सुरा, सुन्दरी र सुनमा चुर्लम्म डुबेकाे ‘गोरे’

काठमाडाैं, २ जेठ । खैरो कर्ली केश । गोरो विदेशी स्वरूपको शारीरिक बनावट । आँखामा सानो आकारको सेतो चस्मा । कानमा सुनका टिलिक्क टल्किने रिङ । बाहिरी रूप यस्तै छ— ‘गोल्ड डन’ भनिने चूडामणि उप्रेती ‘गोरे’ को । पार्टी, गर्लफ्रेन्ड र मोजमस्ती उनको रुचि देखिन्छ । फुटबल र फिसिङ उनका सौख हुन् । यद्यपि उनी अहिले सर्वाधिक चर्चामा छन्— सुन तस्करीका मुख्य अभियुक्त ‘गोरे’ अर्थात् ‘गोल्ड डन’ का रूपमा ।

पछिल्ला केही वर्षदेखि प्रहरीका उच्च अधिकारीदेखि हाइप्रोफाइल व्यापारीहरूसँगको साँठगाँठमा सुन तस्करीको साम्राज्य चलाइरहेका गोरे यतिबेला प्रहरीको सर्वाधिक खोजीको सूचीमा छन् । साढे ३३ किलो सुन तस्करीसम्बन्धी छानबिन गर्न सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा गठन गरेको समितिले पक्राउ परेका व्यक्तिहरूबाट बरामद प्रमाण एवं फरार रहेका अभियुक्तहरूबीचको आर्थिक कारोबारका आधारमा गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको तथ्य फेला पारेको छ, जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ ।

सरकारले गोरेसहित विभिन्न ६३ प्रतिवादीविरुद्ध १७ अर्ब १ करोड ८० लाख रकम बिगो दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिसकेको छ । उनीहरूविरुद्ध अपराधिक समूह स्थापना, सुन चोरी निकासीको अवैध करोबार, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान अन्तर्गत मुद्दा दायर गरिएको छ ।

पाँच वर्षको अवधिमा ३७ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्र्याउने योजनाका मुख्य नाइके भनिएका गोरेविरुद्ध नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा ‘डिफ्युजन नोटिस’ जारी गरेर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेको छ । टनका टन संगठित सुन तस्करीका मास्टरमाइन्ड गोरे आखिर को हुन् त रु ‘गोरे’ अवकाशप्राप्त नेपाल प्रहरीका पूर्वअसई नेत्र उप्रेतीका जेठा छोरा हुन् । उनी ‘रुपेश’ नामले समेत परिचित छन् । मोरङको साविक इटहरा ९हाल रतुवामाई नगरपालिका० बाट २०५० सालतिर उर्लाबारी बसाइँ सरेका नेत्रले आफ्ना दुई छोरा गोरे र रमेशलाई स्थानीय सरस्वती माविमा भर्ना गरेका थिए ।

गोरेले बीचैमा पढाइ छोडेर भारतीय सेनामा चार वर्ष जागिर खाए । त्यसपछि ३६ वर्षीय गोरे वैदेशिक रोजगारीका लागि दुबई पुगे । त्यतिबेलासम्म उर्लाबारी– ७ स्थित पशुपति मार्गमा उनको २ तले घर मात्र थियो । सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडांैको गौरीघाटमा बस्न थाले । नजिकबाट चिन्नेहरू भन्छन्— त्यसपछि उनको हैशियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए ।

वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदांगो भएको छ । दुबई गएलगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भयो । गोरे सुन तस्करीको भरियाका रूपमा यो क्षेत्रमा प्रवेश गरेका हुन् । ‘चतुर’ स्वभावका गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए । उनी भाइ रमेश उप्रेतीलाई दुबईमा राखेर आफू नेपाल बसी कारोबार विस्तार गर्न सक्रिय भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनले आफ्नो कारोबारलाई संगठित रूपमा अघि बढाउँदै गएका थिए । उनले प्रहरीसँग ‘मामा’को साइनो लगाई सेटिङ मिलाउने गरेका थिए । निज (गोरे)ले उसको सम्पर्कमा रहेका प्रहरी कर्मचारीहरूलाई मामा भनी सम्बोधन गर्ने र मलाई समेत निजले मामा भनी सम्बोधन गर्ने गरेको थियो–सुन तस्करीकाण्डमा मुछिएका नेपाल प्रहरीका सई बालकृष्ण सन्जेलले आफ्नो बयानमा उल्लेख गरेका छन् ।

गोरेका बारेमा जानकारी राख्ने एक युवाका अनुसार पाँच वर्ष दुबई बसेर उनी त्यहींबाट सुन पठाउने र हुन्डीको कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए । त्यसपछि उनी नेपाल फर्किएर दुबई, सिंगापुर, थाइल्यान्ड आदि मुलुकबाट पठाइएको सुन नेपालका विभिन्न ठाउँदेखि भारतसम्म सप्लाई गर्ने धन्दामा सक्रिय रहेको अर्का एक प्रहरी अधिकारी बताउँछन् । पहिले दुबईमै बसेर सुन पठाउने काम गरेको पाइयो, घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने— पछि उ, आफैं नेपाल फर्किएर कारोबारीका रूपमा सुन तस्करी गर्न थालेको पत्ता लागेको छ ।

ती प्रहरी अधिकारीका अनुसार दुबईमा गोरेले एउटा नेपाली होटल तथा रेस्टुराँसमेत सञ्चालन गर्दै आएको सुइको प्रहरीले पाएको छ । माधव भनिने मदनप्रसाद घिमिरेले आफ्नो बयानमा चूडामणि उप्रेतीले मेरो दुबईमा दुईवटा कम्पनी छ भन्ने गरेको कुरा उल्लेख गरेका छन् । नेपाल र दुबई उनको पानी पँधेरोजस्तै देखियो, अनुसन्धानमा संलग्न एक अधिकारीले भने–उनी एक साता नेपाल बसे भने दुई साताभन्दा बढी दुबई बस्थे । उनले त्यहीँबाट सुनको कारोबार गर्ने र भरिया खोजेर सेटिङमा नेपाल पठाउने काम गर्दै आएको पक्राउ परेका उनका सहयोगीहरूले आ–आफ्नो बयानमा उल्लेख गरेका छन् ।

कुस्त सम्पत्ति कमाएपछि गोरेले आफना बुबा नेत्र तथा आमा बिनादेवीलाई काठमाडौं सिफ्ट गराएका थिए । करिब सात–आठ वर्षदेखि गोरेका आमा–बुबा र गोरे बेला–बेला उर्लाबारी आएर बस्ने गरेका थिए । पहिले बस्दै आएको उर्लाबारीको दुईतले सानो पक्की घर उनीहरूले भाडामा लगाएका छन् । गोरेले काठमाडौंमा चारतले घर बनाएको चर्चा उर्लाबारीमा चलिसकेको थियो । त्यसैले गोरे अवैध काम गर्छन् कि भन्ने शंका कतिपयलाई थियो । गोरेले उर्लाबारीमा हुने धार्मिक कार्यक्रम तथा स्थानीय चुनावमा पनि मनग्गे पैसा खर्च गरेको नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीय बासिन्दाले बताए । गोरेले उर्लाबारीका केही नेतालाई चुनावमा खुलेरै सहयोग गरेका थिए ।

गोरे सुरु–सुरुमा दुबईबाट नेपाल फर्कनेहरूको हातमा थोरै–थोरै सुन पठाउँथे । सुरुमा उनले विदेशबाट घर फर्कने नेपालीहरूलाई केही रकम दिएर एक–दुई तोला सुन पठाए, उनलाई नजिकबाट चिन्ने एक व्यक्ति भन्छन्— पछि उनले २०–३० तोला सुन पठाउन थाले । भारतीय सुन व्यापारीहरूसँग कनेक्सन जोडिएपछि गोरेले एयरपोर्टका कर्मचारीदेखि प्रहरीसम्म सेटिङ मिलाएर सुन तस्करी गर्न थालेको जानकार स्रोत बताउँछ । गोरेले राजनीतिक दलका उच्च स्तरका नेताहरूसँग पनि सुन तस्करीका लागि लाइन मिलाए पनि अहिलेसम्म सुन तस्करीको छानबिन त्यसतर्फ सोझिएको छैन ।

फुटबल खेल्ने र माछा मार्ने सौख

प्राडो र पजेरो चढेर हाइफाइ जीवनशैली बिताउने गोरेको रुचि फुटबल खेल्ने र माछा मार्ने थियो । उनी आफुलाई सामान्य देखाउने प्रयास गर्थे । गोरे पूर्व फुटबलर पनि हुन् । उनले मोरङ–११ लगायत विभिन्न क्लबमा आवद्ध भएर फुटबल खेलेका छन् । पूर्व आएका बेला गोरे विभिन्न खोलामा पुगी माछा मार्थे । उनी पूर्वमा रहँदा स्थानीय रिक्सा चालकलाई लिएर विभिन्न स्थानमा माछा मार्न जान्थे, उर्लाबारीका एक स्थानीय युवकले बताए— रिक्सा चालकलाई दैनिक एक हजार रुपैयाँ दिएर माछा मार्न लगाउँथे । एक किलो माछा मार्दा पनि एक हजार, माछै नमार्दा पनि एक हजार दिन्थे ।

ती युवाको भनाइ थियो— हेर्दा विदेशीजस्तै देखिन्थे । रिसाहा स्वभावका थिए । चित्त बुझेन भने सँगैको साथीलाई समेत पिट्न बेर लाउँदैनथे । गोरेको क्रोधी स्वभावको छनक सुनकाण्डमा हत्या गरिएका सनम शाक्यकी कथित प्रेमिका निशा सेन ठकुरीको बयानमा समेत पाइन्छ । ठकुरीले भनेकी छिन्— मेरा केही तस्बिर सई बालकृष्ण सञ्जेलमार्फत सनमको गर्लफ्रेन्ड भनेर गोरे भनिने चूडामणि उप्रेतीलाई पठाइएको कुरा मलाई सनमले भनेका थिए ।

त्यसपछि गोरेले सनमलाई तेरी गल्डफ्रेन्डलाई सिध्याइदिऊँ भनेको कुरा सनमले मलाई भनेको थियो । त्यसपछि सनमले मलाई अलि होस गरेर हिँड्नु पनि भनेका थिए । गोरे आफूसँग निकै कम पैसा बोकेर हिँड्थे । गोजीमा १ सय रुपैयाँभन्दा बढी कहिल्यै हुँदैनथ्यो, उर्लाबारीका एक स्थानीय युवकले भने— कसैलाई नगद दिनुपर्‍यो भने नजिकका साथीभाइसित सापटी माग्थे र भोलिपल्टै फर्काइहाल्थे ।

गोरेको परिवारै तानियो

बहुचर्चित सुन तस्करी प्रकरण र सनम हत्याकाण्डका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई मानिदैं आएको छ । यो सुन तस्करी प्रकरणमा उर्लाबारी–७ स्थायी घर भएका गोरेसम्म मात्र सीमित छैन, उनको पूरा परिवारसम्मै फैलिएको छ ।

प्रहरीका उच्च अधिकारी तथा राजनीतिक नेताहरूको संरक्षणमा सुन तस्करीको साम्राज्य फैलाएका गोरेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गोरेकी श्रीमती निरु भनिने नर्वदा खरेल उप्रेतीलाई पनि प्रहरीले खोजीको सूचीमा राखेको छ । त्यस्तै, गोरेका भाई रमेश उप्रेती पनि यही सुन काण्डसँग जोडिएका छन् । उनलाई पनि प्रहरीले फरारको सूचीमा राखेर खोजी गरिरहेको छ ।

गोरेकी श्रीमती निरु तथा भाइ रमेश हाल दुबईमा भएको स्रोतले जनाएको छ । प्रहरीले गोरेकी साली दुर्गा खरेललाई समेत खोजीको सूचीमा राखेको छ । दुर्गा रमेशकी पत्नी अर्थात् गोरेकी भाइबुहारी हुन् । गोरेका दुई छोरा छन् । उनका बुबा नेत्रप्रसाद उप्रेती तथा आमा उर्लाबारीकै घरमा बस्दै आएका थिए, तर घटना सार्वजनिक भएसँगै असुरक्षित महसुस गर्दै उनीहरूले उर्लाबारी छोडिसकेका छन् । हाल उनीहरूको अत्तोपत्तो छैन । सुन काण्डकै कारण गोरेको परिवार भाँडिएको छ ।

ठूलाबडाको निदहराम

सुन काण्डका मुख्य नाइके मानिएका गोरेसँग निकट सम्बन्ध बनाएका उर्लाबारी र आसपासका केही व्यक्ति पनि शंकाको घेरामा तानिएका छन् । प्रहरी स्रोतका अनुसार गोरेसँग साँठगाँठ र कारोबार गर्नेहरूलाई नियन्त्रणमा लिने तयारी भैरहेको छ । स्थानीय स्तरमा ठालु र नवधनाढ्यका रूपमा चिनिएका ती व्यक्तिहरूमाथि प्रहरीले निगरानी राखिरहेको स्रोतको दाबी छ ।

गोरेले स्थानीय राजनीतिक अगुवादेखि केही सुन व्यापारी एवं होटल तथा ठेक्कापट्टामा लगानी गर्ने व्यक्तिहरूसँग उठबस गर्दै आएको खुलेकाले अनुसन्धान त्यसतर्फ मोडिएको छ । प्रहरीले फेला पारेको गोरेको हिसाबकिताबको लेजरमा रहेका सबै नामका सम्बन्धमा अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ । भनिन्छ, स्थानीय तहको निर्वाचनमा केही उम्मेदवारको प्रचार सामग्री खर्च गोरेले उपलब्ध गराएका थिए ।

गोरेले उनीहरूलाई दिएको नगद तथा जिन्सीको टिपोटसमेत फेला परेको प्रहरी स्रोत बताउँछ । प्रहरीले निगरानी बढाएपछि गोरेसँग साँठगाँठ गर्ने ‘ठूलाबडा’ हरू हतास छन् । सन्देहको घेरामा रहेका व्यक्तिहरूले गोरेसँग खानपान गरेको स्वीकार गरे पनि उनको कारोबारका सम्बन्धमा भने अनभिज्ञता प्रकट गर्ने गरेका छन् । त्यसैगरी होटल व्यवसायीहरूले गोरे अरूसरह आफ्नो एउटा सामान्य ग्राहक मात्र भएको र उसको कारोबारका सम्बन्धमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको बताउँदै आएका छन् ।

तस्करीको कमाइ : सुरा र सुन्दरीमा

सुन, सुरा र सुन्दरी । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर आएका अनौठा तथ्यहरूले यी तीन कुराबीच गजबको कनेक्सन देखाउँछ । तस्करीकाण्डमा समातिएकाहरूले दिएको बयान हेर्ने हो भने सुनसँग सुरा र सुन्दरी पनि जोडिएका छन् ।

अवैध सुन तस्करी तथा भरिया सनम शाक्यको हत्या आरोपमा फरार मुख्य अभियुक्त गोरेले आफ्नी कथित प्रेमिका रक्षा भण्डारीको नाम मोबाइलमा अर्कै नाममा सेभ गरेको पाइएको छ । गोरेले प्रेमिका रक्षाको मोबाइल नम्बर ‘आर।बी।। मामा’ को नाममा सेभ गरेका थिए । आफ्नी श्रीमतीले रक्षाका सम्बन्धमा थाहा पाउँछिन् भनेर गोरेले त्यसो गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

प्रहरीका अनुसार आरबीका रूपमा चिनिने रक्षाको घर भोजपुर हो । उनी काठमाडौंमा बस्दै आएकी थिइन् । प्रहरीले रक्षा गोरेसँग प्रेम सम्बन्धमा रहेको दाबी गरेको छ । रक्षा केही समयदेखि काठमाडौंको गौरीघाटमा रुद्राक्षका व्यापार गर्ने आफ्ना बाबुसँग बस्दै आएको प्रहरी अनुसन्धानले खुलाएको छ । विदेशमा भएका बेला गोरेको सम्पूर्ण आर्थिक कारोबार रक्षाले नै हेर्ने गरेको पाइएको छ । गोरेले त्यसभन्दा पहिले भित्र्याएको तस्करीको सुन रक्षाकै कोठामा राखिने प्रहरीको आरोप छ । गोरेकी प्रेमिका भनिएकी रक्षालाई पनि प्रहरीले खोजीको सूचीमा राखेको छ ।

गोरेजस्तै सुन तस्करीका भरिया सनम शाक्यकी पनि मोडल प्रेमिका रहेको बयानका क्रममा स्पष्ट भएको छ । सुन लुटिएको केसमा मारिएका सनमकी प्रेमिका भनिएकी निशा सेन ठकुरीले सनमसँग गत वर्ष २८ साउनमा दरबारमार्गस्थित आइक्बलमा पहिले भेट भएको बताएकी छिन् । उनले त्यसपछि फोन नम्बर साटासाट भै आफूहरू निकट भएको कुरा उल्लेख गरेकी छिन् । उक्त दिन ९२८ साउन० सनम शाक्यले मेरो फोन नम्बर मागेर लगेको थियो । त्यसको केही समयपछि निज र मेरो फोन तथा म्यासेजमार्फत कुरा हुन थाल्यो, निशाले आफ्नो बयानमा भनेकी छिन्–हामी नजिक हुँदै गयौं, मैले तपार्इंको घर कहाँ हो भनि सोध्दा मोरङको उर्लाबारी हो हाल काठमाडौंको हाडीगाउँमा डेरा गरी बस्छु भन्थ्यो । म निजले मेरो कोठामा जाउँm भनेकाले हाँडीगाउँ पनि पुगेकी थिएँ । त्यतिमात्र होइन, निशाले आफूहरू होटलमा सँगै बसेको तथा सुनसरी–मोरङ सँगै घुम्न गएको समेत आफ्नो बयानमा उल्लेख गरेकी छिन् ।

सुन तस्करीबाट आएको पैसा यस्तै काममा खर्चिने गरेको कुरा अर्को एक तथ्यले पनि उजागर गर्छ । सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले पनि युवतीहरूसँग गोप्य रूपमा कुरा गर्ने माध्यमका सम्बन्धमा एक सईसँग जानकारी मागेका रहेछन् । दुई वर्षअघि एसएसपी श्याम खत्रीले केटीहरूसँग गोप्य रूपमा कुराकानी गर्न कुन माध्यम ठीक हुन्छ भनी सोध्दा मैले उहाँलाई भाइबर, फेसबुकभन्दा अहिले निस्किएको ‘डिङ टोन एप्लिकेसन’ उपयुक्त हुन्छ भनी बताएको थिएँ, सुन तस्करीकाण्डमा मुछिएका सई गजेन्द्र रावलले आफ्नो बयानमा भनेका छन्–एसएसपी श्याम खत्रीले दुई वर्षअघि कहिलेकाहीँ मोबाइल फोनहरूको लोकेसन माग्नु हुन्थ्यो तर मैले उहाँलाई मोबाइलको लोकेसन उपलब्ध छैन भनेर टारे । विभिन्न सेकुवा कर्नर तथा काठमाडौंका रेस्टुराँ एवं लाउन्जहरूमा हुने जमघटले पनि उनीहरू मदिरा र मस्तीका सौखिन रहेको देखाउँछ । रावलले आफ्नो बयानमा एएसपी श्याम केसी रक्सी पिएर एउटा प्रसिद्ध रेस्टुराँमा बसेको कुरा समेत उल्लेख गरेका छन् ।

यस्तै, उर्लाबारी र दमकका केही होटलमा गोरेसँग दिनहुँ ‘जाँड पार्टी’ मा रम्नेहरूलाई पनि प्रहरीले ‘मार्क’ गरेको छ । उर्लाबारीका विभिन्न होटल गोरेको अखडा भएको खुल्न आएको छ । ती होटलमा बसेर गोरेले निकटका मानिसहरूसँग सुन तस्करीको योजना बनाउने गरेको बताइन्छ । ससुराली झापाको कमल तथा स्थायी ठेगाना मोरङको उर्लाबारी–७ भए पनि गोरेको बसाइ होटलहरूतिरै हुने गरेको थियो । उर्लाबारीको एउटा होटलमा उनले बाक्लै ‘जाँड पार्टी’ गर्ने गरेका थिए । उर्लाबारी र दमकका केही सुन व्यापारीसँग ती होटलमै बसेर गोरेले सुनको कारोबार गर्ने स्रोतको दाबी छ ।

(कान्तिपुर साप्ताहिकमा अनिल श्रेष्ठ र सरोज बस्नेतले लेखेका छन् । )

प्रतिक्रिया दिनुहोस्