दयाहाङ्गका फ्यानलाई दुःखको खबर, अब ‘ग्याप’ राखेर मात्र फिल्म खेल्ने


४ असार २०७५, सोमबार
Dayahang Rai
फाइल फोटो

काठमाडौं, ४ असार । अभिनेता दयाहाङ्ग राई अहिलेका चर्चित कलाकार हुन् । उनको प्रशंसक नेपालमा मात्र होइन, विदेशमा समेत छन् । तर, उनलाई पछिल्लो समय प्रशंसासँग गाली पनि गरिरहेका छन् शुभचिन्तकहरुले । त्यो हो–दयाहाङ्ग फिल्म छनोट नगरी काम गर्छन् । जसका कारण दयाहाङ्गले महानायक राजेश हमालकै पथमा यात्रा गरिरहेको टिप्पणी समेत चल्न थालेको छ । हुन पनि एकै वर्षमा उनका चार–पाँच वटासम्म फिल्म रिलिज हुँदा दर्शकहरु नै दिक्क हुने गरेका छन् ।Dayahang Rai

अर्कोतर्फ निर्माता–निर्देशकहरुको उनीसँग बेग्लै गुनासो हुन्छ । त्यो हो, चलचित्रको प्रमोसनका लागि समय नदिएको । एकैसाथ २–३ वटा चलचित्रमा व्यस्त हुने दयाहाङले बनिसकेको चलचित्रको प्रमोसनका लागि समय निकाल्न सजिलो पनि छैन । दयाहाङ स्वयम्ले पनि बल्ला यो कुरा महसुस गर्न थालेका छन् । त्यसैले केही ग्याप राखेर मात्रै फिल्म गर्ने उनले योजना बनाएका छन् । सोमबार आयोजित ‘भैरे’ को ट्रेलर रिलिज कार्यक्रममा दयाले आफ्नो व्यस्तताबारे स्पष्ट पार्ने प्रयास गरे ।

‘म पनि चाहन्न मेरा धेरै चलचित्र एकैचोटी रिलिज होउन्, तर, फरक समयमा गरेका चलचित्र पनि कहिलेकाही एकैचोटी रिलिज हुन आइपुग्छन्,’ उनले भने । त्यसो त अहिले पनि उनको हातमा तीन वटा चलचित्र छन्, आप्पा, नीरफूल र साइँली । तर, यी चलचित्रको सेड्यूल फरक–फरक भएकाले एकै पटक नआउने उनले स्पष्ट पारे ।

भैरेको विषयमा चर्चा गर्दै दयाहाङले शुरुमा आफूलाई यो फिल्मको अफर आउँदा अस्वीकार गरेको बताए । ‘मैले यो मेरो टाइपको फिल्म होइन भनेर शुरुमा पन्छाएको थिएँ,’ उनले भने । तर पछि निर्देशक एभरेष्ट सूर्य बोहाराले आफ्नो ड्रिम प्रोजेक्ट भन्दै उनलाई कन्भिन्स गरेका थिए । फिल्मको ट्रेलरबाट आफू सन्तुष्ट बनेको दयाहाङले बताए । आउँदो साउन ४ गते रिलिज हुने भैरेमा दयाहाङका साथमा वर्षा शिवाकोटी, सुरक्षा पन्त, बुद्धि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७