राजमार्गका ३ सय रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा दर्ता

अख्तियारद्वारा मालपोत र नापी कार्यालयका हाकिमसहित १५ जना पक्राउ


४ असार २०७५, सोमबार
ciaa

काठमाडौं, ४ असार । धादिङको राजमार्ग क्षेत्रका वन, सरकारी पर्ति र खोलाखोल्सीसमेत ३ सय रोपनी भन्दा बढी जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गर्ने मालपोत र नापी कार्यालयका हाकिमहरुलाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी कार्यालयका तत्कालीन प्रमुख दीपक सापकोटा, मालपोत अधिकृत कुशध्वज खत्री लगायत छन् । सापकोटा हाल कलंकी नापी कार्यालयका प्रमुख हुन् । उनी नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका दाहिने हात हुन् ।

ciaa
धादिङमा विगत १५ बर्षदेखि राजमार्गसँग सटेका र वरिपरिका वन क्षेत्रदेखि खोलाका जग्गा पनि घुस लिंदै गैरकानुनी रुपमा दर्ता गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान गरेपछि एकपछि अर्को सरकारी जग्गा ब्यक्तिका नाममा गैरकानुनी दर्ता गरेको खुल्दै जान थालेपछि अख्तियारले विस्तृत अनुसन्धान सुरु गरेको थियो ।
धादिङका मालपोत र नापी कार्यालयको प्रमुख सहित ४० भन्दा बढी कर्मचारी गैरकानुनी रुपमा जग्गा दर्तामा संलग्न रहेको पाइएपछि अख्तियारले स्थलगत रुपमै अनुसन्धानमा खटाएको थियो । गैरकानुनी रुपमा ब्यक्तिका नाममा जग्गा दर्ता गर्नेमध्ये ८ जना हाकिमहरुको त निधन नै भइसकेको छ । धादिङमा सरुवा हुने हरेक मालपोत र नापीका प्रमुखले घुस लिएर सरकारी वन समेत किन्चित डर नमानी दर्ता गरेको पाइएको छ ।

अख्तियारले आइतबार १५ भन्दा बढी कर्मचारीलाई पक्राउ गरेको छ । सबैलाई पक्राउ गर्न खोज्दा सूचना लिक भएकाले फरार भएका छन् । अनुसन्धानका क्रममा जो मालपोत र नापी कार्यालय प्रमुखका रुपमा जान्छ, उसले जथाभावी रुपमा राजमार्ग वरिपरिका जग्गाहरु गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको खुलेको थियो । राजमार्ग वरिपरि र खोलाका मूल्यवान जग्गाहरु यसरी आर्थिक चलखेलमा दर्ता गर्ने दोषी कर्मचारीउपर अख्तियारले विशेष अदालतमा आजै मुद्दा बुझाउने तयारी गरेको छ । हालको चलनचल्तीको मूल्य अनुसार करिब १ अर्बभन्दा बढी मूल्यको जग्गा विभिन्न समयमा सरुवा भएर जाने कार्यालय प्रमुखले गैरकानुनी रुपमा दर्ता गरेको खुलेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७