नेकपामा केन्द्रीय सदस्य छनोटको कार्यविधि नै भएनः गोबिन्दबहादुर बटाला


४ असार २०७५, सोमबार
Govinda Bahadur Batala 1

वि.सं २०३० साल साउन ३२ गते कालिकोट जिल्लाको साविक मालकोट गाविस हालको नरहरिनाथ गाउँपालिकामा जन्मेका गोबिन्दबहादुर बटाला तत्कालीन माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा विघटित जनमुक्ति सेना नेपालका ब्रिगेड कमाण्डर हुन् । तथापि उनी भरखरै एकीकृत भएका दुई ठूला कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा समेत पारिएनन् । जहाँ ४ सय ४१ जनाको जम्बो केन्द्रीय समितिमा नेकपा एमालेबाट २ सय ४१ जना र माओवादी केन्द्रबाट २ सय जना छनौट गरिएको थियो ।

बटाला २०५२ साल फागुन एक गतेदेखि नै माओवादीले सुरु गरेको जनयुद्धको क्रममा युद्ध मोर्चामा सामेल हुँदा चार पटक घाइते भए । साथै जनयुद्धकै क्रममा भाइ कर्णबहादुर बटाला र बहिनी अमृतकुमारी बटला सहिद भए । २०५२ सालदेखि नै राजनीतिक रुपले पूर्णकालीन बनेर नेकपा माओवादी पार्टीमा आवद्ध भइसकेका बटलाले दर्जनौं लडाईका मोर्चामा कमाण्डिङ गरे भने तीन दर्जन भन्दा धेरै युद्धका मोर्चामा सामेल भए । उनले छापामार युद्धकला, पहाडी युद्धकला, जंगल युद्धकला, सहरी युद्धकला, ब्याटल काष्ट, फिल्ड काष्ट, आर्टीलरी हतियार, स्मल आर्म (हतियार र सपोर्ट हतियार) लगायतको तालिम लिएका थिए । बटलासँग नयाँ पेजले गरेको कुराकानी :

Govinda Bahadur Batala 1

० तपाई माओवादी पार्टीमा किन लाग्नुभयो ?
राज्यबाट समाजमा भएको अन्याय, अत्याचार, शोषण, दमन, थिचोमिचो, भ्रष्टाचार, हत्या, हिंसा, महिलामाथि हुने बलात्कार, जातीय, क्षेत्रीय लिंगीय विभेद, चोरी डकैती जस्ता कार्यविरुद्ध तत्कालीन माओवादी पार्टीले लिएको लक्ष्य, बिचार र सिद्धान्त, कार्यनीति र रणनीतिबाट प्रभावित भएर माओवादी पार्टीले सचालन गरेको जनयुद्धमा सामेल भएको हुँ ।
० तपाई युद्धको मोर्चामा कहाँ कहाँ सामेल हुनुभयो ?
म २०५२ सालदेखि नै माओवादी पार्टीमा लागेर काम गरें । २०५८ सालदेखि पूर्व क्षेत्रमा युद्धको मोर्चाहरुमा संलग्न भएँ । क्रमशः पश्चिमका मोर्चाहरु अछामको मंगलसेन, दाङको सदरमुकाम घोराही, दैलेखको नौमुले, पूर्वका रुम्जाटार, तनहुँको बन्दीपुर, लगायतका थुप्रै मोर्चाहरुमा संलग्न भएँ । साथै थुपै्र फायरिङ एम्बुुसहरुमा पनि नेतृत्व गरेको छु । सिन्धुपाल्चोकको चेहेरे मोर्चा, दोलखाको मैनापोखरी, काठमाडौंको साखु प्रहरी चौकीमाथिको आक्रमणमा म आफै नै कमाण्ड गरेको थिएँ । यसरी ४५ वटा ठूला मोर्चाहरुमा म सामेल भएँ ।
० युद्धमा सामेल हुँदा तपार्इंलाई अविस्मरणीय लागेको कुनै घटनाहरु छन् कि ?
वास्तवमा म सामेल युद्धहरुमध्ये बन्दीपुर मोर्चालाई लिन सकिन्छ । जहाँ हाम्रो जनमुक्ति सेनाको ठूलो क्षति भयो । हामी सेनामाथि आक्रमण गर्ने योजना अनुसारै अघि बढेका थियौं । त्यो मोर्चामा हाम्रो कमाण्डर रामजी र बटालियन कमिसार दिनेशले शहादत प्राप्त गर्नुभयो । म पूर्वी क्षेत्रमा कार्यरत रहँदा उहाँहरुसँगै काम गरेको थिएँ । यसरी हामीले यो मोर्चामा ७० जना आफ्ना सहयोगी साथीहरु गुमाउन पुग्यांै । यो नै जीवनमा अविस्मरणीय घटनाका रुपमा लिने गरेको छु । त्यो मोर्चाको असफलतामा म असाध्यै भावुक बने । जुन मोर्चामा विजय गर्ने उद्देश्य थियो । त्यो प्राप्त हुन सकेन ।
० माओवादी पार्टी शान्ति प्रक्रियामा आइसकेपछि पनि पुरानै मुद्दा मामिलाका कारण धेरैले दुःख पाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग बनेको छ । समस्या समाधान होला त ?
हिजो युद्धकालमा भएका कतिपय मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै समाधान गर्नुुपर्दछ । अहिलेको वामपंथी सरकारले यो विषयको टुङ्गो लगाउनुपर्दछ । अहिले पनि मेरो विरुद्धमा कालीकोटमा मुद्दा छ । त्यसैगरी सभामुख कृष्णबहादुर महरा, अध्यक्ष प्रचण्ड, मोहन बैद्य किरण, डा. बाबुराम भट्टराईलगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको विरुद्धमा जनयुद्वकालीन मुद्दाहरु अहिले पनि बाँकी नै छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले निष्पक्ष रुपमा छानबिन गरेर निष्कर्षमा पुग्नुपर्दछ । किनकि त्यस्ता मुद्दाहरुको छिनोफानो भएन भने कुनैपनि बेला ब्यूँतिन सक्नेछन् । अहिले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाईको सरकार छ । यही सरकारले पुराना मुद्दाहरुको टुङ्गो लगाउनुपर्दछ ।

बटलाले कमान्ड गरेका फौजी मोर्चाहरु
० सर्लाही जिल्लाको बयलबास प्रहरी चौकीमाथिको आक्रमण, चार थान हतियार कब्जा ।
० दोलखा जिल्लाको मैनापोखरीमा शाही सेनामाथिको फायरिङ एम्बुस, अत्याधुनिक हतियार एलएमजी एक थान, टुइल्च मोर्टार एक थानसहित १६ थान हतियार कब्जा
० सिन्धुपाल्चोक जिल्लाको चेहेरेमा शाही सेनामाथि फाइरिङ एम्बुस अत्याधुनिक हतियार दुई थान एलएमजी सहित १२ थान हतियार कब्जा ।
० काठमार्डौ जिल्लाको साँखु प्रहरी चौकीमाथि आक्रमण, २९ थान राइफल र सटगन हतियार कब्जा ।
० सर्लाही जिल्लाको हरिपुर प्रहरी चौकीमाथि आक्रमण, पाँच थान हतियार कब्जा ।
० काभ्रे जिल्लाको नोर्केमा शाही सेनामाथि फायरिङ एम्बुस, अत्याधुनिक हतियार चार थान कब्जा ।
० काभ्रे जिल्लाको हात्तिछापमा शाही सेनामाथि फायरिङ एम्बुस, पाँच थान अत्याधुनिक हतियार कब्जा ।
० काभ्रे जिल्लाकै दाह्रेगौंडा छत्रेबाजमा गरिएको फाइरिङ एम्बुसमा जी ३६, तीन थान एलएमजी, एक थान टुइल्स मोर्टारसहित २० थान अत्याधुनिक हतियार कब्जा गर्नुका साथै २० जना शाही सेनाको मृत्यु ।
० काभ्रे जिल्लाको काभ्रेभन्ज्याङमा शाही सेनामाथि फाइरिङ एम्बुस, दुई थान हतियार कब्जा ।
० सिन्धुपाल्चोक जिल्लाको खाडीचौर जिरो किलोमा शाही सेनामाथि फायरिङ एम्बुस दुई थान हतियार कब्जा ।

 

० अहिले पुराना जनयुद्वकालीन मुद्दाहरु कति छन् ?
देशभर गरी झण्डै दशहजारको हाराहारीमै राजनीतिक मुद्दाहरु छन् । अहिले कुन अदालतमा कसका मुद्दाहरु कति छन् ? त्यसका डाटाहरु निकालेर सरकारले खोज अनुसन्धान गर्दै सरकारकै तर्फबाट विशेष टिम बनाउन जरुरी छ । जस्ले यस्को निकास निकाल्न सकोस् । त्यसको सत्य तथ्य बाहिर आउन जरुरी छ ।
० २००७ सालमा मुक्ति सेना र राणाकालीन सेना दुबैलाई आम माफी दिएको थियो । तत्कालीन माओवादी पार्टीले शान्ति प्रक्रियामा हस्ताक्षर गर्दा नै यस्ता विषय जोडदार रुपमा किन उठाइएनन् ?
वास्तवमा नेतृत्वको कमजोरी रह्यो । युद्वको बेलामा एकाथरी सरकारी र अर्को विद्रोही पक्ष रहन्छ । निर्देशनमै लड्न जाने हो । त्यसको क्षति दोहोरै भएको हुन्छ । यसरी दुबैतर्फ आममाफी दिएर जाने कुन विधि वैज्ञानिक हुन्छ ? नेताहरुले नै निक्र्यौल गर्नुपर्दछ । सत्य निरुपण तथा मेलमिलाप आयोगले त तथ्यांक निकाल्नेमात्रै हो । उसले पाएको कार्यविधि र क्षेत्रका आधारमा काम गर्ने हो । तथापि राजनीतिक हिसावले कसरी समाधानमा लाग्ने भन्ने कुरा त नेताहरुकै हो । किनकि त्यो जनयुद्ध कुनै व्यक्तिगत लाभका लागि थिएन । देशमा आमुल परिवर्तनका लागि गरिएको थियो । गणतन्त्रका लागि गरिएको थियो । राजतन्त्रलाई अन्त्यका लागि गरिएको युद्धमा सामेल योद्धाहरुले अहिले पनि दुःख पाउनु एकदमै बिडम्बना नै मान्नुपर्दछ । तर, तिनै योद्धाहरुको कारण देशमा समावेशी, संघीयता र धर्मनिरपेक्षता सहितको संविधानसभा मार्फत् गणतान्त्रिक संविधानको निर्माण भएको छ । जनयुद्ध राजनीतिक उद्देश्य र लक्ष्य प्राप्तीका लागि गरिएको थियो । त्यसैकारण त्यही तरिकाले हल हुनुपर्दछ ।

 

संलग्न भएका फौजी मोर्चाहरु
१. कालिकोट सान्निकोट रेड, २. अछामको विनायक, ३.जुम्लाको रारालिइ रेड, ४. कालिकोटको कोटवाडा, ५. कालिकोटकै पात्मघाट रेड ६. डोल्पाको दुनै, ७. कालिकोटको मुम्रा भिडन्त ८. कालिकोटको माल्कोट भिडन्त ९. दैलेखको नौमुले रेड १०. बाजुराको पाण्डुसेन रेड ११. दाङको घोराही रेड १२. अछाम साँफेबगर १३. सिन्धुलीको भिमान रेड १४. ओखलढुंगाको रुम्जाटार मोर्चा १५. सिराहाको लहान रेड १६. सर्लाहीको बयलबास कमाण्डो रेड १७. खोटाङ जिल्लाको ऐसेलु खर्क मोर्चा १८.भोजपुरको रिपिटर टावर १९. धनुषाको यदुकुवा रेड २०. दोलखाको मैनापोखरी फायरिङ एम्बुस २१. दोलखाकै ठाडी दौलाई भिडन्त २२. सिन्धुपाल्चोकको चेहेरे एम्बुस २३. काठमाडौंको साँखु रेड २४. सर्लाहीको हरिपुर रेड २५. बाराको अमलेखगञ्ज तीन नम्बर पुलमा फाइरिङ एम्बुस २६. दोलखाको चरिकोट आक्रमण २७. सिराहाको बन्दीपुर मोर्चा २८. सिन्धुलीको सानदाने भिडन्त २९. काभ्रेपलान्चोकको नार्के फायरिङ एम्बुस, ३०. काभ्रेको घर्तिछाप फाइरिङ एम्बुस ३१. मकवानपुरको फापरबारी झुरझुरे मोर्चा ३२. काभ्रेको पनौती मोर्चा ३३. काभ्रेको काभ्रेभञ्ज्याङ फायरिङ एम्बुस ३४. काभ्रेकै दाह्रगौडा छत्रेबास फायरिङ एम्बुस ३५. सिन्धुपाल्चोकको ठोकर्पा भिडन्त ३६. सिन्धुपाल्चोकको खाडीचौर आक्रमण ३७. सिन्धुपाल्चोककै सदरमुकामको रिपिटर टावर मोर्चामा सामेल ।

० अहिले दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको छ । माओवादी पार्टीलाई प्रचण्डले एमालेमा लगेर बुझाए भन्ने आरोप छ नि ?
माक्र्सवाद, लेनिनवाद र माओवाद नै माओवादी पार्टीले अगाल्दै आएको मार्गनिर्देशक सिद्वान्त हो । जुन साथीहरुले एमालेलाई बुझाइयो भन्नुभएको छ त्यो होइन । हाम्रा यी विचारहरु महाधिवेशनबाटै टुङ्गोमा पुग्नेछन् । यसरी हामीले भन्ने गरेको एक्काइसौं शताव्दीको जनवाद र तत्कालीन एमालेले भन्ने गरेको बहुदलीय जनवाद जुन मदन भण्डारीले प्रतिपादन गर्नुभयो, त्यसलाई आगामी महाधिवेशनबाट टुङ्गोमा पुग्ने भन्ने निर्णयमा पार्टी एकता भएको हो । यो नै शीर्षतहका नेताहरुमा भएको समझदारी हो । यसको मिलनबिन्दू नै महाधिवेशनबाटै टुङ्गिनेछ । अहिलेको अवस्थामा न त माओवादीले माओवाद एमालेलाई बुझाएको हो, न त एमालेले जनताको बहुदलीय जनबाद नै माओवादीलाई बुझाएको हो । यसरी फरक पृष्ठभूमिबाट आएका दुबै पार्टीको फरक अस्तित्वमा रहेर सुरक्षित राख्दै महाधिवेशनबाट बिचारको टुङ्गे लगाइने समझदारी भएको छ । अहिले पार्टी एकतामा कुनै पक्षलाई पनि नोक्सानी भएको छ भन्ने मलाई लाग्दैन । भोलि माओवाद वा जनयुद्ध नै दस्तावेजमा नराख्ने अवस्था आएमा पार्टीभित्रै संघर्ष गरौंला । एक पक्षले अर्को पक्षलाई बिलय गर्ने वा खाने भन्ने होइन ।
० पूर्व माओवादी केन्द्रबाट केन्द्रीय सदस्य बनेका दुईसय जनाको बारेमा त तिखा टिप्पणीहरु पनि आए । धेरै जना असन्तुष्ट भए नि ? पार्टीमा योगदानको कदर नहुनुका साथै वर्ग, लिङ्ग, क्षेत्र, जातजाति केही पनि मिलाइएन भन्नेहरु पनि धेरै छन् नि ?
वास्तवमा योग्यता र क्षमताको कदर हुन नसकेकै अवस्था हो । माओवादी केन्द्रको लामो समयदेखि नै निर्वाचित केन्द्रीय समिति थिएन । अहिले बनेको ४ सय ४१ जनाको केन्द्रीय सदस्यको हकमा कुनै विधिका आधारमा बनाइएन । तत्कालीन एमालेको केन्द्रीय समिति निर्वाचित भएका कारण विवादमा आएन । तर, माओवादीको भने त्यो होइन । भूगोल, लिङ्ग, जनजाति, महिला, वर्गको प्रतिनिधित्व हुनेगरी केन्द्रीय सदस्यको चयन गरिएन । निर्वाचन नै नभएको अवस्थामा केन्द्रीय समिति सदस्यको छनौटको कार्यविधि नै भएन । यो अवस्थामा यो संगठनले कम्युनिष्ट पार्टीले लिएको लक्ष्य हासिल गर्न सक्तैन भन्ने लाग्दछ । यसरी कमरेड प्रचण्ड र ओलीबीच भएको समझदारीबाट मात्रै एकता तार्किक निष्कर्षमा पुग्यो भन्न सकिदैन । जत्तिबेला केन्द्रदेखि वडा कमिटीसम्म मर्ज भई एकढिक्का भएर अघि बढ्दैनन् तबसम्म एकता बलियो हुन सक्दैन । अहिलेको केन्द्रीय समिति निर्माण गर्ने क्रममा धेरै साथीहरुको असहमति छ । सहिद परिवार, बेपत्ता परिवार, घाइते, अपांग, दलित, आदिबासी जनजाति, महिलाको प्रतिनिधित्व केन्द्रीय समितिमा भएन । यसरी भूगोलको पनि सही प्रतिनिधित्व हुन सकेन ।
विचार, लक्ष्य र उद्देश्य सहितको संगठन निर्माण गर्न सकियो भने मात्रै हाम्रो पार्टीले लिएको लक्ष्य प्राप्त हुन सक्छ । अहिले त कतिपयै जुनियर साथीहरु केन्द्रीय समितिमा परेका छन् भने कतिपय जिल्ला इन्चार्ज नपारीकनै जिल्ला कमिटी सदस्यलाई फेरि केन्द्रीय सदस्य बनाइएको अवस्था छ । यो विषयमा एकसय जना पूर्व पोलिटव्यूरो साथीहरु मिलेर नेतृत्वलाई लिखितै रुपमा ज्ञापनपत्र बुझाएका छौं ।
० लाभका पदमा बस्ने र नेतृत्वमा रहने कम्युनिष्ट पार्टीका नेता र बुर्जुवा पार्टीका नेताहरुबीच बिलासी जीवन बिताउने सन्दर्भमा कुनै भिन्नता देखिदैन । केही मापदण्ड बन्दैन ?
अहिले लाभका पदमा संसद, मन्त्री र अन्य पदमा बस्नेहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्दछ । साथै कम्युनिष्ट पार्टीका सबै सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्दछ । यसका लागि पार्टीभित्रै अन्तसंघर्ष र बहस चलाउन जरुरी छ । यही अवस्थाका लागि हामीले जनयुद्ध सुरु गरेका होइनौं । अहिले समाजमा हुने भ्रष्टाचारमा कुनै परिवर्तन भएको छैन । कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बने पनि जनतामा कुनै तात्विक अन्तर देखिंदैन । पार्टीमा लागेर अथाह सम्पत्ति जम्मा गर्नेहरुलाई पहिला कारबाही हुनुपर्दछ । अहिले सरकारमा बसेर गरिने भ्रष्टाचारको नियन्त्रण कम्युनिष्ट पार्टीले नै गर्नुपर्दछ ।
० कम्युनिष्ट सरकारले ल्याएको बजेटमा पनि चुनावी घोषणापत्रमा लेखिए जस्तो भएन नि ?
अहिले ल्याइएको बजेटमा म लगायत कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र नेपाली जनता सन्तुष्ट छैनन् । अहिलेको बजेट अग्रगामी, जनताका आधारभूत आवश्यतकालाई सम्वोधन गर्ने खालको हुनेछ भन्ने आशा आम जनतामा थियो । हाम्रो विचार र लक्ष्य पनि त्यही थियो । जनताको मन छुने क्रमभंगता गर्नसक्ने, छलाङ मार्ने खालको बजेट आउनेमा हामी विश्वस्त थियौं । अहिलेको बजेट त पुरानै बजेटको निरन्तरताको रुपमा आयो । यो आगामी पाँच वर्ष चल्ने स्थायी सरकार हो । राम्रो तयारी गरिएन र अर्को पटकको बजेटमा पनि यही अवस्था रह्यो भने जनताले हामीलाई विश्वास गर्दैनन् । यो बजेट घोषणपत्रमा भनिए जस्तो समाजवाद उन्मुख पनि भएन ।( डायरी एक्सप्रेस साप्ताहिकबाट )
बटाला, माओवादीका ब्रिगेड कमाण्डर तथा पूर्व जनमुक्ति सेना तथा पोलिटव्यूरो सदस्य थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७