म मेनुका थापाबाट असुरक्षित छु, मेरो सुरक्षा गरियोस्


१७ जेष्ठ २०७५, बिहीबार
puja bohora
????????????????????????????????????

पूजा बोहोरा
म पुजा बोहोरा, घर बैतडी जिल्लाको कैलपाल–९ डंसिलीमा सामान्य परिवारमा ६ भाइ–बहिनी मध्येकी चौथो सन्तानका रुपमा जन्मिएकी हुँ । मैले कक्षा १ देखि ५ सम्म श्री कैलाश प्राथमिक विद्यालयमा पढेको हुँ । कक्षा ६ देखि १० सम्म श्री सिद्धेश्वर उ.मा.वि. सकार मेल्चौरा बैतडीमा पढेको हुँ । म पढाइमा राम्रै विद्यार्थी भएका कारण सबैबाट माया ममता पाउँथेँ । जसका कारण पढ्न सजिलो भएको थियो । म जहिले पनि प्रथम श्रेणीमा पास हुँदै आएको विद्यार्थी थिएँ ।

puja bohora

२०६८ सालमा एस.एल्.सी. दिने क्रममा मेरो सामूहिक बलात्कार भएपछि शारीरिक तथा मानसिक रुपमा विक्षिप्त भई काठमाडौं आए । बुबा र काकाको सहयोगमा २०६९ सालको पुस ९ गते जिल्ला अदालत बैतडी गएर बयान दिएँ । जसको आधारमा जिल्ला अदालत बैतडीले बलात्कारीलाई १३ बर्षको सजाय र ५०÷५० हजार रुपैयाँ जरिवानासहितको फैसला ग¥यो । २०७० सालमा एस्.एल्.सी. दिएँ । एसएलसीमा म प्रथम श्रेणीमा पास भएँ । तर त्यो समयमा पनि रक्षा नेपालकी अध्यक्ष मेनुका थापा ‘आमा’ ले मेरो न्यूज निकाल्नु भयो । जहाँ कि विशिष्ट श्रेणीमा पास भएको भनेर त्यस समयमा पनि उहाँले बढाईचढाई न्यूज निकाल्नुभएको थियो । यो कुरा मलाई राम्रोसँग थाहा छ ।
मलाई जहिल्यै आमाले किन झुटा न्यूज दिनुहुन्छ भन्ने भइरहन्थ्यो ।

एसएलसी पढ्दाखेरि पनि मलाई स्कुलको एक जोर ड्रेस मात्र किनिदिनुभएको थियो । बाहिर लगाउने ज्याकेट पनि नकिनिदिएका कारण पुरानो अरुले लगाएको ज्याकेट लगाएर जानुपर्दथ्यो । १० कक्षामा पनि खाजा ‘खा’ भनेर एक रुपैयाँसम्म दिनुभएन । १० कक्षामा पढ्दा स्कुलले एक दिने भ्रमणका लागि चाँगुनारायण लगेको थियो । सो भ्रमणमा जान सवैबाट एक हजार रुपैयाँ उठाइएको थियो । तर, मेरो आमाले भने पैसा दिन मान्नुभएन । म पैसा नतिरिकनै पिकनिक गएको थिएँ । मैले पैसा तिर्न नसकेकै कारण मलाई निकै लज्जास्पद स्थिति सृजना भएको थियो । जुन कुरा मेरा स्कुले साथीभाई र विद्यालयको सरलाई सोधे पनि थाहा हुन्छ ।
स्कुलमा पनि साथीभाइहरुले खाजा खान जाउँ भन्थे । तर म दायाँबाँया छलिन खोज्दथें । किनकि मेरो मनमा औडाहा हुन्थ्यो । यसरी मलाई जतासुकै विचरा बनाइयो । म मेरो बुबाको दुःख पीडा बुझेको मान्छे भएकै कारण पढेरै केही गर्छु भन्दै दुःख, कष्टहरु सहँदै बसेँ । मेरो इच्छाविपरीत मात्रै त्यहाँ मलाई व्यवहार गरिन्थ्यो । मलाई झुट बोल्न लगाइन्थ्यो । सबै न्यूजहरुमा झुट बोल्न लगाउनुहुन्थ्यो । कहिलेकाँही कोही ठूला मान्छे आएको बेला भने धेरै नै माया गरेको नाटक गर्नुहुन्थ्यो ।
यसरी हुन्थ्यो ममाथि शोषणः
रक्षा नेपाल आएदेखि रातिको १२ बजेसम्म पनि सबैले खाएको जुठा भाँडा माझेर मात्र सुत्ने गर्दथेँ । जहिल्यै मैले भाँडा माझ्नुपर्दथ्यो । भाँडा नमाझेमा आमा र अरु सिनियर दिदीहरुले गाली गर्नुहुन्थ्यो । संस्थामा आश्रित भाइबहिनीहरुलाई काभ्रेकी पुजा कार्की र मेनुका थापा महिनावारी हुँदा लगाइएको रगतैरगतले लतपतिएको पेन्टीलगायत अन्य कपडाहरुसमेत धुन लगाइन्थ्यो । अहिले रक्षा नेपालको सम्पर्क कार्यालय लैनचौरमा छ । तर, अन्य भाइबहिनीहरुलाई सतुङ्गलमा राखिएको छ । तर, कसैले सोधे गोदावारीमा राखिएको भन्दै पीडितकै परिवारका सदस्यलाई समेत झुट बोलेर भेट्न दिइन्न । बेलाबेलामा आमाले मलाई कुट्ने पनि गर्नुहुन्थ्यो ।

जेनतेन गरेर भएपनि मलाई पढेरै अगाडि बढ्नुपर्छ भन्ने मनसायले सहँदै आएँ । दश कक्षा पढ्दा पनि मलाई कुनै पनि किसिमका सुरक्षा दिइएन, म एक्लै पढ्न जान्थें । त्यहीँ बस्ने अन्य भाइबहिनीलाई भने स्कुल लैजाने, ल्याउने मान्छे हुन्थ्ये । बिना फोन, बिना पैसा मलाई कति डर लाग्दथ्यो, त्यो पीडा मलाई मात्र थाहा छ ।
एसएलसी दिएर बिदा भएपछि पनि आमा (मेनुका थापा) ले मलाई सबैले खाएको जुठा भाँडा माझ्ने र सबैको लागि खाना र खाजा पकाउने काममा मात्र लगाइरहनुभयो । तर ‘मैले आमा अंग्रेजी भाषा सिक्न जान्छु, कम्यूटर कक्षा लिन जान्छु भन्दा तेरो बाउ राम सिंहले पैसा दिन्छ भन्दै गाली गरेर टार्नुहुन्थ्यो । तीन महिने बिदामा मैले केही पनि सिक्न पाइन । मलाई डर, त्रासमा पारी कब्जामा मात्र राखियो । त्यसपछि ११ कक्षामा भर्ना गर्ने बेलामा पनि आमाले मैले भने बमोजिम केही गर्नुभएन । बल्लबल्ल ११ कक्षामा लैनचौरमा रहेको आदर्श योगहरीमा भर्ना गरिदिनुभयो । तर घरमा जहिले पनि सबैले खाएको जुठा भाँडा माझ्ने काम गर्दै एघार कक्षा पढेँ । १२ कक्षा लैनचौरमै रहको जनकनाथ मेमोरियलमा कर्मश पढेँ । कारण आदर्श योगहरीमा विद्यार्थी कम भएको भन्दै बन्द भयो । मरो इच्छा विज्ञान पढेर चिकित्सक बन्ने थियो । जताततै मेरा इच्छा र चाहनालाई कुल्चिने काम गरियो ।
मलाई मेनुका थापा आमाले कहिल्यै पनि खाजा खानु भनेर एक रुपैया पैसा पनि दिनुभएन । खाजा नखाएरै १२ कक्षा पनि सकियो । १२ कक्षाको परिक्षा पश्चात ६ महिना कलेज बिदा हुदा पनि मलाई केही पनि सिक्न दिइएन । सतुङ्गलमा रहेको घरमा लगेर सबैले खाएको जुठा भाँडा माझ्ने काममा लगाइयो । तर मलाई केही न केही सिप सिक्न इच्छा थियो । मलाई झुक्याई झुक्याई गाली गरीगरी कुनै पनि क्लास नपठाइकन घरमा भाँडा माझ्ने काम गर्नमात्र लगाइयो ।
१२ को रिजल्टमा म प्रथम श्रेणीमा उत्तीर्ण भएँ । त्यसपछि ‘ल’ पढ्ने तयारी कक्षा पढ्नुप¥यो भनेँ । संस्था र आमाबाट सहयोग प्राप्त भएन । एक्लै पढ्छु भनेर अगाडी बढेँ । तयारी कक्षाका लागि भृकुटीमण्डपको ‘ल’ कलेज गएँ । त्यहाँ जाँदा पनि जहिले गाडी भाडा माग्दा आमाले यति त हिँडेरै जा, मसँग पैसा छैन भन्दै गाली गर्नुहुन्थ्यो । मलाई बाहिर हिँड्दा लगाउने कुनै पनि कपडा किनिदिनुभएन । अरुले नयाँ–नयाँ कपडा लगाएको देख्दा मेरो मन कुटुक्क हुन्थ्यो । जता पनि मलाई विचरा ! बनाइन्थ्यो । म सहेरै बसेँ ।

म आफ्नो इच्छाहरुलाई मारेर आफै सक्षम भएपछि किनेर लगाउँला भन्दै चित्त बुझाउँथे । आफ्नो पढाइलाई अगाडि बढाउने हेतुले बिजुलीबजारमा रहेको चक्रवर्ती ‘ल’ कलेजमा पढ्न गएँ । त्यहीँँ मैले पढ्ने निधो गरेपछि आवश्यक कापीकिताब किनिदिनुस् आमा भन्दा आमाले चासो देखाउनुभएन । मैले सबैसमक्ष अनुनयविनय गरेपछि रक्षा नेपालकै लोचना नेपाल म्यामले कापी किनिदिनुभयो । तर आमाका सामु कति रुँदा–कराउँदा पनि नानाथरीका गफ लगाएर टानुहुन्थ्यो । पहिलो वर्ष लैनचौरबाट नै विजुलीबजार धाएँ । त्यहाँ जाँदा लाग्ने गाडि भाडा माग्न धेरै गाह्रो हुन्थ्यो ।

मलाई माग्नै अप्ठ्यारो हुनेगरी तथानाम अपशब्दहरुले गालीगलौच गर्नुहुन्थ्यो । कहिलेकाँही मुना दिदीले दिनुहुन्थ्यो त, कहिलेकाहीँ तलबाट माथि र माथिबाट तल जा भनी अल्झाइरहन्थे । सहदै गएँ, आमासँग छैन होला भन्ने भावनाले रुँदै भए पनि कलेज जाने गर्दथेँ । कलेजमा खाजा खानको लागि भनेर आजसम्म पनि पैसा दिनुभएन । कलेजमा भर्ना नगरी कलेज जानु पर्दा साथीभाइहरुले मलाई किन भर्ना नगरी पढेको ? प्रश्न गर्दा म लज्जित हुन्थेँ । त्यसपछि मलाई मानसिक तनाब हुन्थ्यो । कलेजमा पनि २ वटा नाम दिइएको थियो । सोही कारण मलाई साथीभाईहरुको विविध प्रश्नहरुले तनाब हुन्थ्यो । उनीहरुका प्रत्येक प्रश्नहरुको उत्तर मसँग हुँदैनथ्यो । अहिले म दोस्रो बर्षमा अध्ययनरत छु । २०७१ पुस १ गते कान्तिपुर दैनिकमा न्यूज आमाले आफैँ बढाईचढाई लेखाउनु भएको हो । अन्र्तवार्ता पनि आमाले भने बमोजिम नै दिनुपर्दथ्यो । आमाले भने बमोजिम नभनेपछि मलाई तथानाम गाली गर्नुहुन्थ्यो । रक्षा नेपालमा आश्रय लिएर बसिरहेका म जस्ता पीडित छोरीहरुमध्ये सबैभन्दा ठूलो कक्षामा पढ्ने म नै थिएँ । तर पनि कोही ठूलो मान्छे आएको बेला मलाई ११ कक्षामा पढ्छे भन्नुहुन्थ्यो । म जहिल्यै आमाको झुटप्रति चकित हुन्थेँ ।

आमाका आफन्त संस्थामाः
निशा, एलिशा, सुष्मा, राधिका, गोमा, ईश्वरी, मनिश, उज्वल, राधिकाका दुई वटी बहिनीलगायत आमाका आफन्तहरुलाई रक्षा नेपालमै राखेर पढाइँदैछ मज्जाले । कसैलाई विदेश पठाइयो । तर मलाई भने होस्टेल जाउँ भनेर थपक्कन पठाइयो । सबैभन्दा बढी आमाकै भाइ भतिजा, भतिजी र आफन्त संस्थामा राखिएको छ । बाहिरीबाट ठूलाठूला मान्छेहरु, पत्रकारहरु, समाजसेवीहरु, कलाकारहरु, स्वदेशी तथा विदेशीहरु आउँदा भने हामी सवैलाई बलात्कृत भएको भन्दै देखाइन्छ । पटकपटक हाम्रो घाउँ कोट्याउने काम हुन्थ्यो । जबकि आमाका आफन्तहरु कुनै भिक्टिम होइनन् । म जस्तै पीडित अर्की पुजा कार्कीलाई भने राम्रा–राम्रा कपडा किनिदिने, ल्यापटप दिने, राम्रो मोबाइल दिने गर्नुहुन्थ्यो तर मलाई भने छुट्याइन्थ्यो । रक्षा नेपालमा बसेका आफन्त बाहेकले प्रायजसो पिटाई खानुपर्छ । जसका कारण त्यहाँ बस्ने भाइबहिनीहरु शारीरिक र मानसिक तनावमा हुन्छन् ।

तर होस्टलमा पैसा नदिएपछि मलाई होस्टलबाट म्यामले निकालिदिनुभयो । मलाई निकालेपछि पैसा तिरेको सुन्दैछु । सतुङ्गलमा कार्यक्रम हुँदा पनि मलाई र एन्ड्रियालाई नलगी त्यही घरमा बस्न बाध्य बनाइन्थ्यो । मसँगै बस्ने एन्ड्रियालाई ‘त ड्रक्स खान्छस्, चुरोट खान्छेस्’ जस्ता नानाथरी आरोप लगाई पागल बनाईयो । मलाई भने २०७४ मंसिर १७ गते मध्यबानेश्वरमा रहेको माता पाथिभरा गल्र्स होस्टेलमा राखिदिनुभयो । रक्षा नेपालबाट विभिन्न लान्छना लगाएर महिमा, विशाल, अशोक, दिपेश, शिशिर, क्रिस, सुशील, एन्ड्रिया र आस्थाको भाइलगायतलाई निकालियो । उनीहरु कहाँ र कुन अवस्थामा छन् ? खोजी गरियोस् । होस्टेल राखेपछि मलाई कहिले पनि रक्षा नेपाल लगिएन । पछि होस्टल सेतोपुलमा सारियो ।

होस्टेलमा पैसा नतिरेका कारण होस्टेल सञ्चालक रुपाली गुरागाईले मलाई जहिल्यै कोठा सारिरहने गर्नुहुन्थ्यो । मलाई पढाइमा बाधा हुन्थ्थो । तैपनि पढ्छु भन्दै पढ्दै गएँ । म एकदिन बिरामी पनि भएँ । रुपाली आन्टीले फोन गर्दा आमाले फोन नै अफ गरेर राखिदिनुभयो, मलाई औषधीउपचार गर्नुको साट्टो । होस्टेलको आन्टीले पनि मलाई तिमी पैसा नतिरेको मान्छे हो, नौ हजार तिर्ने विद्यार्थीलाई राख्नुप¥यो भन्दै मलाई कोठा सार्नुहुन्थ्यो । बिरामी भएको दिन आमाले लिन नआएपछि रुपाली आन्टी अत्तालिएर ‘तिम्रो आमाले कुनै पनि जिम्मेवारी वहन गर्न नसक्ने भए, म पनि जिम्मा लिन सक्दिनँ, आधा घण्टामा मेरो होस्टेल खाली गर भन्नुभयो ।’ भोलिपल्ट आमाले पनि होस्टेल छोड् भन्दै आफन्तकोमा जान भन्नुभयो । म छक्क परेँ । एक्कासी आमाले नै आफन्तकोमा जा भनेपछि म सबै सामान लिएर रक्षा नेपालमै गएँ । म रक्षा नेपाल गएपछि आमाले ‘अब तँ कहाँ जाने हो जा, यहाँ तेरो लागि कुनै पनि ठाउँ छैन’ भनेपछि म एक्कासी आत्तिएँ । मलाई अत्यन्तै दुःख महसुस भयो । मलाई रक्षा नेपालमा बस्न नदिएपछि म भाउजुको ठूलोबुबाको कोठामा गएँ । भोलिपल्ट पनि रक्षा नेपाल गएर आमा मेनुका थापासँग कुरा गर्दा पनि ‘त जाँ सुकै जा, यहाँ बस्न पाउँदिनस’् भन्नुभयो । त्यो दिन मलाई सावित्री पुडासैनीकोमा पठाइयो । यसरी मलाई कलेज पढिराखेको मान्छे कहिले कता त ? कहिले कता ? भन्दै पठाउने काम भयो ।

मेनुका आमाको त्यो ब्यवहारले मलाई अतिनै असैह्य पीडा महसुश भइरहेको छ । सावित्री पुडासैनी मसाजमा काम गर्नुहुन्छ । उहाँको कोठामा पठाउन खोजेपछि म रक्षा नेपालको बाहिरै बसे । मुना दिदीले हिँड् जाँउ भनेपछि आमा लैनचौरकै सीप क्याफेमा हुनुहुृन्थ्यो । आमा मेनुका थापाले मलाई भेट्ने वित्तिकै मोबाइलले मेरो नाकमा हिर्काउनु भयो । मुना दिदीलाई पनि यो घटना थाहा छ । मेरो नाकबाट रगत आयो, म बेहोस जस्तो भएर आफैँले त्यहीँ क्याफेका दाइसँग पानी मागेर खाएँ । सावित्री दिदिले मलाई नाकमा लगाउने मलम र पेनकिलर किनेर दिनुभयो । मलाई रातभरी ज्वरो आयो । त्यो नाकको घाउ अहिलेसम्म दुखिरहेको छ ।

आमाले मलाई गर्दा अतिनै पीडा भएको छ । म सहनै नसकेपछि रानीपोखरी प्रहरी कार्यालयमा गएँ । तर आमाले मलाई आश्रय दिनेलाई नै उजुरी गरेको सुनेको छु । तर मैले त्यसअघि नै आमाको ज्यादती प्रहरीकोमा भनिसकेको छु । त्यो दिन प्रहरी कार्यालयबाट फोन गर्दा आमाको मोबाइलमा कल फरवार्ड गरिएको थियो । आफू पीडामा परेको कुरा मैले त्यहीँ जानकारी गराईसकेको छु । तर, त्यहाँबाट पनि मलाई लैनचौर गएर निवेदन देऊ भनियो । म झनै पीडामा छु ।

आमाले नै फेसबुक चलाउनुहुन्थ्योः
आमा मेनुका थापाले मेरो फेसबुक पनि उहाँको लक्की नम्बरमा खोल्नुभएको कुरा मलाई राम्रोसँग थाहा छ । मेरो फेसबुक पनि आमा मेनुकाले आफै चलाउनुहुन्थ्यो । आफ्नै बारेमा राम्रा–राम्रा कुराहरु पोष्ट गर्नुहुन्थ्यो । जुन कुराले उहाँलाई राम्रो हुन्थ्यो । अरुको पनि फेसबुको पासवर्ड उहाँलाई थाहा छ । अन्य भाइबहिनीहरुलाई पनि आमाले पिटी–पिटी नियन्त्रणमा राख्नुहुन्थ्यो, जुन कुराले मलाई थप पीडा महसुस हुन्थ्यो । रक्षा नेपालको आश्रय लिएर बसिरहेका अन्य भाइबहिनीहरु बाहिर देख्दा सुखी देखिन्छन् । तर उनीहरुको भित्री अवस्था दयनीय छ । उनीहरुलाई समेत सरोकारवाला निकायहरुबाट अवलोकन गरियोस् । उचित बस्ने ब्यवस्था र शिक्षादिक्षाको ब्यवस्था गरियोस् । उनीहरुलाई पनि मलाई जस्तै कब्जामा राखिएको छ, ताकी संस्थाको कुनै पनि कुरा बाहिर नजाओस् भनेर ।

मैले पाएको गोल्डमेडल खै आमा ?
२०१२ मा कोरियामा तेक्वान्दो प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा २५ वटा राष्ट्रले सहभागिता जनाएका थिए । सो खेलमा मेरा मैले भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । मैले भारतलाई पछि पारी गोल्ड मेडल जित्न सफल भएको थिएँ । कोरियाली समाज र नेपाली दूतावासले हामीलाई सम्मान गरेको थियो । त्यहाँ पाएको सबै पैसा र सम्मानपत्र आमाको भतिजी ईश्वरी थापाले कब्जामा लिनुभयो । कोरिया जाँदा पनि रक्षा नेपालको तर्फबाट ७ जना गएका थियौं । साथमा तेक्वान्दो गुरु अशोक खड्का पनि हुनुहुन्थ्यो । रक्षा नेपालको तर्फबाट गएका ६ जनालाई नेपाली कल्चर ड्रेस लगाएर लगिएयो तर मलाई मात्र ड्रेस दिइएन । मलाई झन् असैह्य दुःख लाग्यो । सुरुदेखि नै अरुलाई काखा र मलाई पाखा गरियो । कोरियाबाट फर्किएपछि पनि अरुलाई अगाडि ल्याइयो तर मलाई भने वास्तै गरिएन । म तिरस्कारमा परें । किन परें मलाई अहिलेसम्म थाहा छैन । तेक्वान्दो प्रशिक्षणका बेला मलाई अन्य काममा लगाइन्थ्यो । जुन दिनदेखि मैले जितेको गोल्डमेडल आमाको हातमा प¥यो, त्यस दिनदेखि मैले त्यो जितेको गोल्डमेडल र सर्टिफिकेट हेर्नसम्म पाएको छैन् । त्यो गोल्डमेडल र सर्टिफिकेट दराजमा ताल्चा मारेर राख्नुभएको छ । आजसम्म रक्षा नेपालको प्रायजसो कार्यक्रममा मलाई सहभागी गराइन्न ।
स्वदेशी तथा विदेशी सहयोगः
हामी बालबालिकाको नाममा रक्षा नेपाललाई स्वदेशी तथा विदेशी दाताहरुले थुप्रै सहयोग गर्नुभएको छ । मेरो नाममा धेरैले सहयोग गरेका छन् । तर मैले नै अवसरबाट बन्चित हुनुपरेको छ । हाम्रो नाममा विदेशी दाताहरुले दिएको फण्ड पनि नआएको भन्दै ठूलाठूला मान्छे आउँदा रटाएर सहयोगका याचना हामीमार्फत् गर्न लगाइन्छ । रुटस् फर लाइफ, हेल्प इन्टरनेशनल, क्यारोला घोस, लेश्ली ब्राउनलगायत थुप्रै विदेशी तथा स्वदेशी दाताहरुले सहयोग गरेका छन् ।
होस्टलमा राख्दा विना सम्झौता मातापाथीभरा गल्र्स होस्टेलमा राखिदिनुभयो । होस्टेलमा पनि मलाई सम्पूर्ण सुविधाबाट बञ्चित गराइयो । ०७४ साल मंसिर १७ गतेबाट होस्टेलमा बसेता पनि हालसम्म होस्टेलको शुल्क नतिरेकै कारण मलाई होस्टेलबाट निकालियो । त्यो कुरा प्रहरी, प्रशासनले बुझेमा गरेको खण्डमा यथार्थ खुल्ने छ । होस्टेलकी आन्टीले पनि पैसा नतिरेको भन्दै शुरु–शुरुमा टर्चर दिनुभयो । तर मैले मेरो बास्तविकता बताएपछि राम्रै व्यवहार गर्नुभयो । पैसा नतिरेका कारण मलाई निकाल्दा समेत मेरी आमाले मलाई लिन आउनु भएन । मलाई तिरस्कार गरियो । म अहिले सडकमै छु भन्दा फरक पर्दैन । अहिले म मेरो साथीको दाजुभाउजुको परिवारका केही दिनका लागि आश्रय लिएर बसेको छु । मिडियामा कुरा पुगेपछि उहाँलाई समेत फसाउन मलाई ललाई फकाई लगेको भन्दै उजुरी गरेको सुनेको छु । तर, त्यो सबै गलत हो । उहाँको बहिनी पनि एउटा भिक्टिम हो । पहिला आश्रय लिएर सोही ठाउँमा बसेकी थिइन् । तर विभिन्न टर्चर दिएपछि उनको दाइले त्यहाँबाट फिर्ता लग्नुभयो ।

कलेजको सहयोगः
कलेजमा पढ्दा शुरुका एक वर्षसम्म कलेज शुल्क तिरिएन भने भर्नाको त कुरै भएन । तर पनि कलेज प्रसाशनलगायत कलेजका प्रिन्सिपल देवेन्द्र भण्डारी सर र अनिता थापा म्यामले मलाई राम्रो व्यवहार गर्नुभयो । जनकनाथ कलेजका प्रिन्सिपल हरि सापकोटा सरले म र मानुसीप्रति ठूलो सहयोग गर्नुभएको छ । उहाँको सहयोग म बाचुञ्जेलसम्म बिर्सने छैन ।
मानुसीका कुराः
रक्षा नेपालको शरणमा आएकी पीडित बहिनी मानुसीलाई पनि विभिन्न टर्चर दिइरहन्थे । उनले ल्याएको कपडा र पैसा दिइन्नथ्यो । उनको दाजुले खाजा खान छाडेको पैसा पनि खोसेर राखिन्थ्यो । जनकनाथ कलेजमा बल्लतल्ल भर्ना गरिदिएता पनि अन्य कुनै पनि सहयोग गरिएन । विभिन्न टर्चर दिएपछि उनका दाजुले ७ महिना जतिपछि त्यहाँबाट फिर्ता लग्नुभयो । उहाँ पनि एउटा प्रमाण हो । पीडित परिवारको सदस्य भएकाले उहाँलाई पनि धेरै कुरा थाहा छ । बहिनी झनै पीडामा छिन् । उनको पनि हालसम्म नागरिकता बनेको छैन । मोरङ जिल्ला अदालतले वहिनीको विपक्षमा मुदाको फैसला गरेको छ । तर, रक्षा नेपालले बहिनीको लागि एउटा वकिल समेत राखेन । थप कुरा उनीबाटै बुझ्न सक्नुहुन्छ ।
र, अन्त्यमाः
पीडितको नाममा सहयोगी दाताहरुले आफ्नो गाँस काटेर दिइएको रकमबाट रक्षा नेपालकी मेनुका थापाले आफ्नो व्यक्तिगत धनसम्पत्ति जोड्नुभएको छ भन्ने मैले आरोप लगाएको जस्तो देखिन्छ । तपाईहरुले नै छानविन गरेको खण्डमा त्यो पनि सत्य पाउनुहुनेछ । आमाले धापाखेलमा घर किन्नु भएको छ । विदेशीले सहयोगले सतुंगलमा जग्गा जमिनसहित आफ्नै विशाल भवन छ । जुन ब्यक्तिगत नाममा भएको सुनेको छु । यदि त्यसो हो भने उक्त सम्पत्ति संस्थाको नाममा ल्याइयोस् । त्यसमा सबैको साथ होस् भन्न चाहन्छु । पीडितको नाममा आएको रकम हिनामिना गरी अकुत सम्पति जोडेकाले रक्षा नेपालकी सञ्चालक एवम् अध्यक्ष मेनुका थापालगायतलाई यथाशीघ्र अनुसन्धानको दायरामा ल्याउन म ब्यक्तिगत रुपमै नेपाल सरकारसमक्ष अपिल गर्छु ।
संस्थाको आश्रय लिई बसेका भाइबहिनीहरुलाई कुनै पनि अधिकारबाट वञ्चित नगराइयोस् । संस्थाबाट निकालिएका र निस्कन बाध्य पारिएका हालसम्मका सबै भाइबहिनीहरुलाई सम्बन्धित सरोकारवाला निकायहरुले यथाशीघ्र खोजतलास गरी उनीहरुले पाउने सहयोग ब्यवस्था र अधिकार प्राप्त गराइयोस् । म कानुन पढेर अन्यायमा परेका सम्पूर्ण म जस्तै पीडामा परेका दाजुभाइ तथा दिदीबहिनीहरुको पक्षमा वकालत गरी न्याय दिलाउन अग्रसर हुने प्रण गर्छु । पीडितलाई न्याय र अपराधीलाई दण्ड सजाय दिइयोस् । कानुन विषय पढेर उच्च आहोदामा पुग्ने मेरो सपना छ । मलाई असल ब्यक्ति बन्नु छ । सबैको साथ र सहयोग चाहिएको छ । अहिले म दुवैतर्फबाट असुरक्षित छु । मैले आमाकै विरुद्ध आवाज उठाउने प्रयास गरेको छु । जसका कारण म आफ्नै आमा मेनुका थापाबाट असुरक्षित छु । मेरो सुरक्षाको ग्यारेन्टीका लागि समेत म सरकारसमक्ष अपिल गर्छु । मेरा शुभचिन्तक जो जसले जहाँजहाँबाट सहयोग गर्नुभयो सवैलाई धन्यवाद । मलाई न्याय नमिलेसम्म तपाईको साथ र सहयोग चाहिन्छ । मेरो पीडालाई सँधैका लागि शान्त पार्ने, श्वास फेर्न र मलाई स्वतन्त्रताको साथ डरत्रास विना नै हिडडुल गर्ने बाताबरण बनाउन म अपिल गर्छु ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७