नाट्यकृति ‘आत्मोसर्ग’ सार्वजनिक


३० बैशाख २०७५, आईतवार
Bimochan

ललितपुर, ३० वैशाख । अब्राहम समले किबोर्डबाट धुन दिए, प्लकिङबाट राजकुमार समालले गिटार प्रवेश गराए, यम समालले मादल सुरु गरे, सङ्गीतकार मण्डल साम्पाङबाट मुर्चुङ्गा सुनियो र नाकिमा नाकिमले वाचन गरे–
आमा–
तिम्रो श्रद्धामा
ढुङ्ग्रे बासले झुकाएको छ शिर
तिम्रो बिदाइमा
सोचमग्न छ चिउरीको रुख
तिम्रो सम्झनामा
सुसाएको छ सल्लाघारी
तिम्रो पिरमा
धेरै रोएर सुन्निएको छ
आँगन डिलको आँपको आँखा
तिम्रो शोकमा
बेहोस भएको छ
डाँडाको बुडो बर–पिपल
हो आमा,
तिम्रो अनुपस्थितिमा
स्तब्ध छ तुवाचुङ

लगत्तै रेवत राईले गाउन सुरु गरे –
मेरो जीवनको मुहान
मेरो सपनाको बिहान
ओ छिरीबुङ

अलग अभियानको वैशाख शृङ्खलामा कविता र गीत एकसाथ प्रस्तुत गरेर आयोजकले एउटा अलग प्रस्तुति दियो ।

कवि ज्योति जङ्गल र गायिका राधा राईको विशेष प्रस्तुति रहेको शृङ्खलामा साङ्केन बान्तावा, उदिम किराती, इनुमा राई, प्रयास दुमी, शान्ति सिन्जाली लगातले सिर्जना वाचन गरे ।Bimochan

ज्योति जङ्गलले ‘ताजमहलबाट फर्कदा’, ‘बादशाहको चुम्बन’, ‘घर’, ‘काठमाडौं’, ‘माटालाई ढोग्छु’ र ‘मुस्कानको शरण’ शिर्षकका कविता सुनाइन् भने राधा राईले ‘लेक है बाट’, ‘खोपी राखूँला तिम्रो नाम’, ‘मारिदिए मायाले’, ‘म बाँचेको’ र ‘घिन्ताङमा घिन्ताङ मादलै बज्यो’ बोलको गीत प्रस्तुत गरिन् । दुवै अतिथिले अलग अनुभूति भएको भन्दै अभियान निरन्तरताको शुभेच्छा व्यक्त गरे ।

कार्यक्रमा विष्णु नेम्वाङकृत नाट्यकृति ‘आत्मोसर्ग’ पनि सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७