कांग्रेस नेता पौडेललाई पीरै–पीर, आफ्नैको छैन ‘आड’


७ जेष्ठ २०७५, सोमबार
Ramchandra Paudel

काठमाडौं, ७ जेठ । कांग्रेसलाई एक ढिक्का बनाउने भन्दै अभियान चलाईरहेका नेता रामचन्द्र पौडेल नै पार्टीभित्र ‘एक्लिँन’ थालेको स्वयम् पार्टीका नेताहरु दावी गर्छन् ।

Ramchandra Paudel
कांग्रेस नेता रामचन्द्र पौडेल । तस्विर : फाइल

पार्टीलाई एक ढिक्का बनाउँछु भन्दै कस्सिएका नेता पाडेललाई पार्टीभित्र मात्र नभई आफ्नै भनिएकाहरुको समेत ‘भर’ नभएको कांग्रेस राजनीतिका जानकारहरु बताउँछन् । चुनावी पराजयको समीक्षा गर्न चैत ९ देखि वैशाख दोस्रो सातासम्म बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक भए पनि पौडेल रणनीतिक रूपमा असफल देखिन थालेका विश्लेषकहरुले औंल्याएका छन् । सभापति देउवा समूह र असन्तुष्ट समूहका नेता–कार्यकर्ता समेटेर अघि बढ्न नसक्दा सिङ्गो कांग्रेसलाई एक ढिक्का बनाउँछु भन्ने पौडेलको नेतृत्व कौशल नदेखिएको पार्टीका नेताहरु नै व्यङ्ग्य गर्छन् ।

चुनावी पराजयपछि सभापति देउवाको आलोचना गर्न र विरोधमा उत्रन देउवाइतर पक्षले पौडेललाई हौस्याए पनि निर्णायक समयमा उनलाई समर्थन र उनको पक्षमा उभिने गरेका छैनन् । यसको प्रत्यक्ष उदाहरण फागुनमा भएको संसदीय दलको नेता निर्वाचन हो । पौडेल पक्षले महामन्त्री सशांक कोइरालालाई समर्थकमा राखी दलको नेतामा प्रकाशमान सिंहलाई आफ्नो उम्मेद्वार बनाउने तय ग¥यो । तर, पौडेलले आफ्ना पक्षको मानेका महामन्त्री कोइरालाले उनको प्रस्ताव अर्थात् सिंहको समर्थक बस्न अस्वीकार गरे । संसदीय दलको नेता चुनावमा सिंहले आकलन गरिएभन्दा ५ मत थोरै पाए ।

कांग्रेसबारे जानकार राजनीतिक विश्लेषक प्राडा. राजेश गौतम भन्छन्, ‘१३ औं महाधिवेशनपछि कोइरालाहरू नै वरिष्ठ नेता पौडेललाई आफ्नो नेता मान्दैनन् ।’ त्यसैकारण महामन्त्री कोइराला पार्टीमा पौडेलको लाइनमा नबसेको उनको विश्लेषण छ । उनी विश्लेषण थप्छन्, ‘कोइरालाहरू आगामी महाधिवेशनबाट पार्टी नेतृत्व कसरी कोइराला परिवारमा ल्याउने रणनीतिमा लागेका देखिन्छन् ।’

चुनावको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाको कडा आलोचना भयो । बैठकको अन्त्यतिर पौडेलले हारको जिम्मेवारी पार्टी सभापतिले लिनुपर्ने अडान राखे । सभापति देउवाले पौडेल पक्षका महामन्त्री कोइरालाको नेतृत्वमा समिति गठन गरी बैठकको निर्णय लेख्ने जिम्मा दिए । कोइराला नेतृत्वको समितिले पौडेलको चाहनाविपरीत केन्द्रीय समितिले सामूहिक रूपमा चुनावी हारको जिम्मा लिएको निर्णय गर्‍यो । पछिल्लो डेढ वर्षयता कांग्रेसभित्र कोइरालाहरू पटक–पटक लन्च मिटिङ गरेर सन्देश दिइरहेको देखिन्छन् । उनीहरूको यो एकताले पौडेलले कांग्रेसलाई अघि बढाउने मनसाय नदेखिने जानकार बताउँछन् । वरिष्ठ नेता पौडेल भने महामन्त्री कोइरालाले पछिल्लो समय केही विषयमा अडान लिन नसके पनि त्यसले फरक नपर्ने दाबी गर्छन् ।

पौडेल पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला, अर्जुननरसिंह केसी र डा.रामशरण महतसँग लगातार छलफल र सल्लाहमा अघि बढेको उनी निकट नेता बताउँछन् । विगतमा पौडेलसँगै रहेका नेता सिटौलाले पौडेललाई नेता नमान्ने भन्दै पार्टीमा आफ्नो बेग्लै गुट बनाए । सिटौला र केसी दुवै जना १३औं महाधिवेशनमा पौडेलको विपक्षमा उभिएका थिए । नेता केसी सभापति देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । तीनै तहको चुनावमा पराजयपछि सभापति देउवाविरुद्ध सिटौला, केसीलगायत नेताले पौडेललाई सघाएजस्तो देखिए पनि कोही पनि खुलेर उनको पक्षमा उभिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७