अब कालीगण्डकीमा र्‍याफ्ट्ङि बन्द


३ असार २०७५, आईतवार
rafting kali gandaki

पर्वत, ३ असार । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्‍याफ्ट्ङि) जलयात्रा रोकिएको छ ।
विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले ¥याफ्टिङ प्रभावित बनेको हो ।rafting kali gandaki

विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्‍याफ्ट्ङि) सहज रूपमा सञ्चालन गरिए पनि यस वर्ष बर्सातको समय छिटो शुरु भएका कारण र्‍याफ्ट्ङि सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय र्‍याफ्ट्ङि व्यवसायी होमबहादुर पुनले जानकारी दिए । ‘अघिल्लो वर्ष जुन महिनाको १५ सम्म र्‍याफ्ट्ङि गर्न सकेका थियौ ।’ उनले यस वर्ष जुन महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा नआएको बताए ।

छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा र्‍याफ्ट्ङि एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्‍याफ्ट्ङिका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ ।

सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई-तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखिबाट शुरु हुने र्‍याफ्ट्ङि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृष्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन र प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७