पातलो वीर्यले सन्तान हुन्छ ?


२८ बैशाख २०७५, शुक्रबार
birya

काठमाडौं, २८ बैसाख । म ३० वर्षको भएँ । मेरो बच्चा भएको छैन । वीर्य एकदम पातलो निस्कन्छ । त्यही कारणले मेरो कुनै सन्तान नभएको हो कि ? birya

– कुनै व्यक्ति ३० वर्षको हुँदैमा बच्चाको पिता हुने होइन । तपाईंले पिता हुन कुनै महिलासँगको यौन सम्पर्कपछि भएको गर्भधारणले निरन्तरता पाएको हुनुपर्छ । तपाईंले नभने पनि तपाईं विवाहित हुनु भएको र श्रीमतीले गर्भधारण नगरेको भनेर नै जवाफ दिने प्रयास गरेको छु ।

वीर्य के हो ?

सबैभन्दा पहिले त वीर्य के हो भन्ने विषयमै कुराकानी गरौं । पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सकिए यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य भनिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलि (५ मिलि भन्नाले १ चिया चम्चा जति) वीर्य निस्कन्छ ।

यही वीर्यमै शुक्रकीट हुन्छन् । तपाईंलाई थाहै होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थीको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा ईपीडीडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थीबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

वीर्यको रंग सामान्यतया सेतो हुने भए पनि हल्का पहेंलो वा खरानी रंगको पनि हुनसक्छ । यो क्रिम जस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ । वीर्य स्खलन हुँदा यो केही बाक्लो हुन्छ र केहीबेर पछि नै पातलिने क्रम सुरु हुन्छ । रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, स्लेश्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै किसिमका रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथ–साथै बाहिर निस्कन्छन् ।

वीर्य पातलो भनेको के होला ?

तपाईंले आफ्नो वीर्य किन एकदम पातलो भन्नु भएको हो थाहा भएन । सामान्यतयास् वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ । व्यक्तिअनुसार फरक–फरक हुने मात्र होइन एउटै व्यक्तिबाट पनि एकैनासको वीर्य निस्कँदैन ।

वीर्यको बाक्लोपनमा विविधता आउने अनेकौं कारण हुन्छन् । भोजनमा भएको परिवर्तन, व्यायाम वा शारीरिक श्रम, अण्डकोष वा यौनाङ्गमा पर्ने लुगाको कसिलोपनमा परिवर्तन तथा भर्खरै वीर्यस्खलन भएको छ भने त्यसपछिको वीर्यको बाक्लोपन फरक हुनसक्छ । यसरी हल्का रूपमा वीर्यको बाक्लोपनमा देखा पर्ने परिवर्तन खासै गम्भीर प्रकृतिको हुँदैन तर कुनै किसिमको संक्रमण वा मूत्रनलीको अन्य श्रावले वीर्यको बाक्लोपनमा परिवर्तन ल्याउन सक्छ । पिसाब पोल्नु वा दुख्नु अनि मूत्रनलीबाट श्राव आउनु अन्य रोगका लक्षण हुन सक्छन् । तपाईंले त्यस्तो कुनै कुरा उल्लेख गर्नुभएको छैन ।

यही कारणले बच्चा नभएको हो कि ?

वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएका नै यसले निकै नै महत्व पाएको छ । सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएको हुनाले यसले पाएको महत्व जायज नै लाग्छ । यो शक्ति आफैंमा ठूलो तथा महत्वको छ । पूर्वीय समाजमा वीर्य खेर फालिनु हुन्न भन्ने सिद्धान्त एकदमै प्रबल छ र वीर्य रगतबाट बन्छ भनेर चर्चा गरिन्छ । शुक्रकीटको उत्पादन मात्र होइन हाम्रो शरीरको कुनै पनि अङ्गको विकास वा उत्पादनका लागि रगतको प्रवाह आवश्यक हुन्छ किनभने रगतको माध्यमवाट नै आवश्यक कुराहरू उक्त अंगसम्म पुग्छन् ।

यसको अर्थ यो होइन कि निश्चित रगतको खर्चमा केही बन्छ । पोषणको दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८०० देखि २२०० क्यालोरी शक्ति चाहिन्छ र एक पल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरी मात्र हुन्छ । यौनसम्पर्क गर्दा वा त्यसअघि वा पछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलन जस्ता कतिपय क्रिया–प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

कुनै पुरुष सन्तानको पिता हुने–नहुने कुरा शुक्रकीटमा भर पर्छ । यो आवश्यक मात्रामा हुनुका साथै स्वस्थ (स्वरुप तथा गतिशीलताको सन्दर्भमा) पनि हुनुपर्छ । माथि नै भनियो कि एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलि (५मिलि भन्नाले १ चिया चम्चा जति) वीर्य निस्कन्छ ।

वीर्यमा हुने शुक्रकीटको संख्या संधै एकैनासको नहुन सक्छ तर यसको संख्या ४ देखि १२ करोड प्रतिमिलि लिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन् ।

प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ । सामान्यभन्दा कम संख्यामा शुक्रकीट हुनुलाई संख्या कम भएको भन्न सकिए पनि चिकित्सकिय दृष्टिकोणले शुक्रकीट कम भएको भन्न प्रतिमिलि लिटर वीर्यमा २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ ।
अहिले त २ करोडसम्मलाई पनि सामान्य भन्न थालिएको छ । तपाईको वीर्यमा कति शुक्रकीट छन् भन्ने कुरा पत्रमा उल्लेख छैन । एकपल्ट वीर्य परीक्षण गराउनुभए यस विषयमा जानकारी प्राप्त भैहाल्छ ।

के कति कारणले शुक्रकीटको संख्यामा कमी आउन सक्छ ?

शुक्रकीटको संख्यामा कमी हुनु वा यसको गतिशीलता, स्वरूप इत्यादिमा प्रभाव पर्ने अनेक कुरा हुनसक्छन् । भावनात्मक तनाव, यौन क्रियाकलापमा भएका समस्या, लिङ्ग उत्तेजनाका समस्या केही समयका लागि कम संख्यामा शुक्रकीट भएको देखिन सक्छ ।

अण्डकोष लामोसम्म तातो वातावरणमा हुँदा शुक्रकीटको उत्पादनमै कमी आउँछ । त्यसै गरी कोकिन वा अन्य केही लागू पदार्थले पनि शुक्रकीटको संख्या तथा गुणस्तरमा कमी ल्याउँछन् । धूमपान त्यसको अर्को कारण हो । भिटामिन सी, सेलेनियम, जिंक वा फोलेटजस्ता कुराको कमी अर्को कारण हो भने लामो समयसम्म निरन्तर साइकल हाँक्नु पनि त्यसको कारण हुनसक्छ ।

धेरै मोटो हुनुको प्रभाव पनि यस्तै हुन्छ भन्ने कुरा केही अध्ययनले देखाएका छन् । केही वंशाणुगत रोगले पनि यस्तो प्रभाव पारेको हुनसक्छ । त्यसैगरी वातावरणीय प्रदूषणको दीर्घकालीन सम्पर्कले पनि वीर्य उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छन् । विकिरण (एक्स रे वा अन्य)ले पनि शुक्रकीटको उत्पादनमा नकारात्मक असर पार्छ । अर्का्तिर पर्याप्त मात्रा स्खलन नहुँदा पनि शुक्रकीटको पूर्ण संख्यामा कमी आउन सक्छ । डा. राजेन्द्र भद्रा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७