नेपालमा लोडसेडिङ विनाको विश्वकप, के भन्छन् कुलमान घिसिङ ?


३० जेष्ठ २०७५, बुधबार
101997363 101907188 world cup charts promo 976

काठमाडौं, ३० जेठ । अघिल्लो विश्वकप काठमाडौं विश्वविद्यालयका आफ्ना साथीहरूसँग भाडामा लिएको प्रोजेक्टरमा हेरिरहँदा झ्यापझ्याप बिजुली गएको सिन्धुपाल्चोकका प्रवीण सापकोटाले बिर्सेका छैनन् ।101997363 101907188 world cup charts promo 976

सन् २०१४ को विश्वकप उनले समर्थन गरेको टोली जर्मनीले नै जित्यो । तर, नेपालमा त्यसबेलाको उर्जा संकटका कारण कतिपय खेल हेर्न कठिन भएको उनी सम्झिन्छन् । उनले भने, ‘ठ्याक्कै आफूले समर्थन गरेको टोलीले गोल हान्न लाग्दा वा गोल खान लाग्दा बत्ती गएको त्यतिबेलाको अनुभव अझै ताजै छ । ‘त्यसबेला छटपटी भएर मोबाइलको डेटा चलाएर के भइरहेको छ भनेर हेर्ने गरिन्थ्यो । अझ तीन–चार घण्टा बत्ती आएन भने त औडाहा नै हुन्थ्यो ।’ त,र प्रवीण सापकोटा जस्ता फुटबलका नेपाली समर्थकहरूलाई यसपालि विगतका विश्वकपको जस्तो छटपटी छैन । कुनै समय दिनको १८ घण्टासम्म रहेको लोडसेडिङ यस वर्षबाट औपचारिक रूपमा अन्त्य भएको हालै नेपाल विद्युत् प्राधिकरणले घोषणा गरेको छ । विद्युत् प्राधिकरणको घोषणाबाट आफू उत्साहित भएको सापकोटा बताउँछन् ।

इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङको आठौं सेमेष्टरमा अध्यननरत उनी भन्छन्, ‘यसपालि ढुक्कले विश्वकप हेर्न पाइने अपेक्षा गरेको छु, लोडसेडिङ नहुँदा एकदम रमाइलो हुनेवाला छ ।’ यसअघि विश्वकप फुटबलको आयोजना भएको साल सन् २०१० मा नेपालमा सातामा ९८ घण्टासम्म र सन् २०१४ मा साताको ८४ घण्टासम्म लोडसेडिङ भएको तथ्यांक विद्युत् प्राधिकरण अन्तर्गतको भार प्रेषण केन्द्रसँग छ ।

साधारणतया बर्खायाममा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले त्यसबेला सुक्खायाममा भन्दा कम लोडसेडिङ हुने गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ यसपटक विश्वकप फुटबलको समयमा बिजुली आपूर्ति नियमित हुने बताउँछन् । उनले भने, ‘विश्वकपको समयमा लोडसेडिङ हुँदैन । तर कम भोल्टेज र प्राविधिक समस्याहरू देखिन सक्छ, स्थानीयस्तरमा ट्रान्सफरमरमा केही समस्याहरू देखियो भने बिजुली आपूर्ति प्रभावित हुन सक्छ ।’

उनले यस पटक रातिको समयमा रुस विश्वकप फुटबलका खेलहरू भएकाले बिजुलीको खपत भने थोरै बढ्ने उल्लेख गरे । घिसिङ भन्छन्, ‘माग केही बढे पनि सबै जना विश्वकपमै केन्द्रित हुन्छन्, खेलका कारणले उद्योगहरू कम चल्न पनि सक्छन् । त्यहीं भएर खासै धेरै माग बढ्ने देखिँदैन ।’ कुनै निश्चित एक टोलीको समर्थक नरहे पनि कार्यकारी निर्देशक घिसिङ स्वयम्ले पनि समय मिलेसम्म विश्वकप फुटबलका खेलहरू हेर्ने योजना बनाएका छन् । नेपालमा झण्डै ३६ लाख विद्युत प्राधिकरणका ग्राहक छन् र कूल जनसंख्याको ७२.५ प्रतिशत हिस्सामा टेलिभिजनको पहुँच पुगेको बताइन्छ ।

अर्जेन्टिनाले जितेको सन् १९८६ को विश्वकप फुटबलका खेलहरू त्यसबेला भर्खरै प्रशारण थालेको नेपाल टेलिभिजनले ‘रेकर्ड गरेर’ प्रशारण गरेको थियो । त्यहीँ विश्वकपमा विश्वका चर्चित फुटबल खेलाडी म्याराडोनाको खेल कौशल देखेका नेपालीहरू त्यसबेलाबाट आर्जेन्टिनाको समर्थक बन्न थालेको बताइन्छ ।

ब्राजिल, अर्जेन्टिना जस्ता हस्ती टोलीलाई नै धेरै नेपालीहरूले समर्थन गर्ने गरेका छन् । हाल १०४४.६ मेगावाट बिजुली स्वदेशमै उत्पादन गरिरहेको नेपालले भारतबाट १,८३४ गिगावाट बिजुली खरिद गरिरहेको हालै सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
देशको जनसंख्याको करीब १८ प्रतिशतले नवीकरणीय ऊर्जाबाट विद्युतमा पहुँच कायम गरेका छन् । तर, अझै पनि ग्रामीण क्षेत्रका प्रत्येक १० मध्ये ३ परिवार अँध्यारोमा बस्न वाध्य छन् । त्यस्ता कैयौं परिवार यस पटक पनि विश्वकप फुटबलको रन्कोबाट टाढै हुने देखिन्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७