साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरण : अदालतमा मुद्दामाथि आज थुनछेक बहस


२७ बैशाख २०७५, बिहीबार
Gold final

मोरङ, २७ बैसाख । साढे ३३ किलो सुन तस्करी र सुमन शाक्य हत्यासम्बन्धी मुद्दामा आज जिल्ला अदालत मोरङमा थुनछेक बहस हुँदैछ ।Gold final

बुधबार प्रतिवादीहरुको बयान सकिएपछि आज (बिहीबार) बाट थुनछेकको बहस शुरु भएको अदालतले जानकारी दिएको छ । बहसका लागि सरकारतर्फबाट सरकारी वकिल अनि प्रतिवादीका तर्फबाट विभिन्न जिल्लाका कानुन व्यवसायीहरुले तयारी गरेका छन् ।

यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान अदालतले लिइसकिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा उनीहरुको बयान लिइएको हो । अदालतमा बयानका क्रममा कतिपय अभियुक्तहरुले प्रहरीले अभियोगपत्रमा उल्लेख गरेको बयानभन्दा फरक विवरण भनेका छन् ।

प्रतिवादीतर्फबाट बहस गर्ने भनेर अदालतमा नाम दर्ता (वकालतनामा) गर्नेको संख्या ४४ पुगेको छ । बिहीबार थप कानुन व्यवसायीले वकालतनामा दर्ता गराउने भएका छन् । सरकार पक्षबाट बहस गर्न जिल्ला न्यायाधिवक्ताको कार्यालयका वकिललाई सघाउन सरकारी वकिलहरुको समूह बनाइएको छ । समूहमा उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता हिमालय त्रिताल, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक, सहायक न्यायाधिवक्ताद्वय पदमप्रसाद वस्ती र रोहितकुमार पोखरेल छन् ।

पूर्व उच्च प्रहरी अधिकारीलगातले भने पहिलेकै बयान दोहोर्‍याउँदै आफूहरुमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरी नियन्त्रणमा रहेका ३० जना बाहेक मुख्य अभियुक्त भनिएका चँडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना फरार छन् । जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत साता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समूह बनाई सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो ।

कानुन व्यवसायी एवं अदालतका अधिकारीहरुले यो मुद्दामा तस्करी गरिएको भनिएको ३३ किलो सुन हालसम्म कहाँ छ भन्ने पत्ता नलागेकाले अदालत समक्ष बलियो प्रमाणको अभाव हुने बताएका छन् । ‘राज्य र मातहत निकायले सुन कहाँ छ भन्ने पत्ता लगाएर अदालत समक्ष प्रस्तुत गर्नुपर्छ’ एक कानुन व्यवसायीले भने, ‘यसले मुद्दा स्थापित गरी अभियोग प्रमाणित गर्न धेरै सहज हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७