गोर्खालीको पहरामा ट्रम्प–किमको वहुप्रतिक्षित सिङ्गापुर वार्ता


२२ जेष्ठ २०७५, मंगलवार
Gurkha army singapur

काठमाडौं, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आउँदो मंगलबार सिङ्गापुरमा हुँदैछ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले जनाएको छ । सिङ्गापुरको ट्रम्प र किम भेटवार्तालाई सुरक्षा भने गोर्खा सैनिक दिने भएका छन् । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिङ्गापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको छ ।

Gurkha army
गोर्खा सैनिक । तस्विर : रोयटर्स

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा सांग्र्रिला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिङ्गापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिने जनाइएको छ । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो । उनीहरुको मान्यताअनुसार खुकुरीलाई म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

‘उनीहरु सिङ्गापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेशनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिङ्गापुरको सुरक्षा बलविज्ञ टिम हक्सलीले भनेका छन् ।

उनले थपे, ‘गोर्खाहरु धेरै मजबुत र अग्रपंक्ति फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’ सिङ्गापुर प्रहरीका प्रवक्ताले कति संख्यामा गोर्खाहरु खटाइने छन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेको छैन । आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी एक हजार ८ सय गोर्खाहरु सिङ्गापुर प्रहरीमा कार्यरत छन् ।

ब्रिटिस औपनिवेशिककालको इतिहास र हालको सिङ्गापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

Gurkha army singapur1हाेटल सांग्रिला अगाडि गाेर्खा प्रहरी । तस्बिर ः राेयर्टस

१९ औं शताब्दीको नेपाल–अंग्र्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थालेका हुन् । अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिङ्गापुर र ब्रुनाइमा समेत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फोकल्याण्ड युद्धको साथै हाल सालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

आईआईएसएसका सिङ्गापुरको सुरक्षा बलविज्ञ हक्सलीले भने, ‘गोर्खाहरु सिङ्गापुरको नेतृत्वको विशेष सम्पती हुन्, जसले जातीय विविधता भएको शहरी राज्यमा तटस्थ फौजको रुपमा भीआईपी र दङ्गा नियन्त्रण सुरक्षामा विशेष योगदान दिएका छन् ।’ क्षेत्रीय तनावको समयमा उनीहरुले अन्तर्राष्ट्रिय विद्यालयहरुको सुरक्षा दिनुका साथै कहिलेकाहीं मलेसिया र सिङ्गापुरको सीमा नाकामा पनि उनीहरु तैनाथ गरिन्छन् ।

सिङ्गापुर प्रहरीको वेबसाइटले यो फौजलाई ‘बलिया, सतर्क र दृढ’ भएको जनाउँदै यसले ‘सिङ्गापुरको सुरक्षामा अर्धसैन्य अपरेसनको विस्तारमा काम गर्ने’ जनाएको छ । उनीहरु आफ्नो परिवारको साथमा शहर बाहिर सुरक्षित माउण्ट भर्नोन क्याम्पमा बसोबास गर्ने गर्छन, जहाँ सिङ्गापुरका अन्य नागरिक प्रवेश गर्न पाउँदैनन् ।

क्याम्पमा बसोबास गर्ने एक गोर्खाकी श्रीमतीका अनुसार त्यहाँको जीवन बन्देजपूर्ण छ । ‘हामीलाई मध्यरातपछि कफ्र्यू लाग्छ । यदि बाहिर बस्नै पर्ने भयो भने महिलालाई छुट दिइन्छ तर, पुरुषका लागि छुट छैन,’ उनले भनिन् । ‘बेलुका साढे दश बजेभित्र सुतिसक्नु पर्छ । संगीत र अन्य कुरा प्रतिबन्धित छ । यदि पार्टी छ भने पनि समयमै बन्द गर्नुपर्छ । होइन भने गस्तीमा आएकाले बन्द गरिदिन्छन् ।’

विशेष गरी १८ र १९ को उमेरका युवाहरु नेपालमै छानिएर भर्ती भएपछि तालिमको लागि सिङ्गापुर आउँछन् । तालिमपछि सिङ्गापुर प्रहरीको रुपमा कार्यरत हुने उनीहरुले ४५ वर्षको उमेरमा अवकाश लिन्छन् । उनीहरुका बालबच्चाहरु स्थानीय विद्यालयमा पढ्ने गर्छन् । तर, गोर्खा सैनिकहरुले स्थानीय महिलाहरुलाई विवाह गर्न पाउँदैनन् ।

तालिम र संगठनात्मक भूमिकाको लागि केही संख्यामा पूर्व बेलायती सैनिकका अफिसरहरुले सिङ्गापुर प्रहरीको उच्च नेतृत्वमा सपथ लिएका छन् । ‘सिङ्गापुर प्रहरीको गोर्खा दस्ता र बेलायती सैनिकको सम्बन्ध गहिरो र बलियो छ, उनीहरु एक राम्रो परम्पराको हिस्सा हुन्’ एक बेलायती सेनाका अधिकारीले भनेका छन् ।

ग्रेग टोरोडरडेवे सिम (रोयटर्स)बाट अनुवाद

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७