दुग्ध विकास संस्थानका महाप्रबन्धकमाथि कर्मचारीद्वारा हातपात


४ जेष्ठ २०७५, शुक्रबार
ddc 1

काठमाडौं, ४ जेठ । दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. इश्वरी अधिकारीमाथि कुटपिट भएको छ । संस्थानका तीन तहका कर्मचारी सुभाष राईले सोमबारको बोर्ड बैठकमा महाप्रबन्धक अधिकारीमाथि हातपात गरेका थिए । बोर्ड बैठकमा संस्थान संचालक समिति अध्यक्ष रघु गौतममाथि पनि उनले हातपातको प्रयास गरेका थिए ।

ddc 1

संस्थान संचालक समितिले राईले संस्थानलाई बुझाउनुपर्ने रकम बुझाउनका लागि अनुरोध गर्दा उनी आक्रोसित हुँदै महाप्रबन्धकमाथि हातपातमा उत्रिएका थिए । उनले मादक पदार्थ सेवन गरी संस्थानमा आएर महाप्रबन्धक सहित अध्यक्षमाथि हातपात गरेका थिए ।  संस्थान संचालक समितिको बैठकमै महाप्रबन्धक अधिकारीमाथि हातपात गरेपछि उनलाई महानगरीय प्रहरी बृत्त लैनचौरले पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाउन लागेको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।
दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री र पेश्की शीर्षकमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेकोमा उक्त रकम फिर्ता गर्न संचालक समितिले २०७४ माघमा निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार सबैले रकम फिर्ता गरिसके पनि राईले गरेका थिएनन् । घोटाला भएको रकम उठाउन सञ्चालक समिति नै सक्रिय लागेको छ । संस्थानलाई नोक्सानी पु¥याउने कर्मचारीले आफ्नो जिम्मामा रहेको रकम तिरिसके पनि राईले भने अटेरी गर्दैआएका थिए ।

संस्थानलाई तिर्नुपर्ने रकम नदिन खोज्ने कर्मचारीले सञ्चालक समितिको कारबाहीसहितको निर्णय पाएपछि धमाधम आफ्नो भागमा रहेको रकम बुझाइसकेका छन् । तर राईले भने माओवादी केन्द्र निकट कर्मचारीको आडमा तिर्न अटेर गर्दैआएका थिए । उनलाई सञ्चालक समितिले दायित्य अनुसारको रकम तिर्न पटक पटक दिएको निर्देशन उनले अवज्ञा गर्दैआएका थिए । रकम तिर्न नमानेपछि उनलाई संचालक समितिले कारबाही गर्ने चेतावनी दिएपछि राईले बोर्ड बैठकमै पुगेर महाप्रबन्धक अधिकारी र अध्यक्ष गौतममाथि हातपात गरेका थिए ।
धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्वबापतको रकम दाखिला गरेका थिएनन् । सबैभन्दा बढी घोटाला गर्नेमा राई सहितका कर्मचारी रहेका छन् । सुभाष राई, बालकृष्ण भण्डारी, बुढाथोकी कोल्ड स्टोर (शम्भु), तेजनाथ ढकाल, नेजनाथ ढकाल, बुसबहादुर भुजेल, प्रेमप्रसाद पराजुली, विनोद शर्मा र गोविन्दबहादुर गुरुङले कुल ८६ लाख ६६ हजार ५ सय ९८ रुपैयाँ घोटाला गरेका थिए ।
राईले हातपात गरेको बिषयमा महाप्रबन्धक अधिकारीसँग प्रतिक्रिया लिन खोज्दा उनले भने–‘विस्तृत कुरा छ, फोनमा भन्न मिल्दैन, यहीँ आउनुस् ।’
महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख दीपक पोखरेलले मादक पदार्थ सेवन गरी महाप्रबन्धकमाथि हातपात गरेको उजुरीपछि राईलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने–‘मादक पदार्थ सेवन गरेको मेडिकल चेकबाट पनि देखिएको छ । उनीमाथि सार्वजनिक अपराधमा मुद्दा चलाउने गरी म्याद थप गरिसकिएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७