३३ किलो सुन तस्करी प्रकरण : सांसद नै तस्करलाई ‘निर्दोष’ सावित गर्न बहसमा


७ जेष्ठ २०७५, सोमबार
morang HKtEikRdt0

काठमाडौं, ७ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणको मुद्दाका पक्राउ परेकाहरुलाई छुटाउन कानूनी वहसमा उत्रिएपछि अहिले एक सांसद विवादमा तानिएका छन् । सुन तस्करी र सनम हत्या प्रकरणमा मुछिएकाहरुको पक्षमा कानूनी वहसमा उत्रिएपछि १ नम्बर प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले विवादमा मात्र तानिएका छैनन् आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गर्नेमा दरिएका छन् । morang HKtEikRdt0

सुन तस्करी र सनम हत्या काण्डमा मुछिएकाहरुको पक्षमा वहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर–१ को प्रदेश सभा नियमावली २०७४ को भावना बिपरीत उभिएको जानकार बताउँछन् । जिल्ला अदालत मोरङको इजलासमा जारी थुनछेक वहसमा आइतवार प्रतिवादी नेपाल प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बहस गरेका छन् । सरकारवादी मुद्दामा ब्यवस्थापिका संसदका सदस्य नै प्रतिवादीको पक्षमा बहसमा उत्रिनु नैतिक प्रश्न बनेको कानूनका जानकारहरु बताउँछन् । बहसका क्रममा उनले राम्रो काम गर्ने प्रहरीलाई फसाउन खोजिएको भन्दै वहस गरेका छन् ।

माथिल्लो निकायबाट आएको निर्देशन बमोजिम प्रहरी अधिकारी पक्राउ गर्न आउँदा सञ्जेललाई फसाइएको अधिकारीको जिकिर छ । प्रदेश नम्बर–१ को प्रदेश सभा बैठकमा केही दिनअघिको शून्य समयमा बोल्दै तिनै सांसदहरुले सुन तस्करी र हत्यामा संलग्नलाई पक्राउ गरी कडा कार्वाहीको माग राखेका थिए । तर त्यही संसदका एक जना सदस्य भने त्यही घटनासँग जोडिएका व्यक्तिको पक्षमा बहस गर्न झोला बोक्दै पुगेका छन् । कानून व्यवसायी अधिकारी प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट मोरङ क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’ बाट निर्वाचित हुन् । सांसद अधिकारीले आफू कुनै न्यायिक समितिमा नभएकाले बहस गर्न अप्ठ्यारो नपर्ने बताएका छन् । आइतबारसम्म ५४ जना प्रतिवादीतर्फका वकिलहरुले प्रतिरक्षा गर्दै बहस गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७