नेपाली रुपैंयाँ १६ महिनायताकै कमजोर, भाऊ खस्किँदा यसरी पर्छ तपाईको खल्तीलाई भार


२ जेष्ठ २०७५, बुधबार
dollar up20

काठमाडौं, २ जेठ । नेपाली रुपैंयाँ पछिल्लो १६ महिनायताकै सबैभन्दा कमजोर बन्न पुगेको छ । १६ महिनायताकै उच्च मूल्यमा डलरको भाउ पुग्नुको अर्को कारण विश्वभरका पोर्टफोलिया लगानीकर्ताहरुले आफूसँग भएको ऋणपत्र बेच्नु पनि हो । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर बृद्धि हुँदा आयातकर्ताले बढी डलर निकालिरहनुपरेको छ।

dollar up20
तस्विर : गुगल

यसले पनि डलरको माग बढ्दा भाउ चुलिएको हो। अमेरिकी बैंकहरुले डलर खरिद तीब्र बनाउँदा त्यसको असर नेपालमा देखिएको हो । बुधबार अमेरिकी डलरको भाउ १०९ रुपैयाँ २२ पैसा पुगेको छ । यसअघि २०७३ माघ १६ गते डलरको भाउ १०९ रुपैयाँ २३ पैसा पुगेको थियो ।

डलर चुलिँदा नेपाली रुपैयाँको भाउ खस्किएको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको भाउ सोझै तलमाथि हुँदैन । नेपाली रुपैयाँ १६० बराबर भारतीय रुपैयाँ १०० रुपैयाँको स्थिर विनिमय दर छ । डलरसँग भारु कमजोर हुँदा त्यसको प्रभाव नेपाली रुपैयाँमा पर्दा नेरु कमजोर देखिएको हो ।

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । बस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुनेछ । हस्तकला लगायत नेपाली सामानका निकासीकर्ताको आम्दानी बढ्छ । नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्नेछ ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ ।
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन् । चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ । डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ । डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नु पर्ने हुन्छ । विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७