‘इमानदार कार्यकर्ताहरुको आँशुले राजनीतिमा ‘होलटाइमर’ बनायो’

लिम्बूहरुको आम स्वभाव, शैली र ‘टोन’ जस्तो हुन्छ । एलपी साँवा लिम्बूको स्वभाव, शैली र ‘टोन’ ठ्याक्कै त्यस्तै छ । उही पूर्वेली शैलीमा झर्रो बोल्छन् । आफूलाई लागेको र देखेको कुरो स्पष्ट राख्छन् । बोल्छन् । बोलेपछि काम गर्छन् । भन्छन्, ‘म बोलीमा होइन काममा विश्वास गर्छु । कर्ममा विश्वास गर्छु ।’ झापा थाकथलो बनाएका लिम्बुको पुरानो घर ताप्लेजुङ हो । ताप्लेजुङको नाल्बुमा २०२४ सालमा जन्मिएका हुन् उनी । तर, उनी सानै छदा बुवाआमा बसाई सरेर झापा झरे । बुवा लाहुरे भए पनि उनले लाहुरको सपना देखेनन् । बरु, उनको दिमागमा लाहुर बिरोधी मनोविज्ञान बिकास भयो । झापाली सम्बन्ध र संगतले उनलाई कम्युनिष्ट बनायो । क्रान्तिकारी बनायो । अखिलको प्राकदेखी काम सुरु गरे ।

२०४२ सालमा झापा जिल्लाको दुधे राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनी डाक्टर बन्ने सपनाले धरान साइन्स पढ्न गए । २०४३ सालमै पूर्वको चर्चित साइन्स क्याम्पस हात्तीसार क्याम्पस धरानको स्ववियु सभापतिमा निर्वाचित भए । त्यसपछि उनको बाटो मोडियो । अलि बढी समय व्यवसाय र बाँकी समय राजनीतिमा लगाए । उनले एमाले निकट बुद्धीजिवी संगठन र व्यवसायीहरुको संगठनमा क्रियाशिल भए । एमाले निकट उद्योगी व्यवसायीहरुको संगठनको उनी संस्थापक सचिव हुन् ।

यसबिचमा उनी नेपाल वैदेशिक रोजगार व्यसायी संघको केन्द्रीय अध्यक्ष समेत भए । उद्योग बाणिज्य संघकाे नेतृत्वमा रहेर काम गरे । यसबिचमा उनको परिचय बढी व्यवसायीको रुपमा स्थापित भयो । तर लिम्बू आफूलाई उद्योगी व्यवसायी मात्रै भन्न तयार छैनन् । उनले भने,‘म मुलत राजनीतिमा नै थिए, यसबिचको केही समय बढी व्यवसायतिर दिएकोले मात्रै मलाई त्यसरी चिनिएको हुन सक्छ । बढी समय व्यवसायमा लगाए पनि समाज परिर्वतन र रुपान्तरणको अभियानमा भने निरन्तर लागिरहेकै थिएँ ।’

त्यही कारण लिम्बूले संविधानसभाको दोस्रो निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५ बाट टिकट पाए । तर, नेपाली काँग्रेसका उम्मेदवारसँग झिनो मत अन्तरले पराजित भए । निर्वाचन जितेपछि काँग्रेस सांसद्लाई जनताले त्यति देख्न पाएनन् । उनी राजधानीमै केन्द्रित रहे । तर, निर्वाचन हारेका साँवा भने जनताको घरदैलोमा निरन्तर पुगिरहे । उनी किन झापा गइरहे त ? ‘कार्यकर्ताहरुको आँशु र जनताको मायाले,’ उनले भने, ‘दोस्रो संबिधानसभाको निर्वाचनमा म झिनो मतले पराजित भएँ । पराजित भए पनि हामीलाई मतदान गर्ने कार्यकर्ताहरुलाई धन्यवाद दिने सभाहरुको आयोजना गरेका थियौं । त्यहाँ एमालेका इमानदार कार्यकर्ताहरु आँशु बगाए । त्यही आँशुले मलाई झापामा तानिरह्यो । तिनै आँशु बगाउनेहरुको सपनाको सुरक्षा गर्न म निर्वाचन मेरो निर्वाचन क्षेत्रमा सधैं गइरहे । बसिरहे ।’

उनी यसपछि राजनीतिको होलटाइमर जस्तै भए । उनले निरन्तर झापा धाइरहे । आफू हार्दा आँशु बगाउने कार्यकर्ताहरुसँग कुम जोडेर जनताको काम गरे उनले । यसबिचमा अधिकांस समय उनले उतै बिताए । भन्छन्, ‘मलाई मेरो निर्वाचन क्षेत्रका हरेक जनताको सुखदुख थाहा छ । म हरेक जनताको घर दैलोमा पुगेको छु ।’ उनको निर्वाचन क्षेत्रमा कही पनि यस्तो ठाउँ छैन, जहाँ उनी नपुगेको होस् ।  त्यसैको परिणाम स्वरूप झापाको पार्टी नेतृत्वले उनलाई सर्वसम्मत रूपमा संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार चयन गरेको छ । यो संवादमा हामीले उनको व्यवसायिक र राजनीतिक जीवनको बारेमा संवाद गरेका छौं । हेर्नुहोस् संवाद :

यसमा तपाईको प्रतिक्रिया