अर्थले अड्काई दियो ठेकेदारको ४२ अर्ब भुक्तानी, भुक्तानी मिलाई दिन अर्थमन्त्रीसँग हारगुहार


२९ जेष्ठ २०७५, मंगलवार
thekka

काठमाडौं, २९ जेठ । अर्थ मन्त्रालयले विभिन्न कम्पनीका ठेकेदारको ४२ अर्ब भुक्तानी अड्काई दिएको छ । सरकार ठेक्काको काम गरे बापतको भुक्तानी नभएपछि निर्माण ब्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडासँग भुक्तानी व्यवस्था मिलाई दिन हारगुहार गरेका छन् । ठेकेदारहरुको गुनासो सुनेपछि खतिवडाले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गर्न आफूले पहल गर्ने वचन दिएका छन् । thekka

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री खतिवडाले सम्बन्धित मन्त्रालय तथा विभागहरुसँग समन्वय गरी व्यवसायीको रकम भुक्तानी गर्न पहल गर्ने बताएका हुन् । महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मणकुमार रानाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विभिन्न सरकारी निकायहरुबाट भुक्तानी हुनु पर्ने झण्डै ४२ अर्ब भन्दा बढी रकम प्राप्त नहुँदा देशभरका व्यवसायी ठूलो मारमा परेको जानकारी अर्थमन्त्री खतिवडालाई गराएको छ ।

प्रतिनिधि मण्डलले हेभी इक्युप्मेन्टमा लाग्ने कर मिनाहा गरिदिन आग्रह गरेकोमा अर्थमन्त्री खतिवडाले आफू यसमा सकारात्मक रहेको बताए । यसबाहेक प्रतिनिधि मण्डलले निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि, निर्माण सामाग्रीको अभाव, व्यवसायी मैत्री ऐन कानूनको आवश्कयता, निर्माण कार्यमा सरकारी निकायबीचको समन्वय अभाव लगायतका विषयमा समेत अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधि मण्डलमा महासंघका सल्लाहकार यक्षध्वज कार्की, महासचिव रामशरण देउजा, लोकतान्त्रिक निर्माण व्यवसायी महासंघका अध्यक्ष हुमनाथ कोइराला, निर्माण उद्योग परिषद्का महासचिव केदार कँडेल, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७