डीआइजी र एसएसपी सरुवामा आइजीपी यसरी चुके


९ जेष्ठ २०७५, बुधबार
Nepal Police

काठमाडौं, ९ जेठ । सुन तस्करी र यातायातको सिन्डिकेट खारेज गरी जनताको मन जितेका गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनालको छवि प्रहरी सरुवापछि नराम्रोसँग गिरेको छ । २०७५ बैशाख ४ मा गरेको १६ डीआइजीको पदस्थापन र ४ को सरुवामा क्षमतावानलाई भन्दा एसम्यानलाई संवेदनशील स्थानमा सरुवा गरेको आरोप आइजीपी खनाललाई लागेको छ ।

Nepal Police
वित्तीय अपराध र संगठित अपराधका ठूला अनुसन्धान गरी नेपाल प्रहरीको प्रतिष्ठा उँचो बनाउने केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)मा कमाण्ड नै गर्न नसक्ने डीआइजी नारायण खड्कालाई पठाइएको छ । हेमन्त मल्ल ठकुरी, नवराज सिलवाल र पुस्कर कार्कीको नेतृत्वमा ब्यूरोले ठूला अपराधका घटनामा सफल अनुसन्धान गरी प्रहरीको छवि चम्काउने गरेका थिए ।

ब्यूरोमा त्यो बिरासतलाई कायम राख्न सक्ने योग्य डीआइजीहरुलाई जिम्मेवारी नदिर्ई आइजीपी खनालले कार्यक्षमता कमजोर भएका खड्कालाई पठाएका छन् । आफूसँग बसेकै भरमा खड्कालाई उनले ब्यूरोमा लगेका छन् । ब्यूरोमा शेरबहादुर बस्नेत जस्ता काबिल डीआइजीलाई दिएको भए विगत भन्दा बढी प्रहरीको छवि उज्वल पार्ने काम गर्थे भन्नेहरु छन् । ब्यूरो स्थापनादेखि अहिलेसम्म सबैले उत्कृष्ट काम गर्दैआएका छन् ।

नारायणी अन्चल प्रहरी प्रमुख हुँदादेखि जुनसुकै निकायमा बस्दा पनि घुसकाण्डमा मुछिएका अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ नाता पर्ने मनोज न्यौपानेलाई महानगरीय प्रहरी आयुक्त कार्यालयको जिम्मेवारी दिएका छन् । पूर्व एआइजी केशरी घिमिरेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गराएपछि उनकै दबाबमा न्यौपाने सरुवा भएका छन् ।

आयुक्त कार्यालयमा बरिष्ठ डीआइजी पुस्कर कार्कीलाई पठाएको भए राम्रो सन्देश जाने थियो । तर यसमा गृहमन्त्री थापा चुकेका छन् । बरिष्ठ डीआइजी कार्कीलाई एकेडेमीमा सरुवा गरिएको छ । आइजीपी खनालले विगतकै आइजीपी जस्तो आफ्ना प्रतिस्पर्धीलाई एकेडेमीमा थन्क्याएका छन् । जबकि कार्कीले आफू आइजी नभएपछि खनाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

एआइजी बढुवा नहुन्जेल न्यौपानेलाई आयुक्त कार्यालयको निमित्त प्रमुखमा पठाएका छन् । आर्थिक रुपमा बदनाम डीआइजी दिनेश अमात्यलाई २ नम्बर प्रदेशको प्रमुखमा सरुवा गरेका छन् । टनका टन सुन तस्करी हुने नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा कमलबहादुर जीटीलाई पठाएका छन् । जीटी पनि कार्यक्षमता नभएकामध्येमा पर्दछन् । काठमाडौको ट्राफिक ब्यवस्थापन जटिल छ । तर ट्राफिकमा राम्रो डीआइजी पठाउनुपर्नेमा एसएसपी बसन्त पन्तलाई सरुवा गरेका छन् ।

आइजीपी खनालले आफ्नो टीम नै कमजोर बनाएका छन् । मोरङदेखि जहाँ बस्दा पनि विवादमा परेका तारणी लम्साललाई आफ्नो समूहकै भएका कारण संघीय इकाई प्रहरी कार्यालय नारायणीको प्रमुखमा सरुवा गरेका छन् । सिन्धुपाल्चोकमा रक्तचन्दन तस्कर, मोरङमा गुण्डा र डनसँग मिलेर अकूत सम्पति आर्जन गरी काभ्रेमा गणेश लामासँग मिलेर सुनकोशी दोहन गर्न छुट दिएर लाभ लिएका एसएसपी सहकुलबहादुर थापालाई सचिवालयमा ल्याएका छन् । उनलाई संभवतः उजुरी छानबिनको जिम्मा दिने योजनामा खनाल रहेको समाचार छ । जसका विरुद्ध सबैभन्दा बढी उजुरी परेका छन्, उसैलाई उजुरी छानबिनको जिम्मा दिने तयारीमा आइजीपी खनाल छन् ।

एसएसपी थापाका विरुद्ध अख्तियारमा अकूत सम्पत्ति आर्जनका थुप्रै उजुरीमा छानबिन भइरहेको छ । विगतमा संघीय इकाई प्रहरी कार्यालय बागमतीमा क्रसर ब्यवसायीसँग मिलेर प्राकृतिक विनाश गरेका दर्जनौं उजुरी परेका थिए, तिनै थापालाई उजुरी छानबिनको जिम्मा दिने तयारी आइजीपी खनालले गरेको स्रोतले बताएको छ । उनले मासिक घुस लिएर राखेका असईहरुमाथि कारबाही भयो, तर थापा भने एकपछि अर्को पुरस्कृत हुँदै गएका छन् ।
सर्लाहीमा एसपी हृदय थापा नगएपछि अर्कोलाई खटाउन सकेका छैनन् । ललितपुरका एसएसपी गणेश ऐरले गोदावरीमा वन विनाश गरी अवैध रुपमा खानी संचालन गर्दा पनि रोक्न नसके पनि उनलाई चलाएका छैनन् । उनले ललितपुरमा ढुंगा, गिटी, बालुवा खानी अवैध रुपमा संचालन गर्न दिएर मासिक रुपमा घुस खाने गरेको गुनासो पटक पटक आए पनि खनालले उनलाई यथावत राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७