तेस्रो दुर्घटनालाई टार्न सकेनन् क्याप्टेन किरणले, एक्लो छोरा नेपाली आकाशमै बिलाए


२ जेष्ठ २०७५, बुधबार
pailat

काठमाडौं, २ जेठ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ मा भएको दुर्घटनामा ज्यान गुमाएका मकालु एयरका पाइलट किरण भट्टराई आज भन्दा ठिक ३५ दिनअघि मात्र ठूलो दुर्घटनाबाट जोगिएका थिए ।pailat

पाइलट जीवनका ३ वटा सम्भावित ठूला दुर्घटनाबाट आफूलाई सुरक्षित गराएका पाइलट किरण भट्टराईको आजको तेस्रो दुर्घटनाले अन्नततः किरणको जीवन लिई छाड्यो । उनले आफू र को–पाइलटलाई बचाउन असफल भए । किरण भट्टराई एक अनुभवी पाइलटमा गनिन्थे । नेपालको ग्रामीण भू–भागहरुमा उडान भर्न अनुभवी थिए । उनले हुम्ला, जुम्ला, डोल्पा, सुर्खेत, बाजुरालगायतका स्थानमा विषम मौसममा पनि उडान भरेर त्यहाँका नागरिकलाई सेवा दिएका थिए ।

बुधबार बिहान ६ः१० बजे सुर्खेतबाट हुम्लाको लागि उडेको कार्गो विमान लिएर उनी उडान भर्दै थिए । तर उनी गन्तब्यमा पुग्नै पाएनन् । उडान भरेको केही समयपछि राडारको सम्पर्कभन्दा बाहिर रहेका उक्त विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको एक्लबुजखर्कमा स्थानमा दुर्घटना भयो । दुर्घटनामा विमानका क्याप्टेन किरण भट्टराईसहित कोपाइलट आदित्यनाथ नेपालीले पनि आफ्नो ज्यान गएको छ । को–पाइलट नेपाली मकालु एयरका सञ्चालक फिजोनाथ नेपालीका छोरा हुन् ।

दोस्रो दुर्घटना

आज भन्दा ठीक ३५ दिन अगाडि अर्थात् २०७४ चैत २६ (९ अप्रिल २०१८) गते पनि क्याप्टेन किरण भट्टराई अर्को सम्भावित ठूलो दुर्घटनाबाट जोगिएका थिए । मकालु एअरको नाइन एन एजेजी कलसाइनको विमान हुम्लाको सिमिकोटबाट सुर्खेतमा उडान भरिरहेका थिए । विमान स्टार्ट गरेर सिमिकोटको रनवेमा गुडाउन थालिसकेका थिए । विमान १५ मिटर अगाडि बढिसकेको थियो ।

विमानमा चालक दलका दुई सदस्यसहित १० जना यात्रु गरी १२ जना सवार थिए । तर, जब विमान रनवेमा गुड्न थाल्यो, क्याप्टेन किरण भट्टराईले विमानको हाइड्रोलिकमा समस्या भएको पत्ता लगाए र टेक अफ गर्ने लागेको बेला अकस्मात् विमान रोके र इञ्जिन बन्द गरे । त्यतिबेला पनि यदि उनले समस्या पत्ता लगाउन नसकेको भए त्यतिबेलै ठूलो दुर्घटना हुन सक्दथ्यो । यद्यपि त्यतिबेला उनको चलाखीले आफूसहित अन्य ११ जनाको ज्यान जोगाएका थिए ।

पहिलो दुर्घटना

सन् २०१३ को जुन १ अर्थात् २०७० सालको जेठ १८ मा उनी नेपालगञ्जबाट हुम्लाको सिमिकोटका लागि उडान भर्दै थिए । तत्कालीन समयमा उनी सीता एअरलाइन्समा कार्यरत थिए । सीता एअरको नाइन एन एनएचबी कलसाइनको विमानमा ५ जना यात्रु बोकेर उनी सिमिकोट जाँदै थिए ।

उनको साथमा कोपाइलट दिपक शाह समेत थिए । तर, जब बिहानको ७ः१० मिनेट जाँदा विमान सिमिकोटमा अवतरण गराउन खोजियो, विमानले सन्तुलन कायम राख्न सकेन र बायाँ पंखाले धावनमार्गमा छोयो । बायाँ पंखाले धावनमार्गमा छोए लगत्तै विमान पूरै अनियन्त्रित भयो र त्यसपछि दायाँ पंखाले समेत भुई छोयो र विमानको अन्य भागमा समेत क्षति पुग्यो । त्यो दुर्घटना धावनमार्गमै भएका कारण तत्कालै उद्धार भयो र आगलागी हुन पाएन । जसका कारण चालक दलका दुई सदस्यसहित सबै यात्रुहरु सकुशल बच्न सफल भए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७