आजदेखि देश लोडसेडिङमुक्त, औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो


३१ बैशाख २०७५, सोमबार
ktm

काठमाडौं, ३१ बैसाख । नेपाल विद्युत प्राधिकरणले अब देश लोडसेडिङको समस्याबाट मुक्त भएको बताएको छ । प्राधिकरणले औद्योगिक क्षेत्रको पनि लोडडसेडिङ हटेको जनाएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा गर्दै आएको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।

ktm
फाइल फोटो

चैतमा प्राधिकरणको भार सम्प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिएका थिए । सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका छन् । ‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग उर्जा भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं’, घिसिङको भनाई उद्धृत गर्दै प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘अब मुलुक पूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणकारुपमा काठडमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त गरेको थियो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रशारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रशारण÷वितरण प्रणालीमा आउन सक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवम् विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनी दिन आग्रह गरेका छन् ।

घिसिङले सोमबारदेखि मुलुकका कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने जानकारी दिएका छन् । अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको घिसिङले जानकारी दिए । ‘बिहान र बेलुकाको पिक सयममा अधिकतम विद्युत खपत हुने विद्युतीय उपकरण प्रयोग नगरी दिन र अन्य समयमा पनि ऊर्जा कम खपत गर्ने (ऊर्जा दक्षता) उपकरण प्रयोग गरी ऊर्जा बचतमा सदाझै सहयोग गर्न उपभोक्तालाई आग्रह गर्दछु’, अधिकारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७