मेरो पहिलो महिनावारीको कथा


१५ जेष्ठ २०७५, मंगलवार
Ramkumari jhakri रामकुमारी झाँक्री

ब्लग
२०५० सालको मंसिर ८ गते
मेरो स्मृतिमा आज पनि ताजै छ । मेरो स्कुलको वार्षिक परीक्षा मंसिर ६ गतेबाट शुरू भएको थियो । परीक्षाको समय भएकाले घरको काम गर्न त्यो बेला पर्दैन्थ्यो । स्कुल अलि टाढा भएकाले सँधै हतार हुन्थ्यो । परीक्षाले त झन तनाव हुने नै भयो ।
त्यो बिहान अर्थात मंसिर ८ गतेको बिहान ।

स्कुल जान तयारी गर्दै थिएँ, हात, गोडा, मुख धुन र एक गाग्रो पानी लिन घर नजिकै पँधेरोमा गएँ । हुन त खाने पानीको धारा घरमै थियो । तर, घरमा भन्दा गोठमा पानी धेरै चाहिने भएकाले, हिउँद महिनामा बारीमा हिउँदे गोठ बनाएर गाईबस्तु सार्ने हुँदा, धारो परैबाट गोठ बनाएको बारीतिर लाने भएकोले खानेपानी नजिकैको पँधेरोबाट बोक्थ्यौं ।

Ramkumari jhakri रामकुमारी झाँक्री

मैले त्यो बेला सबै भन्दा धेरै समय पानीको धारा वा पँधेरोमा बिताउँथें । म पानीमा पनि क्रेजी थिएँ । पँधेरो गएर हराउने धेरै समय लगाउने भएकाले गाली पनि खान्थें त्यो बेला । त्यो दिन जब पानी लिएर घर फर्के । पँधेरो गएकोले हात–गोडा धुदा अलिअलि भिज्नु स्वभाविक थियो । घरमा आमा अगेनामा दूध बसाएर कतै जानु भएको रहेछ । दूध उम्लिरहेको थियो । ठेको खनाएर दूध पनि हालें । आमालाई बोलाएँ, आमा बारीतिरै हुनुहुँदोरहेछ । खाना खाएर स्कुल जान भन्नु भयो । मैले खाना खाएँ । अनि ड्रेस लगाउन कोठामा गएँ । परीक्षा भएकाले कपी–किताव लैजानु पर्दैन्थ्यो । किताब ठिक्क पार्न परेन ।

ड्रेस चेन्ज गर्दा चिसो–चिसो च्याप–च्याप लागेको महसुस गरें । अनि नियालेर आफूलाई हेरें । मेरो महिनावारी भएको रहेछ । मेरो पहिलो महिनावारी । हात–खुट्टा लगलग काँपे । म अलि अतालिएँ । अब के गर्ने भनेर ? आमा पनि हुनुहुन्न । म मात्र छु । अलिबेर पर्खिऊ स्कुल जान ढिलो हुने, परीक्षा चलिरहेको छ त्यसमा पनि वार्षिक परीक्षा । सोचें यो पाप होइन म सम्हालिनु पर्छ । म मेरा आमा–बा, दिदीहरू भन्दा पछिल्लो पुस्ता हुँ र सचेत पुस्ता पनि हुँ । मेरा दिदीहरूले स्कुलको ग्राउण्ड टेक्ने मौका पाएनन् । मैले पाएँ । मैले केही न केही ब्रेकथ्रु गर्नैपर्छ । आफूलाई सम्हालें । दृढ़ बनाएँ । जे हुन्छ बेलुकी आएर हुन्छ । आमालाई म बेलुकी फर्केपछि भन्छु भन्ने निश्चय गरें । र, मैले आफै एक्लै निर्णय गरें । आमाको पुरानो सुतीको साड़ी च्यातेर प्याड बनाएँ र लगाएर स्कुल गएँ । सधै जस्तो सामन्य हिसावले नै परीक्षा दिएँ । मेरो अलिअलि ब्याक पेन भएको थियो । अलि थकाई पनि महसुस भएको थियो । आलश्य भा’को थिए ।

बेलुकी घर आएँ । खाजा खाएँ तर, आमालाई भन्ने मेसो मिलेन । एक मुठा घाँस काट्न खरबारीमा गएँ । घाँस लिएर आउँदा बुबा र ठूल्दाइसँग भेट भएको थियो हिउँदे गोठमा तर केही बोलिन् । गोठबाट बेलुकी अँध्यारो पारेर घर फर्के । सुटुक्क आफ्नो कोठामा आएर बसेकी थिएँ । अँध्यारो भएकाले आमाले खोजी गर्नु भयो । आमा मेरो कोठामा आउनु भयो अनि आमालाई सबै कुरा भन्ने मौका पाएँ । आमाले धेरै कुरा सम्झाउनु भयो ।

आमाको अनुहारमा एक प्रकारको खुशी झल्किन्थ्यो । किनकी मेरो महिनावारी मेरा कक्षाका साथीहरू भन्दा अलि ढिलो भएको थियो । मेरा साथीहरू कक्षा ४ देखि कक्षा ७ सम्म पुग्दा सबैजसो पर सरिसकेका थिएँ अर्थात महिनावारी भईसकेका थिए । सायद आमा त्यही कारण पनि खुशी हुनु भएको हुनसक्छ । मलाई पनि मेरा साथीहरूको सबै कहानी थाहा थियो । र, म परिपक्क पनि भईसकेकी थिएँ साथीहरूलाई देखेर र सुनेर ।

आमाले घरमा भन्नु भयो होला बुबा र दाइलाई । सायद मेरो परीक्षा पनि चलिरहेकाले होला दिदीहरूको पालाको कठोर परम्परावादी मेरा बुबा–आमा पनि परिवर्तन हुनु भयो । आमा आफै पनि महिनावारी बार्नु हुन्थेन । तर, मैले ११ दिन लुक्ने, घरको धुरी, सूर्य र बुबा र दाजुभाइ देख्न नहुने, परपुरूषलाई छुन नहुने, छोयो र देख्यो भने पाप लाग्ने त्यो कठोर अन्धविश्वास तोड्न, नमान्न सफल भएँ ।
म बोलेर वा झगडा गरेर वा अटेरी गरेर होइन । सम्झाएर त्यो परिस्थितिलाई देखाएर । जाडो महिना थियो । म आफ्नै बेडमा सिरक डसनामा सुतें । मलाई दूध खान हुँदैन भन्नु भएन । मैले दूध पनि खाएँ घरमा नै बसें । बरू थप काम लगाउनु भएन बसेर पढ्ने मौका पाएँ । कमजोर स्वास्थ्य भएको बेला केयर पनि पाएँ ।

के छुन हुन्छ ? के हुन्न  ? भन्ने कुरा मेरो लागि गौण भयो । बरू ब्लिडिङ हुने, थकाई वा आलश्य हुने भएकाले आराम र सरसराई गर्ने मौका मिल्यो । मप्रति कहिल्यै गुनासो गर्नु भएन मेरा अभिभावकले । त्यसपछिका दिनहरू झन सहज भएँ मेरा लागि । आज पर्यन्त म महिनावारी बार्दिन् तर, सरसफाई गर्छु । मेरो बिहेपछि, मेरो घरमा पनि यस्तै सजिलो वातावरण छ । कसैलाई छुई लाग्दैन यहाँ । तर, सबै काम गर्नुपर्छ भन्ने पनि छैन । नगर्न पाइन्छ । पर सरेका बेला भान्सामा नगए पनि हुन्छ । गएर काम गरे पनि हुन्छ । आफ्नै खुशी । र, महिनावारी पाप होइन । महिनावारी भएपछि नै हरेक महिला सृष्टिका लागि योग्य हुन्छन् ।

महिनावारी नभई कसरी बच्चा जन्मन्छ ? विद्वान मित्रहरूले यसतर्फ आजसम्म बहस गरेको देख्दिनँ । कसले भनेको वा बनाएको रीति हो यो ? पाप भन्ने । के हरेक मान्छे महिला र पुरूष हामी आफूलाई पापको परिणाम मान्न स्वीकार गर्न तयार छौं ? स्वीकार गर्न सक्छौं ? सायद गर्दैनौ होला ? त्यसैले महिनावारी, गर्भिणी र सुत्केरी अवस्था हरेक महिला र आमाहरूको लागि विशिष्ट र पबित्र अवस्था हो ।

प्रकृति वा समाजले गरेको बिभेद होइन, विशिष्टता र भिन्न अबस्था हो महिलाको । यसलाई यसरी सजिलो गरी हामी बुझाऔं ।अनि महिनावारीमा महिलालाई छाउगोठमा राख्नु र महिनावारीलाई बहिष्कार गर्नु सामाजिक अपराध हो । यो कानुनी रूपमा दण्डनीय छ । ती महाअपराधी हुन् जसले महिनावारीलाई अपराध ठान्छन् । तर, यसो भनेर मात्र समस्या कहाँ समाधान हुन्छ र ? महिनावारीलाई बहिष्कार नगर्ने समाज बनाउने पनि त कर्तव्य तपाई हाम्रो हो । त्यसका लागि हामी सबै जागरूक र सचेत बनौँ । भत्काऔं बारीको कुनामा बनाएका छाउगोठहरू । हटाऔं तपाई हाम्रो मनको कुनामा जीबित महिनावारी र छुवाछुतको अपराधबोध गर्ने मन, हिनताबोध गर्ने भावना ।

अनि महिनावारीलाई बुझौं जैविक, प्राकृतिक विशिष्ट अबस्था भनेर । तब मात्र समाज सभ्य बन्न सक्छन् हाम्रा नानीहरू पाप र अपराधबोधको सिकार हुनबाट जोगिन्छन् । हिनताबोधबाट मुक्त हुन्छन् । एक योग्य महिला, सृष्टिदाता र सृष्टिका सुन्दर अंश बन्न सक्छन् । हाम्रो समाजले सामाजिक दायित्व बोक्ने जिम्मेवार नागरिक ठान्ने छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७