लघु कथा : महलको यात्रा
-दिलिप वान्तवा
एक्कासी ऊ बडेमानको गेट्वाला महल अगाडि आईपुग्यो । बिस्तारै गेटभित्र छिरेर मुख्य ढोका पार गर्दै विशाल बैठक हलको ढोका अघिल्तिर पुग्दा अचानक उसले कदम रोक्यो। किनकी त्यसभित्र जे हुँदै थियो ती सब बिचित्र थिए उसका लागि । हलिउड फिल्मको राजघरानाभित्रको दृष्य सेट जस्तै लाग्ने दृष्य देखिइरहेको थियो उसले । मखमलको भुईं, चारैतिर सुनौला बत्तिहरु र आकर्षक तोरण, झलरहरुको साथमा मधुर संगीत बजिरहेको थियो ।
त्यहाँ यत्रतत्र छरिएर बसेका मानिसहरु सबै आ–आफ्नै धुनमा मस्त देखिन्थे । एक जना चित्रकार आफ्नै लयमा छड्के क्याप बनाएर केही दृष्यहरुमा रङ्ग भर्दै थिए । अलि पर अधबैंशे देखिने लेखक जस्तै मान्छे मोटो सिसावाला चश्मा लगाई टेबलमा घोप्टिएर केही लेखिरहेका देखिन्थे । एक हुल गायक–संगीतकारहरु एक कुनामा झुरुप्प भएर गिटारको धुनमा आफ्नो स्वरको लय मिलाउँदै थिए । केही जोडी युवा युवतीहरु आलिङ्गनमा बाँधिएर मस्त रमाईरहेका थिए । केही कविहरु पालैपालो आफ्नो रचनाहरु बाचन गर्दै थिए । तर, यी सबलाई कसैको मतलब थिएन । सिर्फ आफ्नो समूह बाहेक ।
निकैबेर रमिता हे¥यो उसले । भित्र जाऊ कि नजाऊको दोधारमा ऊ ढोकाको खापामै छेलिएर उभिरह्या े। त्यहिं बीचमा दुबैतिर तरवारको टुप्पी जस्तै सुलुत्त परेको जुँगावाला मान्छे उस्तै सुनौलो सजावटसहितको पहिरनमा उत्तरतिरको ढोकाबाट निस्किएर पुर्वतर्फको सिंहासन जस्तै देखिने मेचमा गएर बसे । उनीसँगै उस्तै पहिरनमा सजिएकी एक अधबैंशे महिला पनि छेउको मेचमा बसिन् । उनीहरुको आगमनपछि यन्त्रवत रुपमा अघिका मानिसहरुले आफ्नो धन्दा थन्काएर ती दुईलाई अभिबादन गरे । बस्ने इशारा पाएपछि सबै जना मखमली भुईंमा लहर मिलाएर बसे ।
एकछिनपछि जुँगावाल मान्छे बोल्न थाल्यो । त्यो मान्छे बोल्दा उसलाई लाग्यो पुरै जमिन हल्लिँदैछ, कम्प भइरहेको छ । तर, उता हेर्दा सबै मानिसहरु चकमन्न थिए । कुनै परिबर्तन थिएन मुहारको भावमा । सम्हालिएर उसले सुन्न थाल्यो ।
बोली आयो, ‘आज हामी यहाँ एउटा विशेष मुद्दा लिएर उपस्थित भएका छौं । सबै जनाले ध्यानपूर्वक छलफलमा सहभागी हुनुहोला र आफ्नो राय ब्यक्त गर्नुहोला ।’ सबैले टाउको हल्लएर स्वीकृति जनाए ।
फेरि भन्न थाल्यो, ‘हामी यहाँ जुन बाटो पार गरेर आएका छौं, त्यसलाई मानिसहरुले गलत र कायर भनिरहेका छन् । हामीले जुन साहसका साथ त्यो बाटो पार गर्यौं के त्यो लरतरो र कमजोर आँटले गर्न सकिन्छ ?’ सबैले उसको कुरामा समर्थन जनाए । ‘मानिसहरु अन्ततः यहि ठाउँमा आईपुग्छन् तर, सँधै डराई डराई बस्छन्, भीरको टुप्पोमा पुगुञ्जेल पनि डराईरहेका हुन्छन् । कसैले हुत्याएर खसाल्नु पर्छ, तर, हामी त आफै त्यो भीर खोजेर हाम फाल्ने शाहस भएका मान्छेहरु हौं, हामी कसरी कायर भयौं…?’
यस्तै कुराहरु आईरहेका थिए उताबाट । भुईंका मानिसहरु पनि आपसमा कुराकानी गर्न लागे । त्यसैले त्यो जुँगेको आवाज धिमा हुन लाग्यो । उसले बिस्तारै देख्न थाल्यो, अघिको त्यो सुनौलो पहिरनधारी मान्छेको पहिरन र आकृति कसोकसो फेरिंदै थियो । अर्को छेउमा बस्ने महिलाको पनि त्यसरी नै फेरिंदो देखियो । उनीहरुको झर्झर बल्नेगरी देखिएको रुप–रङ्ग, पहिरन र आकृति किन यस्तो भयो, उसलाई अनौठो लाग्दै थियो । उसले प्रष्ट देख्न थाल्यो उसको अघिल्तिर सेतो पहिरनमा घाँटीमा स्टेथेस्कोप झुण्ड्याएको पुरुष र हातमा क्लिपबोर्ड बोकेकी महिला र वरपर केही थान निन्याउँरो मुहारका मानिसहरु आफ्नै धुनमा आपसमा कुराकानी गर्दै थिए ।
उता भित्तामा झुण्ड्याइएको एलसिडी टिभीमा समाचार आउँदै थियो, ‘प्राप्त समाचार अनुसार साहुको ऋण लिएर यूरोप जानका लागि पैसा बुझाई सकेका युवाहरुलाई कन्सल्टेन्सीले ठगेर बेपत्ता भएपछि हिजो साँझ एक युवाले सोही कन्सल्टेन्सीको छतबाट हामफालेर आत्महत्याको प्रयास गर्दा गम्भीर घाइते भएपछि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । सो कन्सल्टेन्सी सञ्चालकहरुको व्यापक खोजी कार्य भइरहेको महानगरीय प्रहरी बृत्तले बताएको छ ।’ सो समाचार र समाचारमा देखाइएको भिडियो उद्दार गरेर अस्पताल पुर्याइएको उसको आफ्नै थियो ।
समाप्त