सासूससुरालाई बाटैमा संकट


२ जेष्ठ २०७५, बुधबार
ramchandra devkota

काठमाडौं, २ जेठ । ज्वाइँ सरकारी जागिरे, सेतो प्लेटको प्राडो चढेर घुम्न निस्कनेचाहिँ श्रीमती, सासूदेखि ससुरासम्म । लामो दूरीको यात्रामा सरकारी गाडी चढेर मस्ती गर्न निस्केका यी आफन्त बीच बाटैमा पुगेपछि अलपत्र परे । ज्वाइँले ससुराली खलकको यात्रा सहज पार्ने उद्देश्यले उपलब्ध गराएको रातो कलरको गाडी बीच बाटैमा बिग्रिएपछि बेहाल भएको छ ।

ramchandra devkota
रामचन्द्र देवकोटा

सासू–ससुराले मुक्तिनाथ दर्शन गर्ने इच्छा राखेपछि कुनै परियोजनाका हाकिम ज्वाइँसाहेबले बा.१ झ ७७८३ नम्बरको प्राडो उपलब्ध गराएका हुन् । काठमाडौं हुँदै पोखराबाट मुक्तिनाथतिर हुइँकिएको प्राडो कास्की नपुग्दै बिग्रियो । आइलाग्यो आपत ! ड्राइभरले यता ठोक्छन् पनि हुँदैन, उता हिर्काउँदा पनि चल्दैन । इञ्जिन नै सिज भएको उक्त प्राडो लिन ज्वाइँसाहेबले काठमाडौंबाट फेरि ट्रक पठाए । र, अस्ति मात्र काठमाडौं ल्याई कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटनजिकै कान्तिपुर ग्यारेजमा थन्क्याइएको छ ।

यसरी राज्यको सम्पत्तिमा रजाइँ गर्ने हाकिम हुन् रामचन्द्र देवकोटा । जसले ५८ वर्षीय उमेर हदका कारण असार ६ गते अवकाश पाउँदै छन् । उनी दसैंभित्र काकाकुल काठमाडौंको प्यास मेटाउने मेलम्ची परियोजनाका हाकिम हुन् ।

हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनले यस्तै हाकिमको मिलेमतोमा ७० करोड रुपैयाँ हिनामिना भएको ठह¥याएको छ । मेलम्ची खानेपानी आयोजनामा नियमविपरीत आयोजनालाई थप व्ययभार पर्ने गरी बढी भुक्तानी दिएर अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।

मेलम्ची खानेपानी विकास समितिले एक अर्ब ७४ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने ठाउँमा एक अर्ब ७० करोड ७४ लाख रुपैयाँ सकाइएको हो । खानेपानी मन्त्रालयको जिम्मेवारी बिना मगरले सम्हालेकी छन् । र, उद्घोष गरिरहेकी छन् कि दसैंसम्म (२६ मार्च २०१८) मेलम्ची आयोजनाबाट १७ करोड लिटर पानी काठमाडौं ल्याएर काकाकुल काठमाडौंको प्यास शान्त पारिनेछ, जनआस्थामा समाचार छ । तर, मन्त्रालय सम्हाल्ने मन्त्री, सचिवदेखि मेलम्ची खानेपानी परियोजनाका हाकिमहरूको लाचारीकै कारण यो दसैंभित्र पनि काठमाडौंवासीले त्यहाँको पानी पिउन पाउने छैनन् । बदनाम भए पनि खानेपानी बुझेका सचिव गजेन्द्र ठाकुर त्यहाँबाट हटाएर नापीविज्ञ कृष्णराज बीसीलाई ल्याइएको छ । त्यसमाथि ठेकेदारको एक करोड २० लाखको क्लेम (दाबी भुक्तानी)ले अप्ठ्यारो पारिरहेको छ । अहिले त्यहाँ कर्मचारी र ठेकेदारको मिलेमतोमा नाजायज क्लेम आउने क्रम बढ्दो छ । अर्काेतिर भनिएको छ, राष्ट्रिय गौरवको परियोजना । जहाँका प्रमुख रामचन्द्र देवकोटा असारमा रिटायर्ड हुँदै छन् ।

एक महिनापछि रिटायर्ड हुने कर्मचारीमा कुन उत्साह होला र काम मरिमेटेर गर्लान् ? त्यहाँ दुई वटा प्रथम श्रेणी डिइडीको दरबन्दी छ । रमाकान्त दवाडीलाई पोखरा क्षत्रीय निर्देशकमा लगिएपछि त्यो पद मंसिरदेखि रिक्त छ । अर्का डिइडी भोजविक्रम थापा बुधबार अमेरिकातिर हान्निएका छन्, एक महिनाको बिदा स्वीकृत गराएर । स्वीकृत गर्ने मान्छेले यस्तो समयमा बिदा छाड्न हुन्थ्यो ? यति महत्वपूर्ण गौरवको आयोजना समयमा पूरा गर्न अन्यन्त्रबाट डिइडीसमेत तानेर ल्याउन सकिएको छैन । यही विषयमा ध्यानाकर्षण गराउँदै माओवादीनिकट इञ्जिनियरले मन्त्री बिना मगरलाई भेटेर मेलम्ची डुब्न लागेको र पानी दसैंसम्म पनि नआउने जानकारी गराएका थिए । मेलम्चीको पानी दसैंभित्र काठमाडांै आउन नसक्ने अर्काे कारण हो २७ किमिको सुरुङमार्ग खन्न बाँकी हुनु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७