राजधानीका सार्वजनिक स्थलमा चिनियाँ मोडलका अत्याधुनिक शौचालय


१ जेष्ठ २०७५, मंगलवार
FGDP40R7

काठमाडौं, १ जेठ । राजधानीका विभिन्न स्थानहरुमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधरणले समस्या भोग्नु परिरहेको छ । यो समस्या विशेष गरी महिलाहरुले भोग्ने गरेका छन् ।FGDP40R7

यात्राका क्रममा दिसा–पिसाव लागे होटल–रेष्टुरेन्ट छिर्नुपर्ने वाध्यता छ । होटल, रेष्टुरेन्ट र सपिङ मलहरुको शौचालय प्रयोग गर्न केहि असहजता हुने गरेको छ । तर, अब राजधानीबासीले यो समस्याबाट मुक्ति पाउने भएका छन् । सर्वसाधरणको यहि समस्यालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले विभिन्न ७० स्थानमा अत्याधुनिक शौचालय बनाउने भएको छ ।

महानगरपालिकाले आफ्नै खर्चमा ६ स्थानमा शौचालयको निर्माण गर्न लागेको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेका अनुसार बानेश्वर, त्रिपुरेश्वर, चाबहिल बबरमहल, गोंगबु र बसन्तपुरमा रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएका शौचालय राख्न लागिएको छ ।

डिजाइन तयार भएको छ भने लागतबारे अध्ययन थालिएको छ । ५ लाखमा निर्माण गर्न सकिने यस्तो शौचालय चीनमा निकै प्रचलनमा आएको छ । रोटोमोल्डिङ प्रविधिबाट निर्माण भएको यस्तो शौचालय १ सय १० किलो तौलको हुने जनाइएको छ । यसमा राखिएको पानीको ट्याङ्की १६० लिटरको हुन्छ भने फोहरको ट्याङ्की क्षमता २९० लिटरको हुन्छ । यसमा सौर्य उर्जाबाट चल्ने पंखा र बत्ति हुन्छ । साथै पुरुषहरुको लागि छुट्टै युरिनल समेत राखिएको हुन्छ । हात धुने बेसिन, ट्वाइलेट पेपर स्ट्याण्ड र ऐना पनि राखिएको हुन्छ ।

सानो ठाउँमा नै राख्न सकिने भएकाले यो ट्वाइलेट महानगरपालिकाका लागि समेत उपयुक्त देखिन्छ । यस्तो शौचालय सहजै एक ठाउँबाट अर्काे ठाउँ स्थानान्तरण गर्न पनि सकिने भएकाले महानगरका लागि उचित हुने काफ्ले बताउँछन् । चिनियाँ मोडलका अत्याधुनिक शौचालय चीनबाटै खरिद गर्ने काठमाडौं महानगरको योजना छ ।

महानगरले विभिन्न बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्थालाई समेत यसमा लगानी गर्न आग्रह नगरेको होइन । तर अहिलेसम्म कोही तयार भएका छैनन् । ‘बैंक तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायीत्वतर्फ गर्ने खर्च यसमा लगाउन आग्रह गरेका छौं, तर कोही तयार भएनन्,’ काफ्लेले भने । यसै वर्षभित्र ६ स्थानमा शौचालय राख्ने गरी प्रक्रिया अघि बढाइएको सार्वजनिक निजी साझेदारी कार्यक्रमका इकाई प्रमुख महेश काफ्लेले जानकारी दिए । ‘हामी आफैंले निर्माण गरेपछि यसमा निजी लगानीकर्ताको पनि चासो बढ्नेछ भन्ने अपेक्षाका साथ निर्माण अघि बढाउन लागेका हौं,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७