२०२६ को विश्वकप उत्तर अमेरिकाको तीन देशले गर्ने

काठमाडौं, जेठ ३० । २०२६ को विश्वकप फुटबल उत्तर अमेरिकाको तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । रसियामा बसेको विश्व फुटबल महासंघ (फिफा)को बैठकबाट तीन मुलुक क्यनाडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने मत पाएका हुन् ।

बिपक्षीमा मरक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको थियो। फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।

प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ । १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन् । पहिलोपटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

सन् २००२ पछि विश्वकप प्रतियोगिता संयुक्त रुपमा आयोजना भएको छैन। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए। विश्वकप फुटबल सन् २००६ मा जर्मनी, सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलले आयोजना गरेका थिए ।
विश्वकप फुटबल यसपटक रसियामा हुदैँछ । सन् २०२२ को विश्वकप फुटबल भने कतारले आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्