संघीय प्रहरी ऐनमा एआइजीको कार्यकाल २ बर्षमात्रै !

डीआइजी ठूले राई र धिरु बस्नेत आइजीपी होलान् ?


२८ जेष्ठ २०७५, सोमबार
thule rai

काठमाडौं, २८ जेठ । सरकारले नेपाल प्रहरीका एआइजीपीको दरबन्दी १५ बाट कटौती गरी ३ वटामात्र कायम गरेको छ । दरबन्दी कटौतीपछि एआइजीका दाबेदार ५ डीआइजीमध्ये ३ जनामात्र बढुवा हुनेछन् । त्यसो त डीआइजीहरु उत्तम कार्की, पवन खरेल, छविलाल जोशी र शरद चन्द पनि एआइजीका दाबेदार हुन् । तर उनीहरु ३० वर्षे सेवाहदका कारण आगामी असार ३० गतेदेखि अनिवार्य अवकाश पाउँदैछन् । उनीहरुले अवकाश नपाउन्जेलसम्म बढुवा प्रक्रिया नै सुरु नगर्ने खेल भइरहेको छ ।

thule rai
ठूले राई र धिरु बस्नेत ।

आगामी असार ३० मा अवकाश हुने लटका डीआइजीहरुहरु बिदा भएपछि बढुवा हुने ३ एआइजीका लागि प्रहरीमा तीव्र प्रतिस्पर्धा हुने अड्कलबाजी भए पनि खेल अर्कै हुन थालेको छ । र, एआइजीका दाबेदार डीआइजीहरु बढुवामा त्यति चासो दिनेभन्दा पनि नहुनेतिर बढी लागेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार संघीय प्रहरी ऐनमा एआइजीको पदावधि २ बर्ष राख्नेबारेमा बहस भइरहेकाले पासा पल्टिएर आइजीपी हुन सकिन्छ कि भनेर ठूले राई र धिरु बस्नेत जस्ता डीआइजीहरुको बढुवामा कम चासो देखिएको छ ।
नेपाली सेनामा रथीको पदावधि २ बर्षको हुन्छ । सेनामा जस्तै प्रहरीमा पनि एआइजीको पदावधि २ बर्ष राख्नेबारेमा छलफल भइरहेको छ । यद्यपि सेनामा आवश्यकता अनुसार रथीको पदावधि थप हुन्छ । विगतमा बालकृष्ण खाँडले पदावधि थपेकै कारण पूर्णचन्द्र थापा सेनापति हुँदैछन् ।
संघीय प्रहरी ऐनमा आइजीपीको पदावधि ३ बर्ष, एआइजीपीको २ बर्ष र डीआइजीको ४ बर्ष बनाउनेबारेमा छलफल भइरहेको छ । ३० बर्षे सेवावधिका कारण अवकाश हुने प्रावधान हटाएर ५६ बर्ष उमेर हदका आधारमा अवकाश हुने ब्यवस्था गर्न लागिएको छ । यदि संघीय प्रहरी ऐनमा एआइजीको पदावधि २ बर्ष कायम भएमा अहिले बढुवा भएकाहरु अवकाश हुनेछन् । आइजीपी सर्वेन्द्र खनालकै कार्यकालमा अहिले बढुवा भएका ३ एआइजी अवकाश हुनेछन् । त्यसपछि बढुवा हुने एआइजीमध्ये एक आइजीपी हुने भएकाले पनि अहिलेको बढुवामा त्यति चासो कम देखिएको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार यदि संघीय प्रहरी ऐनमा एआइजीको कार्यकाल २ बर्ष बन्ने संकेत पाएमा अर्को पटकमात्र बढुवा हुने दाउमा डीआइजी ठूले राई र धिरु बस्नेत लाग्नेछन् ।

आइजीपी हुने प्रष्ट भएकाले पनि उनीहरु बढुवा हुन त्यति चासोका साथ नलाग्ने देखिन्छ । संघीय प्रहरी ऐनमा एआइजीको पदावधि २ बर्ष राख्नै लगाएर भए पनि खनालपछि आइजीपी हुने दाउमा राई र बस्नेत छन् । त्यसैले उनीहरु अहिलेको लटमा तत्काल बढुवा हुने पक्षमा छैनन् । तीन रिक्त एआइजीमा डीआइजीहरु पुस्कर कार्की, मनोज न्यौपाने र पाँचौं नम्बरका सुरेशविक्रम शाह बढुवा भए पनि आश्चर्य नमाने हुने भएको छ । एआइजीपीको पदावधि २ बर्ष कायम भएमा डीआइजी केदार रिजालको समूहबाट आइजीपी हुने संभावना अन्त हुनेछ । ठूले राईहरु एक बर्ष बरिष्ठ भएकाले कार्यसम्पादन मूल्यांकनको नम्बर पनि रिजालभन्दा राई र बस्नेतकै बढी हुनेछ । र, राजनीतिक पहुँचका आधारमा पनि राई र बस्नेतकै पल्ला भारी छ ।
यसैबीच, संघीय प्रहरी ऐनको मस्यौदामा पटक पटक हेरफेर भइरहेको छ । फरक फरक मस्यौदा तयार भएका छन् । पूर्वआइजीपी कुवेरसिंह रानाको संयोजकत्वमा संघीय प्रहरी ऐनको खाका बनाउन कार्यदल बनेको थियो । त्यसले तयार गरेको मस्यौदा पनि छ । प्रकाश अर्याल आइजीपी हुँदा पनि गृहले मस्यौदामा अध्ययन गरी कतिपय बुँदा परिवर्तन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७