लघुजलविद्युत् आयोजना उत्पादनमूलक कार्यमा


८ भाद्र २०७४, बिहीबार

andhikhola hydro 1

सिन्धुली: जिल्लाका छवटा लघुजलविद्युत आयोजना उत्पादनमूलक कार्यमा लागेका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र जिविसको समन्वयमा लघुजलविद्युत् आयोजना उत्पादनमूलक कार्यमा लागेका हुन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा लघुजलविद्युत् आयोजनालाई उत्पादनमूलक कार्यमा लगाउन ३० देखि ४० प्रतिशतसम्म मेसिनरी सामान किन्न सहयोग गरेको जिविसको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका अधिकृत सन्दीप उपाध्यायले जानकारी दिए।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १३ किलोवाट क्षमताको शाखर खोला लघुजलविद्युत् आयोजनालाई रु १५ हजार, २० किलोवाट क्षमताको बाक्सु खोला प्रथम आयोजनालाई रु १५ हजार, १४ किलोवाट क्षमताको जिनाखु खोला लघुजलविद्युत् आयोजनालाई रु ३९ हजार आर्थिक सहयोग गरेको छ ।

यस्तै २० किलोवाट क्षमताको बाक्सुखोला लघुजलविद्युत् आयोजना द्वितीयलाई कुटानी पिसानी गर्न रु १७ हजार तथा १२ किलोवाट क्षमताको सौ खोला लघुजलविद्युत् आयोजनालाई रु १९ हजार सहयोग गरेको केन्द्रले जनाएको छ । रातको समयमा लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली सदुपयोग भए पनि दिउँसो सदुपयोग नहुँदा त्यत्तिकै खेर गएको विद्युत् सदुपयोग गरी जनजीविकामा सघाउन सहयोग पु¥याउने हेतुले लघुजलविद्युत् आयोजनालाई उत्पादनमूलक कार्यमा लगिएको उपाध्यायको भनाइ छ ।

जिल्लामा दुई किलोवाटदेखि ३६ किलोवाटसम्मका २५ वटा लघुजलविद्युत् आयोजना सम्पन्न भइसकेका छन् । ग्रामीण क्षेत्रमा लघुजलविद्युत् आयोजनाले विद्युत् विस्तार गरे पनि जीवनशैलीमा भने पुरानै शैली भेटिएकाले लघुजलविद्युत् आयोजनालाई दिउँसोको समयमा उत्पादनमूलक कार्यमा विद्युत् प्रयोग गर्ने आयोजनालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आर्थिक सहयोग गर्ने गरेको उपाध्यायले बताए ।

अहिले छवटा लघुजलविद्युत् आयोजनालाई उत्पादनमूलक कार्यमा लगाइएपछि ग्रामीण क्षेत्रका झन्डै पाँच हजार घरधुरी लाभान्वित भएका छन् । गाउँमा अझै ढिकी, जाँतो गर्नुपर्ने बाध्यता भएको, डिजेलबाट मिल चलाउनुपर्ने बाध्यता हुँदा धेरै श्रम र समय खर्च गर्नुपर्ने बाध्यताबाट स्थानीयवासी मुक्त भएका छन् ।

अब छवटा लघुजलविद्युत् आयोजनालाई उत्पादनमूलक कार्यमा लगाइएपछि ग्रामीण क्षेत्रमा कुटानी पिसानी तथा अन्य क्षेत्रमा पनि लघुजलविद्युत् आयोजना प्रयोग गर्न सकिने बताइएको छ । दिउँसोको समयमा लघुजलविद्युत्बाट मिल सञ्चालन गर्ने र रातको समयमा विद्युत् उपभोग गर्न सकिने हुँदा स्थानीयवासीलाई अब ढिकी जाँतो गर्नुपर्ने बाध्यता हटेको बताइएको छ । रासस

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७