रह : देशको समृद्धिका लागि एकजुट बनौं


२३ बैशाख २०७५, आईतवार
ishwor

लम्जुङ, २३ बैसाख । रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि सबै एकजुट हुन आग्रह गरेका छन् । सार्क राष्ट्रको ‘नमुना पर्यटकीय गाउँ’ घलेगाउँको १९ औं घलेगाउँ महोत्सवको आइतबार उद्घाटन गर्दै मन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिलाई अघि बढाउन सबै दल एकजुट हुनुपर्ने बताएका हुन् ।ishwor

उनले भने, ‘हिजो ६–६ महिनामा सरकार बदलिने, विकास निर्माण र समृद्धि हुन नपाउने दुर्भाग्यपूर्ण सिलसिला थियो, अब त्यो रहँदैन’–उनले थपे–‘हिजो प्रतिष्पर्धा गरियो, कसैले जितियो, कसैले हारियो । यहाँ जित्नेहरु पनि छौं, हार्नेहरु पनि छौं । प्रतिष्पर्धामा जे भयो, भयो सकियो । अब सबै मिलेर जनताको समृद्धि र विकासका लागि एकजुट भएर लाग्नुपर्छ ।’
मन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

उनले जनताको जीवन र रोजगारीसँग नगाँसिएको पर्यटन अघि बढ्न नसक्ने बताएका छन् । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा, पूर्वसांसदहरु जमीन्द्रमान घले, डा. भीष्मनाथ अधिकारीलगायतले घलेगाउँको पर्यटन विकासले लमजुङको आर्थिक समृद्धिमा टेवा पुगेको बताए ।

हिमालै–हिमालको काखमा रहेको करिब ६ सय वर्ष पूरानो घलेगाउँमा हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टेसँगै परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्गा, कृष्णचरित्रलगायतका नृत्य, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिन्छ । यस्तै, सामूहिक भेडापालनको अवलोकन, बोटानिकल गार्डेन र भ्यू टावर आदि घलेगाउँका आकर्षणहरु हुन् । १३ घरबाट शुरु भएको घलेगाउँको होमस्टे अहिले ३५ घरमा विस्तार भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७