करिष्माकै पथमा छोरी कविता, ‘एउटा यस्तो प्रेम कहानी’ बाट सिने नगरीमा डेब्यू
काठमाडौं, ३१ बैसाख । अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविताले पनि आमाकै पथ पछ्याएकी छन् । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कबिता मानन्धरले नायक शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत सिने नगरीमा डेब्यु गर्ने भएकी छन् ।
चलचित्रमा कबिता नायिकाको रुपमा पक्का भएको निर्देशक दिपेश सापकोटाले जानकारी दिएका छन् । यहि चलचित्रमार्फत शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठले पनि डेब्यु गर्दैछन् सम्भवत शक्ति र कबिताले यस चलचित्रमा स्क्रिन शेयर गर्नेछन् ।
आफ्नी छोरीलाई नायिकाको रुपमा हेर्न चाहेका करिष्मा र बिनोदले छोरीको डेब्यु आफ्नै होम प्रोडक्सनमार्फत गराउन चाहेता पनि तालमेल मिलिरहेको थिएन । तर, शिब श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत कबिताको सिनेक्षेत्रमा प्रवेश पक्का भएको छ ।
शिब श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मल्टिस्टार हुने भएको छ । यहि चलचित्रका लागि यसअघि नै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला फाइनल भईसकेका छन् भने चलचित्रमा शिब श्रेष्ठको पनि अभिनय रहने जनाइएको छ ।