वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने


२ जेष्ठ २०७५, बुधबार
Ycl

काठमाडौँ, २ जेठ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल)ले एक महिने खबरदारी अभियान सञ्चालन बिहिबारबाट सुरु  गर्ने भएको छ । देशव्यापी रूपमा सञ्चालन हुने अभियान काठमाडौँ महानगरपालिका र काठमाडौँकै तार्केश्वर नगरपालिकाबाट सुरु हुने भएकाे हाे ।Ycl

स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरू अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । उनका अनुसार भोलि जेठ ३ देखि एक महिनासम्म अभियान सञ्चालन हुनेछ । ‘गत वैशाख ३१ गते ऐतिहासिक स्थानीय निर्वाचन भयो तर एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिको बाचाहरू अपुरै छ’ उनले भने एक वर्षसम्म जनताले परिवर्तनका महसुस गर्न नपाएकाले खबरदारी अभियान सञ्चालन गरेका हौँ ।’

‘चुनावी प्रतिबद्धता अभियानमा सहभागी बनौँ, अमूल्य मतदान गरेर जिताएकालाई निगरानी गरौँ’ भन्ने मूल नाराका साथ वाइसीएल जनताको बिचमा जान लागेको महासचिव सुबोधराज शेर्पालीले बताए । ‘हामी सधैँ जनताकै साथमा थियौँ र छौँ पनि’ शेर्पालीले भने ‘जनताको हरेक दुःख, सुखमा वाइसीएल साथ दिन्छ ।’

‘जनप्रतिनिधिले के प्रतिबद्धता गरेका छन्, अहिलेसम्म के–के पूरा भयो, के–के बाँकी छन् हामी झकझकाउँछौं’ वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले भने । उनकानुसार यो अभियान देशभर नै सञ्चालन गरिनेछ । हरेक स्थानीय तहमा जिल्ला वाइसीएलले ज्ञापनपत्र दिने, अनियमितता पर्दाफास गर्ने र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनेजस्ता कार्यक्रम हुने बताए ।

खबरदारी अभियानसँगै वासीएलले ‘तीन दिन, तीन रात, तीन छाक–वाइसीएलको अभियान जनताको साथ’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७