‘जेरी’ फिल्मको छायाङ्कनसँगै उदाएको ढुम्बा तालले पर्यटक लोभ्याउँदै


१ जेष्ठ २०७५, मंगलवार
jerry movie

– वासुदेव पौडेल र रामबहादुर थापा
ढुम्बा गाउँ, मुस्ताङ, १ जेठ ।
  ‘ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो,’ ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने । हिमालपारिको जिल्ला मुस्ताङको घरवजोङ गाउँपालिका– ५ ढुम्बा गाउँमा रहेको रमणीय ताल यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बनेको छ । सदरमुकाम जोमसोमबाट ४५ मिनेटको पैदल यात्रापछि पुगिने यो ताल मुस्ताङको ऐतिहासिक ठिनी गाउँको नजिकै पर्छ ।jerry movieजेरी फिल्मकाे दृश्य ।

लगभग ४०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा अवस्थित ढुम्बा तालको गहिराइ करिब १० मिटर रहेको गुरुङ बताउनुहुन्छ । विसं २०७२ को भूकम्पका कारण तालको पानी सुक्दै जान थालेपछि चिन्तित बनेका स्थानीवासी यतिखेर पानी पूर्ववत् अवस्थामा रहन थालेपछि खुशी छन् ।

भूकम्पपछि मुहान सुक्नाका साथै तालको भूभाग चर्कंदा पानी सुक्दै गएको थियो । ‘जेरी’को छायाङ्कनसँगै विश्व बजारमा चर्चा पाएको ढुम्बा ताललाई त्यसपछि छायाङ्कन भएका विभिन्न चलचित्र एवं गीतको भिडियोले पर्यटन बजारमा थप चर्चामा ल्याएको हो । वरपरका हिमालको छायाँका साथै माछा एवं जलचरको दृश्यले यहाँ आउने जो कोही पर्यटक मोहित हुने गरेका छन् ।

तालको नजिकै रहेको ऐतिहासिक कुछप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने भएका कारण यसको धार्मिक महत्व रहेको गुरुङको भनाइ छ । ढुम्बा तालमाथिको उक्त गुम्बामा गुरु पद्मसम्भवले प्रयोग गरेका केही सामान अझै सुरक्षित छन् । उहाँका कपडा, जुत्ता र कपाल यहाँ अझै छन् । बौद्धमार्गी यस गुम्बामा दर्शन गर्न पाउँदा आफूलाई निकै भाग्यमानी ठान्छन् ।

तालमा देखिने निलगिरि हिमालको छायाँले पर्यटकलाई मोहित पार्ने गरेको छ । वरपरका हिमाली दृश्यको छायाँसमेत तालभित्र देख्न सकिन्छ । ताल किनारमा रहेको शिलामा नागको वासस्थान भएको विश्वासका आधारमा समय समयमा यहाँ भक्तजनले नागको पूजाआजा गर्ने गरेका छन् ।

नागको पूजा गरेमा पारिवारिक सुखशान्तिका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । हिमालको काखमा रहेको यो ताल पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको ढुम्बा आधारभूत विद्यालयका शिक्षक राजेन्द्र गुरुङले बताए।

‘मुक्तिनाथ दर्शनका साथै मुस्ताङको दृश्यावलोकन र पदयात्रामा आउने पर्यटक ताल हेर्न आउने गरेका छन्,’ उनले भने । जलवायु परिवर्तनको बढ्दो असरसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै गएकोतर्फ राज्यस्तरबाट चासो राखिनुपर्ने स्थानीयवासी बताउँछन् । समुद्री सतहदेखि करीब तीन हजार ५०० मिटरको उचाइमा अवस्थित ढुम्बा ताल चलचित्रको छायाङ्कन र वृत्तचित्र निर्माणका कारण चर्चामा छ । ताल संरक्षणका लागि वरपर वृक्षरोपण आवश्यक छ ।

dumaba tal
मुस्ताङको घरपजोङ गाउँपालिका–५ मा अवस्थित पर्यटकीय धुम्बा ताल । तस्बिर : रासस

ढुम्बा तालका साथै प्राचीन गुम्बा, नमखु लेक र थकाली संस्कृतिले भरिपूर्ण ठिनी गाउँका कारण तालसहितको क्षेत्र पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको ढुम्बा आधारभूत विद्यालयका शिक्षक वसन्त गुरुङ बताउनुहुन्छ । तालसम्म पुग्न ठिनी खोलामा पुल नहुँदा समस्या भएको छ । वर्षात्बाहेकको समयमा काठको पुलले काम चलाउने गरिए पनि ठाडो खोलाका कारण वर्षात्मा पुल नै बगाएर लैजाने समस्या रहेको उनले  बताए ।  ‘पर्यटकलाई सहज रुपमा पु¥याउन पक्की पुल निर्माण गरिनु पर्छ,’ उनले भने ।

मुक्तिनाथ मन्दिरबाट लुब्रा हुँदै ढुम्बा ताल भएर मार्फासम्म पदयात्रा गर्न वैकल्पिक पदमार्ग रहेका कारण पर्यटकलाई तालसम्म पुग्न सहज भएको छ । वैकल्पिक मार्ग हुँदै ढुम्बा ताल आएका पर्यटक ऐतिहासिक ठिनी गाउँ बास बस्छन् । पर्यटकलाई लक्ष्य गरी स्थानीयवासीको सक्रियतामा ठिनी गाउँमा घरबास कार्यक्रम समेत सञ्चालनमा छ ।

तालबाट ठिनी गाउँ आधा घण्टाको पदयात्रापछि पुगिन्छ । पर्यटकको आगमन बढ्दै गएपछि काजी लामाको अध्यक्षतामा रहेको ढुम्बा ताल संरक्षण समिति आवश्यक पूर्वाधार निर्माणमा क्रियाशील बनेको छ । तालकै संरक्षणका लागि ताल वरपर तारबार लगाइएको छ भने अवलोकन गर्न आउने आन्तरिक पर्यटकलाई रु १० तथा बाह्य पर्यटकका लागि रु २० प्रवेश शुल्क तोकिएको छ ।
समितिले तालको संरक्षण एवं सरसफाइका लागि परिसरमा शौचालय निर्माण गर्ने भएको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७