रुस विश्वकप मेस्सीलाई अन्तिम मौका


२९ जेष्ठ २०७५, मंगलवार
messi hattrick

काठमाडौं, २९ जेठ । बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी हुन् भन्ने बहस बेला बेला चल्ने गरेको छ । विश्व कप नजिकिदै गर्दा उनले कप्तानी गरेको अर्जेन्टिनाले विश्व कप जित्ने वा नजित्ने विषयमा अनेक कोणबाट बहस सुरु हुन थाल्दछ । यसपटक पनि त्यो बहस केहि अघिबाट सुरु भइसकेको छ । अर्जेन्टिनाका राष्ट्रपति माउरिकियो म्याक्रीले बिहीबारबाट सुरु हुने विश्व कप आफ्नो देशले जित्ने सम्भावना रहेको बताएका छन् ।messi hattrick

तर, राष्ट्रपति टोली प्रति आशावादी भइरहँदा स्वभाविक छ की त्यसको सबैभन्दा ठूलो दबाब मेस्सी माथि नै हुनेछ । मेस्सीको खेल जीवन हेर्ने हो भने असाधारण नै रहेको छ । उनले बार्सिलोनाबाट क्लबका लागि अधिकांश उपाधि जितिसकेका छन् । व्यक्तिगत रुपमा फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बालोन डी’ओर मात्र उनले पाँच पटक जितिसकेका छन् । तर, यति हुँदा हुँदै पनि मेस्सीले अहिले सम्म देशका लागि महत्वपूर्ण उपाधि जित्न सकेका छैनन् ।

उनको कप्तानीमा सन् २०१४ को विश्व कप फाइनल पुगेको अर्जे्न्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । उनको निराशा त्यतिमा टुंगिएन । २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा उनको टोली दुवै पटक फाइनलमा पराजित भएको थियो । अब ३१ वर्ष पुग्न लागेका मेस्सीका लागि यो विश्व कप जित्ने अन्तिम मौकाका रुपमा पनि हेरिएको छ । टोलीको कप्तान रहेका मेस्सी र अर्जेन्टिनाका समर्थकबीचको सम्बन्ध पनि अलिक जटिल नै मानिन्छ । बार्सिलोनमा आबद्ध हुनका लागि उनले सानै उमेरमा अर्जे्न्टिना छाडेका थिए । कतिपयले उनका लागि देश भन्दा पनि क्लब ठूलो मानेको आरोप लगाउने गर्दछन् । तर, यदि उनले रसियामा अर्जेन्टिनालाई विश्व कप दिलाउन सके भने उनी प्रतिको धारणा पक्कै परिवर्तन हुनेछ ।

ओलम्पिकको स्वर्ण पदक विजेता समेत रहेका मेस्सीले अहिले सम्म राष्ट्रिय टोलीका लागि १ सय २६ खेलमा ६४ गोल गरिसकेको छन् । उनले राष्ट्रिय टोलीका लागि सफलता दिलाउन नसक्दा सन्यासको घोषणा समेत गरेका थिए । २०१६ मा चिलिसँगको फाइनलका दौरान भएको पेनाल्टी सुटआउटमा मेस्सी पेनाल्टी गोल गर्नबाट चुकेका थिए । त्यसपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । उनको त्यो घोषणाले फुटबलमा भूकम्प नै ल्याइदियो । उनको महत्व टोलीमा कति छ भन्ने उनलाई दबाब दिन भएको प्रदर्शनबाट पनि बुझ्न सकिन्छ ।

उनले समर्थकहरुको सम्मान पनि गरे र पछि सन्यास फिर्ता लिए । फेरि विश्वकप जिताउने सम्भावना एकपटक उनलाई प्राप्त भएको छ । मेस्सीले यसअघि तीन पटक विश्वकप खेलिसकेको छन् । २ पटक सेमिफाइनल भन्दा अघि बढ्न नसकेको अर्जे्न्टिना पछिल्लो पटक फाइनल पुगेको थियो । ब्राजिलमा भएको विश्व कपमा मारियो गोट्जेको गोलमा जर्मनी च्याम्पियन बनेर फर्कियो भने अर्जे्न्टिना निराश बन्न पुग्यो । यद्दपी व्यक्तिगत रुपमा मेस्सीको प्रदर्शन सम्झनालायक थियो । तर, टोलीलाई विश्व कप जिताउन नसक्दा उनको प्रदर्शन छायाँमा पर्‍यो ।sergio aguero lionel messi argentina 3491158

मेस्सीसँगै अर्जेन्टिनामा अन्य विश्वस्तरीय स्ट्राइकर सर्जियो अगुएरो, गोन्जालो हिगुइन जस्ता खेलाडी पनि छन् । उनीहरु दुई जनाले पनि अर्जे्न्टिनाका लागि कुल ६८ गोल गरिसकेका छन् । अर्जेन्टिनालाई विश्व कप दिलाउने अभियायनमा मेस्सीलाई साथ दिनेमा उनीहरुको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुनेछ । टोलीका अनुभवी गोलकिपर सर्जियो रोमेरो चोटका कारण बाहिरिएपछि बाकी तीन विकल्प छन् । तर उनीहरु तीन जनाले अहिलेसम्म कुल नौं खेल मात्र खेलेका छन् । अर्जेन्टिनाको रक्षापक्ति ठिकै मात्र मानिन्छ । निकोलास ओटामेन्टी, जाभियर मास्केरानो र मार्कोस रोहो जस्ता नाम चलेका रक्षक छन् । त्यसका वावजुद टोली केहि समय अघि स्पेनासँग भएको मैत्रीपूर्ण खेलमा ६–१ ले पराजित भएको थियो । त्यसले पनि अर्जे्न्टिनाले विश्वकप जित्नेमा धेरैले शंका व्यक्त गर्दछन् ।

त्यसअघि विश्व कप छनोटमा पनि अर्जे्न्टिनाको यात्रा कठिन रह्यो । छनोटको अन्तिम खेलमा अर्जे्न्टिनालाई रसिया यात्रा पक्का गर्न जित्नै पर्ने दबाब थियो । यदि त्यो खेल नजितेको भए अर्जे्न्टिना १९७० यता पहिलो पटक विश्व कप खेल्नबाट बञ्चित हुन सक्थ्यो । तर, भाग्यनै मान्नुपर्दछ मेस्सीको ह्याट्रिकसँगै टोलीले जित हासिल गर्यो र रसिया यात्रा पक्का गर्यो । उनी एक्लो त्यस्ता खेलाडी हुन् , जसले खेलको नतिजा उल्टाउने क्षमता राख्दछन् । मेस्सी जस्तो सुकै परिस्थितिबाट पनि बल नियन्त्रण गर्न सक्ने, गोल गर्न र पास मिलाउनमा माहिर मानिन्छन् । उनीलाई सधै देशका महान खेलाडी डिएगो म्यारोडोनासँग तुलना गरिन्छ । म्यारोडानापछि उनले नै देशका लागि विश्व कप दिलाउने धेरैको अपेक्षा पनि छ । मेस्सीलाई पनि राम्ररी थाहा छ, यो उनको अन्तिम विश्व कप हुन सक्दछ । २०२२ मा कतारमा विश्व कप आयोजना हुँदा उनको उमेर ३५ वर्ष हुनेछ ।

यद्दपी उनको फिटनेस र समर्पणलाई कसैले प्रश्न गर्दैन । त्यसले उनी अर्को विश्व कपको टोलीमा रहँदा पनि कसैले आश्चार्य मान्ने छैनन् । तर, ती सब सम्भावनाका बीच अहिलेको मौकालाई मेस्सीले पुरा भन्दा पुरा प्रयोग गर्न पक्कै प्रयास गर्नेछन् । अर्जे्न्टिनाले यसपटकको विश्व कपको समूह चरणमा क्रोएसिया, नाइजेरिया र आइसल्यान्डको सामना गर्नेछ । उच्च फर्ममा रहेका मेस्सी ला लिगाका ३६ खेलमा ३४ गोल गरेर रसिया पुगेका थिए । चार वर्षअघि उनले गोल्डेन बल जितेका थिए । यस पटक पनि उनीबाट व्यक्तिगत रुपमा उच्च प्रदर्शनको आशा गरिएकै छ । व्यक्तिगत क्षमता कीर्तिमानीलाई हेरेर विश्व कप जित्न सक्ने एक्लो कोहि व्यक्ति छ भने त्यो मेस्सी नै हो मानिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७