म जीवनको सबैभन्दा अप्ठ्यारो क्षणमा छु : राजन मुकारुङ

२०३१ सालमा भोजपुरको दिल्पामा जन्मेका राजन मुकारुङ साहित्यिक आन्दोलन ‘सिर्जनशील अराजकता’का तीन अभियन्तामध्ये एक हुन् । राजन सहित हाङयुग अज्ञात र उपेन्द्र सुब्बाको ‘सिर्जनशील अराजकता’ले मुलधार मानिएका अथवा संस्थापन ठानिएका नेपाली साहित्यलाई गजबसँग हल्लाइदिए । सुरुमा कविता मार्फत चर्चा कमाएका राजनले पछिल्लो समयमा उपन्यास मार्फत गहिरो हस्तक्षेप र प्रभाव जमाइरहेका छन् । उनको उपन्यास ‘दमिनी भीर’ ले २०६९ सालको मदन पुरस्कार जिते । उपन्यास हेत्छाकुप्पा पनि उत्तिकै चर्चित भयो । यसअघि उनको सेतो आरोहण (२०५६), प्रारम्भ प्रक्षेपण (२०५८), जिकिरको गद्दी (२०५९) र मिथक माया (२०६१) कविता संग्रह प्रकाशित छन् । ‘किरात संस्कार’ उनको अर्को पुस्तक हो । सीमान्तकृतहरुको मुद्दा र पात्रको पक्षमा उभिने राजनको व्यक्तिगत स्वभाव, शैली, अभिरुची र सपना बारेमा नयाँ पेजका रबिन राईले गरेको कुराकानी :

 तपाईं कहाँ जन्मिनुुभयो ?
— भोजपुरको दिल्पा, नागी । अहिले टेम्के–मैयुङ गाउँपालिका– ४ ।
 कस्तो परिवारमा ?
— सामान्य परिवार हो । ढिँडोरोटोको परिवार भनुम् न ।
 बाल्यकाल कसरी बित्यो ?
— ढिकीजाँतो, खनजोत यस्तै त हो गाउँमा ।
 लेखनमा कसरी आउनुभयो ?
— इगोले आएँ । विशेष त श्रवण मुकारुङ, मेरा जेठा दाइ । उनी काम गर्न सारै अल्छे थिए । लेख्नचाहिँ पहिल्यैदेखि राम्रो लेख्ने । उनीसित इगो थियो ।
 लेखकबाहेक अरु केही बन्ने सपना थियो कि ?
— थुप्रै थिए । पत्रकार बन्छु भन्ने थियो । चार वर्ष गरेँ । फिल्मको कलाकार बन्छु भन्ने थियो । काठमाण्डू आएपछि त्यतिकै सेलायो । गायक पनि बन्छु कि भन्ने लाग्या थियो । त्यो बेलाका गायनमा लाग्ने साथीभाइको दुःख देखेर आफैं पछि हटेँ ।
 कसैले ल्याएको हो या आफै आउनुुभयो ?
— म त आफैं आएँ साहित्यमा त ।

नेपाली साहित्यको एक अराजक विद्यार्थी हो । परम्परा नमान्ने किच्चक मान्छे हो । आफ्नो मुद्दामा कहिल्यै सम्झौता नगर्ने मान्छे हो ।

 सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?

— सायद, सबैभन्दा लडाइँ, दुःख त मैले नै गरेँ हुँला भन्ने लाग्छ । किनभने, म आफैं साहित्यिक आन्दोलन थालेर आएको हुँ ।

 आफ्नै नजरमा राजन मुकारुङ के हो र को हो ?
— नेपाली साहित्यको एक अराजक विद्यार्थी हो । परम्परा नमान्ने किच्चक मान्छे हो । आफ्नो मुद्दामा कहिल्यै सम्झौता नगर्ने मान्छे हो ।
 मान्छेहरुले तपाईंलाई कसरी चिनोस् जस्तो लाग्छ ?
— लडाकु हो भनून् ।

 आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
— म नयाँ पुस्तालाई सधैं साथ दिने मान्छे हुँ । नयाँ विचारहरूको, आन्दोलनहरूको आगमनले मलाई सधैँ ऊर्जा दिन्छ । म उनीहरूसितै विमर्शमा हुन्छु । म मेरो मुद्दामा सम्झौता गर्दिनँ । यही मेरो सबल पक्ष हो ।
 अनि कमजोर पक्ष चाहिँ नि ?
— परम्परागत सोंच बोकेका मान्छेहरूलाई म पहिल्यै ‘बाइ’ गर्दिन्छु । उनीहरुसित बसेर कन्भिस गर्नेतिर लाग्नुपर्ने हो । कमजोरी यही लाग्छ ।
 कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
— उसले रुचाउने विषयबाटै धारणा बनाउने हो ।
 तपाईंको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
— सत्ताको असमावेशी चरित्रले नै मलाई अराजक बनाएको हो ।
 तपाईंलाई कतिखेर रीस उठ्छ ?
— जब मेरो कुरा बुझ्छन् र पनि नबुझेकोजस्तो गर्छन्, रीस त उखुमै उठिहाल्छ ।
 अनि कतिखेर भावुक हुनहुन्छ ?
— म जसलाई गाली गर्छु, जब ऊ असह्य भएर रुन थाल्छ । तब म साँच्चीकै भावुक बन्छु ।
 तपाईंलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
— परम्परागत किचलो देख्यो कि म उत्तेजीत भइहाल्छु ।

 तपाईं कतिको संयमित हुनुहुन्छ ?
— युवा हुँदा त खासै थिइनँ । अचेल ठिक्कैको छु ।
 अनि कतिखेर खुुशी हुनुहुन्छ ?
— मेरो नजरका असल मान्छेहरू कहीँकतैबाट सम्मानित भए भने म खुशी भइहाल्छु ।
 तपाईंका दुःखहरु के हुन् ?
— युवा जोश, जाँगर हुँदा सबैतिर पुग्न सक्थेँ । सबैका साथ थिए । अब बूढो हुँदै आइयो, आफ्नाहरू नै बिरन्तरी हुँदै जाँदै छन् । एक्लिँदै छु भन्ने लाग्दै छ । दुःख यति नै हो ।
 अनि तपाईंको सुखचाहिँ नि ?
— साठीको पूरै दशक म एकदमै दुःख, अभाव, तनाव, सङ्घर्षहरूबाट गुज्रिएँ, जीवनको बोध गरेँ । त्यही नै मेरो सुख हो ।

 तपाईको जीवनको सबैभन्दा दुखद् क्षण ?
— ठीक यहीबेला हो मेरो दुखद् क्षण । अनेक अफवाहका कारण मेरो पारिवारिक जीवन टुट्यो, सम्हाल्न सकिनँ । आफन्त, समाज सबै मसँग टेढिए, सबै टाढा भएका छन् । जोसँग नाम जोडिएर मेरो सबै बिगर्‍यो, ऊ पनि मसित टाढा भइसकेको अवस्था छ । शुभचिन्तकहरू बाउँठिएका छन्, सामाजिक बहिस्कार नै गर्नुपर्छ भन्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । मानिसको जीवनमा यहाँभन्दा दुखद् क्षण के नै हुन सक्छ र ?

 अनि खुशीको क्षणचाहिँ नि ?
— जब बाजे भएको खबर सुनेको थिएँ, त्योजस्तो खुशी अरु पाएको छैन ।
 तपाईंको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
— ‘गोरखा सैनिक आवाज’ पत्रिकाको जागिरबाट जब बाहिरिएँ । काठमाण्डूमा जागिर सकिएको थियो । श्रीमती कलेज पढ्ने, छोराहरू बोर्डिङ पढाउनुपर्ने, महँगो घरभाँडा अहो ! त्योभन्दा अप्ठ्यारो मोड त के होला ।
 त्यसलाई के को बलमा पार गर्नुभयो ?
— मिथक माया– कविता कृति, किरात संस्कार– पुस्तकको हाते बिक्रीले बलियो साथ दियो । कान्छी फुफू छेत्रकला राई र दिदी बसन्ता राईको ठूलो सहयोग प्राप्त भयो ।
 अहिलेसम्म तपाईंले गर्नुभएको सबैभन्दा सही निर्णय ?
— साठी साल साउनदेखि ‘होल टाइमर लेखक बन्छु’ भन्ने निर्णय ।
 अनि गलतचाहिँ नि ?
— सत्तरी सालेदेखि काठमाण्डू छोड्ने निर्णय गरेँ । लड्नुपर्ने बाँकी धेरै थिएछ यहाँ । प्राप्ति कम भयो हाम्रो आन्दोलनको ।
 सबैभन्दा पछुुतो लागेको क्षण ?
— पछुतो नै त मानेको छैन, अहिलेसम्म ।
 अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
— श्रीमती कामदार भएर विदेश गएको बेला ।
 अन्तिम पटक कहिले रुनुु भयो किन ?
— त्यसयता खासै रोएको छैन ।
 तपाईंलाई कस्तो मान्छे मन पर्छ ?
— गल्ती गरोस् तर लुकाउन नखोजोस् ।

लेखक, राजन मुकारूङ ।

 अनि कस्तो मन पर्दैन ?
— गल्ती गरेर पनि सरी नभन्ने मान्छे ।
 तपार्इं कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
— सत्ताभक्ति मात्र गाइरहने मान्छे सारै नै घृणाका पात्र हुन् मेरा ।
 फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
— अचेल त सजिलो छ । कि पढ्ने हो कि त क्याण्डी क्रस खेल्ने हो ।
 लेखनबाहेक तपाईंको रुचीको क्षेत्र ?
— गायन, अभिनय र पोलिटिक्स ।
 तपाईंलाई असाध्यै मन पर्ने पुुस्तक ?
— चिनिया लेखक लि–सिन तियानको ‘चम्किलो रातो तारा’ ।
 अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
— फिक्सन, नन–फिक्सन दुवै ।
 दोहोराएर पढ्नुुभएको पुुस्तक ?
— इन्द्रबहादुर राईको ‘आज रमिता छ’ ।
 कस्ता फिल्म हेर्नुुहुन्छ ?
— दक्षिण भारतका एक्सन मुभीहरू मन पर्छन् । इन्जोय गर्ने त हो ।
 तपाईंलाई मनपर्ने फिल्म ?
— मन पर्ने त हिन्दी सिनेमा छ नि ‘फायर’ ।
 दोहोराएर हेर्नुभएको फिल्म ?
— चाइनिज सिनेमा ‘द पोस्ट म्यान अन द हिल’ ।
 तपाईंलाई मनपर्ने हिरो हिरोइन ?
— नेपालीमा दयाहाङ राई र नम्रता श्रेष्ठ ।
 तपाईंलाई रुवाएको फिल्म ?
— हिन्दी फिल्म ‘वागवान’ ।
 मनपर्ने गायक–गायिका ?
— राजेशपायल राई, अन्जु पन्त ।
 मनपर्ने ठाउँ ?
— कतारको जमेलिया मरुभूमि ।
 मनपर्ने खाना ?
— सुँगुरको दालखुट्टी र भात ।
 मनपर्ने पोशाक ?
— पेन्ट, सर्ट र लङ कोट ।
 तपाईंलाई मनपर्ने नेपालका लेखक ?
— उपेन्द्र सुब्बा ।
 अनि विदेशका मनपर्ने लेखकचाहिँ नि ?
— चिनुवा अचिवे ।
 नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
— विश्वप्रकाश शर्मा ।

नेपाली समाज अझै ‘गणेशवाद’मा आधारित छ । सुमेरु पर्वत घुम्ने कुमारवाद चाहिने हो ।

 तपाईंको आदर्श को हो, किन ?
— चिनुवा अचिवे । उनले जुन मुद्दा लेखे, नेपाली साहित्यमा म त्यही मुद्दा लेख्न अग्रसर छु ।
 आफैंप्रति तपाईंलाई केही गुनासो छ कि ?
— जति गर्नु पर्ने त्यति गर्न सकेको छैन । गरिरहेको छैन । गुनासो त हुने भइहाल्यो नि ।
 अनि यो समाजप्रति चाहिँ नि ?
— नेपाली समाज अझै ‘गणेशवाद’मा आधारित छ । सुमेरु पर्वत घुम्ने कुमारवाद चाहिने हो ।
 यदि अहिलेसम्म बाँच्नुुभएको जीवनको कुनै अध्याय हटाउने मौका मिल्यो भने कुुनलाई हटाउन चाहनुहुन्छ ?
— सबै दुःखमय छ, संघर्षमय छ । माया लाग्छ, हटाउन सकिन्न ।
 फर्केर हेर्दा के लाग्छ, जीवन के रहेछ ?
— निरन्तर संघर्ष हो जीवन । हेत्छाकुप्पाजस्तै ।
 बाँकी योजना र सपना कस्ता छन् ?
लेख्ने, लेख्ने र लेख्ने नै हो ।
 अबको तपाईंको अधिकतम् सपना के हो ?
— नेपाली साहित्यलाई विश्व जगत्मा पुर्‍याउन टेवा दिन सकौं भन्ने हो ।
 तपाईंलाई कसरी सम्झना गरुन् भन्ने लाग्छ ?
— आफ्नो मुद्दामा निरन्तर लड्ने र सत्ता–स्वादको स्वार्थबाट जहिल्यै टाढा रहेको मान्छे भनेर सम्झिऊन् ।

प्रतिक्रिया दिनुहोस्