लुटेराले आँखै अगाडि मलाई गोली हान्दा पनि छेउकै प्रहरीले हेरिरह्यो : घाइते


१३ जेष्ठ २०७५, आईतवार
IMG 5914

धनगढी, १३ जेठ । प्रदेश–७ को अस्थायी राजधानी धनगढीको बीच बजारमा आइतबार एक आइएमइका कर्मचारीलाई दिनदहाडै गोली हानेर रकम लुटिएको छ । गोली लागेर घाइते निर्मलकुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि छेउमै रहेको प्रहरी र स्थानीयबासी रमित हेरेर बसेको गुनासो गरेका छन् ।

IMG 5914
धनगढीमा लुटेराको गोली प्रहारबाट घाइते आइएमईका कर्मचारी निर्मलकुमार कार्की अस्पतालमा उपचार गराउँदै । तस्विर : सामाजिक सञ्जाल

कार्कीको पाखुरा र छातीमा गोली लागेको छ । कार्कीमाथि लुटेराले गोली हानी अस्पतालको शैंयाबाट घाइते कार्कीले भने, ‘म आईएमईमा काम गर्छु । हरेक दिन बिहान बैंकमा पैसा लिन आउँथें । आज बिहान पनि पैसा लिन आएँ । सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा मूल सडकमै मलाई गोली हानेर लुटियो ।’

पैसा लिएर आईएमईको कार्यालय जाँदै गरेका उनलाई दुई जनाले पिछा गर्दै आएको र मूल सडकमै मलाई गोली प्रहार गरेको उनले बताए । लुटेराले कार्कीलाई गोली हानी साढे नौ लाख रुपैयाँ लुटेर लगेका छन् । उनले घटनाबारे भने, ‘गोली लोपछि म ढलें । मोटरसाइकलमा रहेका दुई जनामध्ये एक जनाले मेरो साथमा रहेको झोला खोसेर लग्यो । छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर–दोहोर गर्ने मान्छे पनि थिए । वरिपरी पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् । म ढल्दा पनि मलाई उठाउन कोही आएन ।’

लुटेराहरुले मास्क प्रयोग गरेकोले आफूले चिन्न नसकेको उनी बताउँछन् । उनले थपे, ‘प्रहरी र दर्जनौं व्यापारीहरुको अघिल्तिरबाटै लुटेराहरु गोली हानेर, लुटेर भाग्दा पनि न प्रहरीले पक्रन सक्यो, न अरु मान्छेले समात्ने प्रयास गरे ।’ जनताको सुरक्षाका लागि हतियारसहित खटाइएका प्रहरीले पनि आँखै अगाडि लुटेराले गोली हानेर आफूलाई लुट्दा पनि हेरिरहनु अचम्मको विषय बनेको उनी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७