भ्रष्ट कर्मचारीको संजाल तोड्दै, कुरुप सुन्धारा सुन्दर बनाउने अभियानमा सचिव कोइराला

महानगरपालिकाको अब्यवस्था र भद्रगोल सुधारमा प्रशासकीय प्रमुख


२८ जेष्ठ २०७५, सोमबार
Bidhya Sundar Shakya

काठमाडौं, २८ जेठ । स्थानीय तहमा निर्वाचित भएको १ बर्ष पूरा भइसक्दा समेत काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंबासीलाई विगतमा भन्दा कुनै परिवर्तनको महसुस गराउन सकेनन् । तर सरकारले प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको डेढ महिनामै सचिव यादवप्रसाद कोइरालाले आंशिक सुधारको थालनी गरेका छन् । मेयर शाक्यले एक बर्षमा कुनै पनि परिवर्तनको अनुभूति महानगरबासलाई दिलाउन सकेनन् ।

Bidhya Sundar Shakya
मेयर विद्यासुन्दर शाक्य, प्रशासकीय प्रमुख यादव कोइराला र ज्ञानेन्द्र कार्की ।

रानीपोखरी घाँसघारीमा परिणत भएको छ भने धुलो र धुँवाबाट काठमाडौंबासी विभिन्न किसिमका रोगको शिकार हुनुपरेको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरबासीसामु चुनावमा १ सय दिनमा गर्छु भनेर जाहेर १ सय १ प्रतिबद्धतामा एउटा पनि पूरा गर्न नसकी अक्षम सावित भएका छन् । राजधानीको मेयरको अक्षमताका कारण काठमाडौंमा नेकपा(साविक एमाले)को साख नै गिर्दैगएको छ । र, नेताहरु उनलाई मेयरमा उम्मेदवार बनाउनु नै गम्भीर भूल भएको निष्कर्षमा पुगिसकेका छन् । मेयर शाक्यलाई टेलिशृंखलाको पात्र मुस्कान पासासँग दाँज्न थालेका छन् । मनोरेलदेखि स्मार्टसिटीका कुरा तपसिलका हुन् । धुलो र धुँवाबाट मुक्त काठमाडौं बनाउन पनि उनले सिन्कोसम्म भाँच्ने प्रयास नगरेको महानगरबासीको गुनासो छ ।
महानगरमा कोइराला आएपछि…
काठमाडौ महानगरपालिकामा सर्वाधिकार मेयर शाक्यलाई छ । तर अधिकार प्रयोग गर्न उनले नसकेपछि सरकारले २०७४ चैत २० गते सचिव यादव कोइरालालाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको थियो । कोइरालालाई पठाए लगत्तै सहसचिव राजेश्वर ज्ञवाली र इश्वरचन्द्र मरहट्ठालाई पनि महानगरपालिकामा सरुवा गरिएको छ । उपयुक्त ब्यक्तिलाई जिम्मेवारी दिए परिवर्तन हुन्छ भन्ने कुरा सचिव कोइरालाले देखाएका छ्न । उनी आएपछि महानगरपालिकामा जरा गाडेर बसेको भ्रष्ट समूह तितरबितर भएको छ । महानगरपालिकामा राजाको शासनदेखि खिलराज रेग्मी हुँदै शेरबहादुर देउवाको सरकारसम्म सबै साधन स्रोतमा कब्जा जमाउँदैआएको ज्ञानेन्द्रबहादुर कार्की र हरिबहादुर कुँवरको समूह कोइराला प्रशासकीय अधिकृत भएर आएपछि छिन्नभिन्न भएको छ ।

महानगरपालिकाका मेयर शाक्य, कार्की र कुँवरका कठपुतली जस्तै जता नचायो त्यतै नाच्दैआएका थिए । तर प्रशासकीय अधिकृत कोइरालाले महानगरपालिकाका ठेक्कापट्टादेखि नक्सामा घुस खान पल्किएको ज्ञानेन्द्र कार्कीलाई सरुवा बढुवादेखि सबै अधिकार खोसिदिएका छन् । र, जिन्सी मूल्यांकन समितिको संयोजकमा सीमित गरेका छन् । उनको अधिकार खोसिए पनि प्रशासन विभागको जिम्मेवारीबाट अर्को विभागमा सरुवा गर्न मेयर शाक्यले नै मानेका छैनन् । मेयर शाक्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै कार्कीलाई प्रशासन विभागको प्रमुखबाट नहटाउन र अधिकार दिनुपर्छ भन्दै एक आयुक्तले दबाब दिएको भन्दै आएका छन् । भ्रष्टलाई संरक्षण गर्ने ती आयुक्त को हुन् उनले खुलाएका छैनन् । मेयर शाक्यले कार्कीको सरुवा गर्न कुनै हालतमा तयार नभएपछि उनको अधिकार खोसेर दाह्रा नंग्राविहीन पारिएको छ । कार्की त आफूलाई प्रशासन विभागबाट सरुवा गर्न मेयर शाक्यको ताकतले नसक्ने, केपी ओलीबाहेकले केही गर्न नसक्ने भन्दैआएका थिए । उनलाई सरुवा गर्न नसके पनि प्रशासकीय प्रमुख कोइरालाले अधिकार कटौती गरी थान्को लगाएको महानगरपालिकाका एक अधिकारीले बताएका छन् ।
धरहरा कुरुप पार्ने टहरा डोजर लगाएर हटाइयो
प्रशासकीय अधिकृत कोइरालाले महानगरको जिम्मेवारी लिएको २ महिना नपुग्दै सरकारको जग्गा प्रयोग गरी सुन्धारा वरिपरि मम, सेकुवाका पसल राखेर धुँवाको मुस्लो फाल्ने पसलहरु डोजर लगाएर हटाएका छन् । मेयर शाक्य र उपमेयर चन्द्रप्रभा खड्गीले सुन्धारामा मम र सेकुवा राखेर सहर प्रदूषित पार्नेहरुलाई हटाउन आँट नगरिरहेका बेला उनले २०७५ जेठ ११ गते राति नगर प्रहरीलाई प्रयोग गरी टहरा भत्काएका छन् । धरहरा क्षेत्रको ब्यवस्थापनको जिम्मा लिएको साइडवाकर्स प्रालिका सिद्धबहादुर गुरुङलाई भूकम्पले धरहरा ढलेपछि त्यो निर्माण गर्न लगाउनुपर्नेमा उल्टै त्यस क्षेत्रमा खुलेआम मम र सेकुवाका पसल राखेर ब्रम्हलुट गर्न छुट दिइएको थियो । साइडवाकर्सलाई सुन्धारा क्षेत्रमा मम र सेकुवा बिक्री गर्न छुट दिएर ज्ञानेन्द्रबहादुर कार्कीले मासिक लाखौं रुपैयाँ घुस लिने गरेको कुरा मिडियाले पटक पटक उजागर गर्दैआएका छन् ।

साइडवाकर्सले सरकारी जग्गामा मम सेकुवा बिक्री गरी मासिक १० औं लाख भाडा असुल्ने तर महानगरपालिकालाई बुझाउन कबोल गरेको अति न्यून मूल्यको भाडा समेत तिर्न आनाकानी गर्दैआएको छ । उसले महानगरपालिकालाई करिब १ करोड रुपैयाँ तिर्न बाँकी छ । धरहरा नै कुरुप पार्नेगरी मम पसल खोल्न दिएर भाडा असुल्ने सिद्धबहादुर गुरुङले प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई मासिक लाखौ रुपैयाँ घुस दिने गरेको आरोप लाग्दैआएको छ, आजको साँघुमा समाचार छ । सचिव कोइरालाले धरहरा कुरुप बनाउने टहरा भत्काउनका लागि २०७५ जेठ ११ गते महानगरपालिकामा बैठक बोलाए । मेयरले बोलाउनुपर्ने बैठक उनैले बोलाए । बैठकको एजेन्डाबारे कसैलाई थाहा दिइएको थिएन । दिउँसो बैठक बसिसकेपछि पुनः मेयर र उपमेयरलाई राखेर छुट्टै छलफल गरे । छलफलमा कोइरालाले धरहरा कुरुप पार्ने ममका टहरा हटाउने कुरा गर्दा मेयर शाक्य र उपमेयर खड्गी चुईक्क बोलेनन् । ज्ञानेन्द्र कार्कीमार्फत् सिद्ध गुरुङले मेयर र उपमेयरलाई समेत प्रभावमा पारेकाले उनीहरु नबोलेपछि कोइरालाले साँझ ६ बजे नगरप्रहरीका डीएसपी विष्णु जोशीलाई फोन गरी जहाँ जस्तो अवस्थामा भए पनि सुन्धारा क्षेत्रमा १ सय ७२ प्रहरी लिएर आउनू भन्ने आदेश दिए । जोशी सहित नगर प्रहरी ८ बजे सुन्धारा क्षेत्रमा जम्मा भएपछि भटाभट ममका टहरा भत्काउन सुुरु गरियो । सिद्ध गुरुङको नेताहरुसँग राम्रो पहुँच रहेको र अदालतमा रिट हालेर अन्तरिम आदेश ल्याउने संभावनालाई मध्यनजर गरी कोइराला शुक्रबार साँझ भत्काउन सुरु गर्ने र शनिबार डोजर लगाउने निष्कर्षमा पुगेका थिए । शोभा नै बिगार्ने गरी ममका टहरा राखिएको सुन्धारामा जेठ १२ गते शनिबार डोजर लगाई सबै हटाइएको थियो । सिद्ध गुरुङले दबाब दिने मौकै पाएनन् । सरकारी जग्गामा ब्यवसाय गरी लुट्दैआएका उनलाई जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि आएको १ बर्षसम्म पनि कसैले तह लगाउन सकेको थिएन । तर कोइरालाले गरेर देखाए । गरे हुँदोरहेछ भन्ने कुरा सुन्धारा उदाहरण हो ।

महानगर सुधारमा उनलाई ट्रेड युनियनहरुले पनि खुलेर साथ दिएका छन् । सुन्धाराको सुन्दरता कायम गर्नका लागि कोइरालाले शनिबार डोजर लगाउने दिन मेयर शाक्य भने मोवाइल अफ गरी नुवाकोटतिर लागेका थिए । कुरुप बनाइएको सुन्धारालाई सुन्दर बनाउन डोजर लगाउने कामको नेतृत्व लिनुपर्नेमा नुवाकोटतिर भागेको आरोप मेयर शाक्यमाथि लागेको छ । २०५४ मा निर्वाचित मेयर केशव स्थापितले माइतीघर मण्डलादेखि कलंकी र तीनकुनेको बाटो भत्काउन आफैंले नेतृत्व लिएका थिए । तर वर्तमान मेयर शाक्य भने यता सुन्धारामा डोजर चलाउँदा त्यसलाई छल्न नुवाकोटतिर लागेका थिए । प्रशासकीय प्रमुख कोइरालाले नयाँबसपार्कको ल्होत्से बहुउद्देश्यीयले गरेको अनियमितता र पुरानो बसपार्कमा भ्यू टावर निर्माणको जिम्मा पाएको मनोज भेटवालका बारेमा पनि छानबिन गरिरहेका छन् । एपेक्स विकास बैंक र एनसीसी बैक घोटालामा मुछिएपछि कँडेलले भ्यूटावर निर्माण अनुमति लिने क्रममा १ करोड रुपैयाँ महानगरका अधिकारीलाई घुस खुवाएको भन्न थालेका छन् । भेटवालले भ्यू टावर लिजमा लिंदा महानगरपालिकाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की थिए । भेटवालले १ करोड घुस उनीहरुलाई नै दिएका हुन् कि अरु कसैलाई त्यो भने खुलासा गरेको जानकारी दिएका छैनन् ।
यस्तो छ महानगरमा ज्ञानेन्द्रको भ्रष्ट संजाल
ज्ञानेन्द्रको भ्रष्ट संजालका मुख्यतः हरिबहादुर कुँवर नै हुन् । महानगरपालिकामा कुँवरभन्दा बरिष्ठ र योग्य थुप्रै कर्मचारी हुँदाहुँदै उनलाई ६०–७० करोड रुपैयाँ बजेट भएको वातावरण विभागको प्रमुखको जिम्मा दिइएको छ । वातावरण महानगरपालिकापछिको सबैभन्दा महत्वपूर्ण र धेरै बजेट भएको विभाग हो । ज्ञानेन्द्र कार्की र हरि कुँवर मेयर शाक्यको पार्टीका निकट पनि होइनन् । र, भ्रष्टाचारमा कीर्तिमान कायम गरेका हुन् । कुँवर अहिलेसम्म पनि वातावरण विभागमै बसेर ब्रम्हलुट गरिरहेका छन् । उनी महानगरका अति भ्रष्ट कर्मचारीका रुपमा चिनिन्छन् ।

भूकम्प आएको बेला क्यानडामा जाने क्रममा म्यानपावर सप्लाई गरेको र त्रिपाल खरिदमा कमिसन खानेमध्येका कार्की र कुँवर भए पनि अख्तियारले पूर्णभक्त तण्डुकार, बखत साउद र बुद्धरत्न मानन्धरलाई मात्र मुद्दा चलाइएको थियो । तत्कालीन प्रशासन प्रमुख शान्तराम पोखरेल अवकाश भइसकेका थिए । जिन्सी प्रमुख भएर पनि सरस्वती अधिकारीलाई मुद्दा नचलाई तण्डुकार जस्ता इमान्दार सहसचिवलाई मुद्दा चलाइएको थियो ।
ज्ञानेन्द्र कार्कीका विरुद्ध अहिले पनि अख्तियारले ब्रुमर खरिददेखि विभिन्न २१ वटा बुँदामा भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । विगतमा लोकमानसिंह कार्कीलाई दाजुभाइको नाता लगाएर भ्रष्टाचार ढाकछोप गर्दैआएका कार्कीले पछिल्लो पटक दीप बस्नेतलाई समेत खुसी पारी अनुसन्धान रोक्दैआएका छन् । तर बस्नेतको बहिर्गमनपछि अख्तियारले उनको उजुरीमा छानबिन गरिरहेको छ ।

भूकम्पपछि महानगरपालिकाका लागि खरिद गर्ने बहालामा फर्निचर र कार्पेट कार्कीका घरमा मात्र होइन, नातागोतका घरमा समेत गाडीका गाडी कार्पेट र फर्निचर लगायतका सामान पु¥याएको आरोप छ । सिन्धुपाल्चोक जाने भनेर बिदा लिएर ३० पटक भन्दा बढी विदेश भ्रमणमा गएको अभिलेख अध्यागमन कार्यालयबाट झिकाएर हेरे स्पष्ट हुने कर्मचारी स्रोतले बताएको छ । महानगरपालिकामा बर्षौदेखि सरुवा बढुवादेखि ठेक्कापट्टामा घुस खाएर बीसौं करोड रुपैयाँ आर्जन गर्नेमा कर्मचारीले कार्कीको नाम लिने गर्दछन् ।
घुस संकलन गर्न मालदार शाखा र वडाहरुमा १० बर्षदेखि राखेका उनका एजेन्ट कर्मचारीहरुलाई प्रशासकीय प्रमुख कोइरालाले सरुवा गरिदिएका छन् ।

ज्ञानेन्द्र कार्कीले सेवाग्राहीसँग नक्सा शाखामा घुस उठाउन राखेका नायबसुब्बाद्वय सरु सोती र काशी कोइराला र कार्यालय सहयोगी पद्म तामाङमध्ये सोती र तामाङको सरुवा भएको छ । काशी कोइरालाको अझै सरुवा भएको छैन । पद कार्यालय सहयोगी भए पनि नक्सामा बीचौलियाको काम गरी अकूत सम्पत्ति आर्जन गरेका तामाङले सरुवा गरेपछि रमाना नै बुझ्न इन्कार गरेका थिए । उनलाई डीएसपी बिष्णु जोशीले ४ जना नगर प्रहरी लिएर गई रमाना बुझ्ने कि जबर्जस्ती प्रशासनमा लैजाउँ भनेपछि उनी खुरुक्क रमाना बुझेर खरिद शाखामा गएका छन् । खरिद शाखा तलवबाहेक कुनै आम्दानी नहुने भएकाले नक्सामा मासिक पाँच लाख घुस खाएका तामाङ नजान बलजफ्ती गरेका थिए । तर सहसचिव राजेश्वर ज्ञवालीले रमाना नलिए कारबाही गर्छु भनेपछि तामाङ खरिद शाखामा काम गर्न थालेका छन् । सरु सोती त प्रशासनमा गएर सहसचिव ज्ञवालीसमक्ष नक्सामै राखियोस् भन्दै ग्वाँ ग्वाँ रुन पुगेकी थिइन् । तर उनको रुवाबासीको कुनै सुनुवाइ नभएपछि रमाना लिएर आन्तरिक लेखा परीक्षण शाखामा हाजिर भएकी छन् । सोती लेखापाल हुन् । उनको दरबन्दी लेखामा हो । तर उनी प्रशासनको दरबन्दीमा नक्सा शाखामा जागिर खाएदेखि नै कार्यरत थिइन् । उनले नक्सामै बस्नका लागि ट्रेड युनियनका नेतादेखि सांसदहरुलाई समेत दबाब दिन लगाइन्. । उनका श्रीमान कृष्ण सोती नेपाली कांग्रेस निकट स्थानीय तह कर्मचारी युनियन महानगरका अध्यक्ष हुन् । तर सहसचिव ज्ञवालीले सुन्दै नसुनेपछि उनी सरुवा भएको ठाउँमा हाजिर हुन थालेकी छिन् । जागिरमा प्रवेश गरेदेखि नक्सामा कार्यरत अर्का नासु काशी कोइराला पनि भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् ।

महानगरपालिकामा जागिर खाएदेखि नै नक्सामा कार्यरत उनका ८ वटा त काठमाडौंमा चल्ने ट्याक्सी नै रहेको महानगरपालिकाकै एक कर्मचारीले बताएका छन् । घर गाडीका धनी यिनीमात्र होइन, सरु सोतीले नक्सामा घुस खाएर काठमाडौंमा घर, जग्गादेखि निजी गाडी समेत खरिद गरेकी छिन् । घुसको पैसाले नासु तहका कर्मचारी बर्षमा २–३ पटक बैंकक, सिंगापुर, मलेसिया, दुबई घुम्न जाने गर्दछन् । जुन कुरा उनको फेसबुकमा अपलोड गरिएका तस्वीरहरुले नै पुष्टी गर्दछन् । ट्रेड युनियनका आडमा सोतीका दम्पत्तिले नै लाभ लिने गरेको आरोप छ । ज्ञानेन्द्र कार्कीका अर्का विश्वासपात्र ३४ वडाका लेखापाल मनोज श्रेष्ठ पनि आलेपमा सरुवा भएका छन् । उनी नियमअनुसार १० हजार घर जग्गाको राजस्व लाग्ने भए पनि १ लाख लाग्छ भनेर तर्साएर घुस लिने कर्मचारीका रुपमा चिनिन्छन् ।
जागिर खाएदेखि महानगरको राजस्वमा बसी अकूत सम्पत्ति आर्जन गर्ने नासु भीम केसी पनि हुन् । उनी पनि ज्ञानेन्द्र कार्कीकै विश्वासपात्र हुन् । प्रशासकीय प्रमुख कोइरालाले महानगरपालिका शुद्धिकरण गर्ने अभियान थालेपछि बिदा लिएका कार्कीको घरमै गएर नासु केसीले एमाले नेताहरुको नाम लिंदै केही दिनमात्र हो, कोइरालाको सरुवा भएपनि देखाउनुपर्छ भन्दै ढाडस दिने गरेका छन् । पदले नासु केसी प्रधानमन्त्री ओलीदेखि माधव नेपाल, इश्वर पोखरेलको नाम बदनाम गर्दै सचिव कोइरालाको सरुवा गरिदिने भन्दै ज्ञानेन्द्र कार्कीकोमा जाने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७