मकालु विमान दुर्घटनाकाे नयाँ तथ्य खुल्यो, यसकारण भएछ दुर्घटना


२ जेष्ठ २०७५, बुधबार
DdTAVPgWkAANgn1

काठमाडौं, २ जेठ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुई पालटको ज्यान जाने गरी भएको मकालु एयरको विमान दुर्घटनाको नयाँ तथ्य खुलासा भएको छ ।

DdTAVPgWkAANgn1
तस्विर : फाइल

सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो विमान आउँदै गरेको जानकारी सिमकोट विमानस्थललाई जानकारी नगराइएको तथ्य खुलेको छ । सुर्खेतबाट बुधबार बिहान ६ बजेर १२ मिनेटमा कार्गो समान लिएर सिमकोटका लागि उडेको ‘नाइन एन एजेयु’ कलसाइनको सो विमान हुम्लाको खार्पुनाथ गाउँपालिकका–२, बामखर्कमा दुर्घटना भएको हो ।

‘एचएफ मेशिन’ ले काम नगरेको र ‘ल्याण्डलाइन’ फोनले समेत काम नगरेकाले जहाज उडेको जानकारी नै नभएको सिमकोट विमानस्थल प्रमुख गौरीशंकर साहले बताएका छन् । बुधबार बिहान ८ बजेभन्दा अगाडि एचएफ मेशिनले प्रभावकारी काम नगर्ने भएकाले सञ्चारमा कमजोरी देखिएको साहले जनाएका छन् । सो विमान हराएको थाहा पाएको दुई घण्टामा नै दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको उनले बताएका छन् । बुधबार बिहान करीब साढे १० बजे मात्र दुर्घटनाग्रस्त विमान पत्ता लागेको उनले जानकारी दिएका छन् ।

उनी भन्छन्, ‘तीन वटा विमान नेपालगञ्जबाट र एउटा सुर्खेतबाट आएका थिए । तर, कसैले त्यो विमान आइरहेको जानकारी दिएनन् । पछि सुर्खेत विमानस्थलमा सम्पर्क गरेपछि मात्रै मैले विमान हराएको थाहा पाएँ ।’ हुस्सु लागेको अवस्थामा सिमकोट जाँदै गरेको विमान फिर्ता भएर तीन–चार पटक आकाशमा घुमेपछि एकलाभुजको चौरमा अवतरण गर्न खोज्दा दुर्घटना भएको बाजुराबाट भेडा ल्याएर हुम्ला आउँदै गरेका स्थानीय लामा रावलको भनाइ छ ।

सिमकोट नजिक आएपछि विमानले विमानस्थलमा सम्पर्क गर्नुपर्ने भए पनि सम्पर्क नगरेको विमानस्थल प्रमुख साहले बताएका छन् । दुर्घटनाग्रस्त विमानले सम्पर्क नगरेको र सुर्खेत विमानस्थलमा सम्पर्क हुन नसकेका कारण विमान उडेको सिमकोट विमानस्थललाई खबर नभएकाले विमानबारे थाहा नभएको बताइएको छ ।

सिमकोट विमानस्थलबाट १०.७ नटिकल माइलको दूरीमा सो विमान दुर्घटनाग्रस्त भएको जनाइएको छ । १२ हजार ८ सय फिटमा उडेको विमान प्रतिकूल मौसमका कारण डाँडामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । विमानका क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्यनाथ नेपालीको घटनास्थलमा नै मुत्यु भएको थियो । उनीहरुका शव क्षत–विक्षत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७