सुनप्रकरणमा पूर्वएआइजी कायस्थलाई किन जोगाउन खोजिंदैछ ?


३ जेष्ठ २०७५, बिहीबार
bijaylal kayastha

काठमाडौं, ३ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा ठोस प्रमाण नै फेला नपरेपछि प्रहरीको अनुसन्धान र  छानबिन समिति पूर्वाग्रही बनेको आरोप लागेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले तस्करीमा मुछिएका पूर्व एआईजी विजयलाल कायस्थलाई उन्मुक्ति दिलाउन भूमिका खेलेको स्रोतले बतायो ।

bijaylal kayastha
विजयलाल कायस्थ ।

सुन तस्करी र शाक्य हत्याका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग एयरपोर्टमा छँदादेखि नै एसएसपी श्याम खत्रीले साँठगाँठ गरेका थिए । खत्री र गोरे अहिले फरार छन् । खत्री एयरपोर्टमा रहँदा उनका हाकिम थिए तत्कालीन डीआईजी विजयलाल कायस्थ । कायस्थ १६ महिनासम्म सुन तस्करहरुकै सेटिङमा एयरपोर्टमै बसेका थिए । कायस्थका हरेक आदेश खत्रीले पालना गर्दै आएका थिए । तर, अहिलेसम्म पनि समितिले कायस्थलाई बयानका लागि बोलाइएको छैन । लहरो तान्दा पहरो गर्जने भनेझैं कायस्थलाई आदेश दिने तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्याल पनि सुन तस्करी काण्डमा तानिने भएपछि कायस्थमाथि अनुसन्धान हुन सकेको छैन ।

खत्री र गोरेलाई पक्राउ गर्न समिति असफल हुनु, सम्पूर्ण आदेश दिने र एयरपोर्टमा सुरक्षाको नेतृत्व गरेका कायस्थमाथि अनुसन्धान शुरु नगर्नु नै समितिको पूर्वाग्रही कार्य भएको प्रहरीका एक उच्च अधिकारी दावी गर्छन् । कायस्थले एयरपोर्टमा रहँदा गोरेको सूचनाको आधारमा युवतीहरुलाई नै सुराकी राखेर झण्डै ४० किलो सुन बरामद गरेका थिए । गोरेको सूचनाको आधारमा सुन बरामद गर्दा भुजुङ गुरुङसँग मिलेर गोरेले नै टनका टन सुन तस्करी गरेका थिए । त्यसमा कायस्थको पनि मिलेमतो रहेको समिति स्रोत बताउँछ ।

एसएसपी लामा र कायस्थबीच राम्रो सम्बन्ध रहेको र पर्दा पछाडिबाट पूर्व आईजीपी अर्यालले लामा, समितिका डीएसपी सुदिप पाठक र इन्सपेक्टर भीष्म हुमागाईंलाई दवाव दिएका कारण सुन तस्करीको अन्तिम छानविन नै अलपत्र परेको छ । समितिमा रहेका गृह मन्त्रालयका सहसचिव इश्वर पौडेल पनि यो प्रकरणमा चुकेका छन् । उनीहरुको काम गोरे र खत्रीलाई पक्राउ गर्नु भन्दा पनि पक्राउ परेकालाई बढाई चढाई गरेर मिडियामा एकोहोरो चरित्रहत्या मात्र गराउनु रहेको छ ।

त्यसो त अनुसन्धान नै पूर्वाग्रही भएको भन्दै वरिष्ठ अधिवक्ता सुशील पन्त, पूर्व महान्यायधिवक्ता रमन श्रेष्ठ र वरिष्ठ अधिवक्त यदु खनालले प्रतिवादी प्रहरीहरुलाई थुनामा राख्न वा धरौटीमा छाड्न समेत भरपर्दो प्रमाण नभएको हुँदा साधारण तारेखमा छाड्नुपर्ने इजलास समक्ष माग गरेका थिए, युनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ । सुन तस्करीमा विगतदेखि नै मुछिदै आएका फरार एसएसपी श्याम खत्री र पक्राउ परी मुद्दा चलाइएका अन्य प्रहरीहरुलाई एउटै दाँजोमा राखेर समितिले गलत सूचना प्रवाह गरिरहेको छ । जुन सरासर गलत रहेको ती प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७