अख्तियारको कमाइ मिडियामा लगानी

काठमाडौैं, ३१ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट २०७४ माघ २९ मा बिदा भएका दीप बस्नेतले मिडिया उद्योगमा लगानी गर्न लागेका छन् ।

स्रोतका अनुसार बस्नेतले जागिरे जीवनमा झापाको मालपोत कार्यालय प्रमुखदेखि राजस्व अनुसन्धान विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुँदासम्म नै बीसौ करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । उनी त्यही रकम खर्चेर सुशील कोइराला सरकारका बाणिज्य मन्त्री सुनिलबहादुर थापाको कोटामा अख्तियारको आयुक्तमा नियुक्ति हुन सफल भएका थिए । अख्तियारमै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको उजुरी परेका बस्नेत जस्ता विवादास्पद पात्रलाई कोइराला सरकारले आयुक्त बनाएको थियो । उनी अख्तियारबाट बिदा भएपछि उनले उमेर समेत ढाँटेको खुलेको छ ।

नागरिकतामा उनकी कान्छी बहिनी भगवती बस्नेत कोइराला भन्दा पनि बस्नेत एक बर्ष कान्छो देखिन्छ । यसरी कान्छी बहिनीको भन्दा उमेर घटाएर नागरिकता बनाएका बस्नेतले अख्तियारमा गएपछि अरबौं रकम थुपारेको आरोप छ । त्यो धन उनले विभिन्न केही ब्यापारीमार्फत् लगानी गरेका छन् । तिनैमध्येका ब्यापारी हुन्, जनकपुरका विश्वनाथ साह । बलवान छाप सूर्ति उत्पादन गर्ने साह मसला कटेज रेष्टुरेन्टका पनि संचालक हुन् । छोटो समयमा अरबौैको कारोबार गर्ने ब्यापारीका रुपमा उदाएका साहमार्फत् दीप बस्नेतले मिडियामा पनि लगानी गरेका छन् ।

बस्नेतका छोरा कमल बस्नेतले साहमार्फत् १० करोड लगानी गरेको स्रोतले बताएको छ । नेपाल समय नामक अनलाइनमा दीप बस्नेतकै सल्लाहमा साहले सबै विचारधाराका पत्रकारहरुलाई राखेका छन् । कान्तिपुरको नेपाल म्यागेजिन हुँदै अनलाइन खबर डटकममा पुगेका उपेन्द्र पोखरेल, अजय सुमार्गीको थाहा संचारका लीलाराज खनाल, अन्नपूर्ण पोष्ट हुँदै पूर्वएसएसपी विक्रमसिंह थापाको नेपाल तारा डटकमको सम्पादक भएका विष्णु सुवेदी र अन्नपूर्णकै बालकुमार नेपाल समेत स्तम्भरकार मुमाराम खनाललाई संचालन हुनु २ महिनाअघि नै नेपाल समयले अनुबन्ध गरिसकेको छ ।

दीप बस्नेतले अख्तियारको प्रमुख आयुक्त भएपछि महत्वपूर्ण मन्त्रालय गृह, अर्थ, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात आफैले हेर्नेगरी १ नम्बर महाशाखामा राखेका थिए । आयल निगमको जग्गा खरिद प्रकरणमा डेढ अर्ब रुपैयाँ घोटाला भएको बिषय, पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल, एआइजी विजयलाल कायस्थको अकूत सम्पत्तिको मुद्दादेखि सडकको अरबौं भ्रष्टाचारमा उनले असुली गर्दै उन्मुक्ति दिएका थिए । अकूत सम्पत्तिमा छानबिन गरेको हल्ला चलाएर सचिव अर्जुनकुमार कार्की, गजेन्द्र ठाकुर, सडक विभागका पूर्वमहानिर्देशक माधवकुमार कार्की, उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीदेखि प्रहरी र सशस्त्रका उच्च अधिकारीसँग पनि उनले मोलमोलाई गर्दै उन्मुक्ति दिने काम गरेको आरोप छ । बस्नेतले पीए लक्ष्मण बास्तोलामार्फत् अर्थ मन्त्रालयका ३० भन्दा बढी अरबपति नायबसुब्बादेखि सहसचिव केवल भण्डारी, निर्मलहरि अधिकारीहरुबाट ३० देखि १ करोड रुपैयाँसम्म असुली उजुरी मुल्तवीमा राखेको आरोप लागेको छ । उनीहरुबाट रकम मोलमोलाई गर्ने काम लक्ष्मण बास्तोलाले गरेका थिए ।

यी केही दृष्टान्त हुन्, बस्नेतले अख्तियारको प्रमुख आयुक्त पदलाई पैसा छाप्ने मेसिन नै बनाएका थिए । उनले एक बर्षको बीचमा १० अर्बको हाराहारीमा तर्साउँदै असुलेको आरोप छ । जुन कालोधन सेतो बनाउन उनका छोरा कमल बस्नेतले नक्साल बैंक्वेट खरिद गरेका छन्, साँघुमा समाचार छ । घाटामा संचालित उक्त बैंक्वेट बस्नेतका छोराले लिएपछि ब्यापक नाफामा जान थालेको छ । बैंक्वेट नचले पनि कागजमा भने दिनरात चलेको देखाएर अख्तियारबाट छापेको पैसा बैध बनाउन तल्लीन छन् ।

अख्तियारमा अरबौं घुस लिएर मात्र नपुगी बस्नेतले बिदा हुने बेलामा ठूला उजुरीका फाइलहरु फोटोकपी गरेर घरमा लगेको आरोप बस्नेतमाथि छ । अब मिडिया चलाएपछि ती फाइल हेर्दै उनी थप बार्गेनिङ गर्ने दाउमा लागेको स्रोतले बताएको छ । कर फस्र्योट आयोगका सबै फाइल लगेर उनले कर मिनाहा भएका ब्यापारी र उद्योगीसँग थप बार्गेनिङ गरेको स्रोतले बताएको छ । कर मिनाहाको निर्णय कार्यान्वयन नहुने भन्दै तर्साएपछि ठूला ब्यापारीले उनलाई घुस बुझाएर जोेगिएको विस्तारै खुल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्