डाटा चलाउँदा बढी पैसा खर्च भो ? यसरी बचाउनुस् इन्टरनेट डाटा


२६ बैशाख २०७५, बुधबार
Mobiledata intenet

काठमाडौं, २६ बैसाख । मोबाइल प्रयोगकर्ताहरूको संख्या दिनानु दिन बढ्दो छ । ट्याब्लेट, फ्याब्लेट, कम्प्युटर तथा ल्यापटपमा गर्न सकिने काम मोबाइलमै उपलब्ध भएपछि आम मानिस मोबाइलतर्फ आकर्षित भएका हुन् । अचेल कम्प्युटरमा भन्दा मोबाइलमा इन्टरनेट चलाउनेहरूको संख्या बढी छ । देशका सबैजसो ठाउँमा मोबाइल डाटा उपलब्ध छ ।

Mobiledata intenet
तस्विर : गुगल

चाहे एनसेल होस् वा एनटिसी मोबाइल, प्रयोगकर्ताहरूको एउटै गुनासो सुनिन्छ, डाटा चलाउँदा बढी पैसा खर्च भयो, शुल्क महँगो छ । नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूले उपभोक्तालाई लक्षित गरेर ‘भोल्युम बेस्ड’ इन्टरनेट सेवा प्रदान गरिरहेका छन् । हाइस्पिड डाटा सकिएपछि फेसबुक, ट्विटर, युट्युबहरू सुस्त गतिमा चल्न थाल्छन् । डाटा हुन्जेल यिनै एप्लिकेसन तीव्र गतिमा चल्छन् ।

इन्टरनेट डाटा कसरी बचत गर्ने त ?

वाइफाइ प्रयोगकर्ताहरू मोबाइलमा विभिन्न वेबसाइट तथा एप्सहरूमा रमाइरहेका हुन्छन् । यद्यपि उनीहरू मोबाइल डाटा चलाउँदा उति सचेत रहँदैनन् । त्यसैले इन्टरनेटको हाइस्पिड डाटा छिटो सकिन्छ, जसले गर्दा इन्टरनेट सुस्त हुन्छ । मोबाइल डाटा तथा भोल्युम बेस्ड वाइफाइ इन्टरनेटमा केही उपाय अपनाउने हो भने इन्टरनेट डाटा बचत गर्न सकिन्छ ।

ओपेरा म्याक्स

पहिले इन्टरनेट चलाउन ‘ओपेरा मिनी’ राख्ने सल्लाह दिइन्थ्यो, तर अचेल मिनीको सट्टा ओपेरा म्याक्स प्रभावकारी छ । ओपेरा सफ्टवेयरले मोबाइल डाटा बचत गर्न ‘ओपेरा म्याक्स’ एप सार्वजनिक गरेको छ, जसलाई अन गरेपछि ५० प्रतिशतसम्म डाटा बचत हुन्छ । ओपेरा म्याक्स मोबाइल डाटा र वाइफाइ दुवैमा प्रयोग गर्न सकिन्छ । ब्याक ग्राउण्ड डाटा बन्द गरेको अवस्थामा ओपेरा म्याक्स नचल्न पनि सक्छ । यसको प्रयोग गर्दा ब्याक ग्राउण्ड डाटा अन गर्नुपर्छ ।

ब्याकग्राउण्ड डाटा बन्द गर्ने

मोबाइलमा इन्टरनेट चलाउँदा एन्ड्रोइड फोनको ब्याकग्राउन्डमा विभिन्न एप चलिरहेका हुन्छन् । मोबाइलमा डाटा कनेक्ट गरेर कुनै एप नचलाएको अवस्थामा पनि ब्याकग्राउन्डमा भैरहेका गतिविधिले डाटा घटिरहेको हुन्छ । त्योसँगै पैसा पनि काटिन्छ । मोबाइलमा डाटा बचत गर्न फोनको सेटिङमा गएर ब्याकग्राउन्ड डाटा अफ गर्न सकिन्छ ।

क्रोम ब्राउजरमा डाटा सेभर अन

गुगलको क्रोम ब्राउजरमा डाटा सेभ गर्ने एउटा अप्सन छ–‘डाटा सेभर’ । ‘डाटा सेभर’ अन गरेको खण्डमा गुगलले क्रोममा हेरिने साइटहरूलाई मोबाइलका लागि अप्टिमाइज गरिदिन्छ, जसका माध्यमबाट क्रोम ब्राउजरको सेटिङ्सबाट डाटा सेभर अन गर्न सकिन्छ । क्रोम डाटा सेभर, डेस्कटपमा पनि उपलब्ध छ । यदि डेस्कटप ब्राउजरमा धेरै साइट एकैपटक हेर्नु छ र भोल्युमबेस्ड इन्टरनेट छ भने गुगलको क्रोम वेबस्टोरबाट डाटा सेभर एक्सटेन्सन राख्नुपर्छ ।

प्लेस्टोरको अटो अपडेट बन्द

मोबाइलमा राखिएका एप्समा हरेक दिन नयाँ–नयाँ अपडेट आइरहेका हुन्छन् । अझ ती एप्सको नयाँ संस्करण आउदा त अपडेट गर्नैपर्छ, तर मोबाइल डाटा जोगाउन प्लेस्टोरको अटो अपडेट बन्द गर्न सकिन्छ अथवा वाइफाइमा मात्र एप्स अपडेट हुने सेटिङ गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७