शेष घलेको लगानी मयुर यातायातमा, अब सर्वसाधरणले पनि शेयर हाल्न पाइने


८ असार २०७५, शुक्रबार
mayur shesh ghale

काठमाडौं, ८ असार । उपत्यकाबासीलाई सेवा दिइरहेको मयुर यातायातमा अष्ट्रेलियन अर्बपति शेष घलेले लगानी गर्ने भएका छन् । गैरआवासीय संघका निवर्तमान अध्यक्ष समेत रहेका घलेले मयुरमा लगानी गर्न लागेका हुन् । कम्पनीमा ७० प्रतिशत भन्दा बढी गैरआवासीय नेपालीहरुको लगानी रहेको छ ।mayur shesh ghale

अर्बपति घलेले मयुर यातायात प्रालिमा लगानी गर्न लागेको प्रालिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिएका छन् । ‘हामी नेपालको उत्कृष्ट बस व्यवसायी बनेर देखाउने कोशिसमा छौं’ं, उनले भने, ‘गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष शेष घलेले समेत कम्पनीमा लगानी गर्दै हुनुहुन्छ ।’ उनले थपे, ‘हामी दुई महिनापछि सर्वसाधारणलाई पनि शेयर निष्कासन गर्ने तयारी थालेका छौं ।’ श्रेष्ठका अनुसार अहिले मयुरमा ३५ जना भन्दा बढी शेयरधनी रहेका छन् । जसमध्ये ३० प्रतिशत नेपाली लगानीकर्ता छन् । कम्पनीमा नेपाल टेलिकम, गैरआवासीय नेपालीेसँग लगानीका बारेमा छलफल भइरहेको जनाइएको छ ।

कम्पनीले उपत्यकाभित्र र बनेपासम्म गरी हाल २४ वटा सुबिधा समपन्न बस सञ्चालन गरिरहेको छ । थप २० वटा नयाँ बसका लागि यातायात व्यवस्था विभागबाट रुट परमिट लिएको छ । मयुरले आउँदो असोजसम्म थप ४५ वटा बस किन्ने तयारी गरेको छ । त्यसपछि चीनबाट इलेक्ट्रिक बस किन्ने कम्पनीले जनाएको छ । कम्पनीले चक्रपथ परिक्रमा, नागढुङ्गा–कलंकी–त्रिपुरेश्वर– कोटेश्वर–बनेपा हुँदै पनौती र धुलीखेलसम्मको रुट इजाजत लिएको यातायात व्यवस्था विभागका सुचना अधिकारी हरिराम नागिलाले जानकारी दिएका छन् । उनका अनुसार संशोधित निर्देशिका र कार्यविधि लागू गरेपछि ३० कम्पनीले रुट इजाजत लिइसकेका छन् ।

हालसम्म ३० कम्पनीका देशभर ३१७ वटा बसले रुट इजाजत लिएका हुन् । काठमाडौंमा मात्रै २०२ बसले रुट इजाजत लिएको अधिकृत नागिलाले बताए । मयुरका बसहरुलको अधिकतम गति ४५ किलोमिटर प्रतिघण्टा कायम गरिएको छ । दुर्घटना न्युनीकरणका लागि मयूरले गति सिमित गरेको हो । कम्पनीले दशैं अघि उपत्यका बाहिर पनि बस सञ्चालन गर्ने तयारी अघि बढाईसकेको छ । बाहिरका जिल्लाहरु कपिलवस्तु, पोखरा र ओखलढुङगामा बस सञ्चालन गर्ने तयारी कम्पनीले गरेको हो । थपिने नयाँ २० वटा बसको सम्पुर्ण तयारी पुरा भएको कम्पनीले जनाएको छ । बसको लागि आवश्यक पर्ने जनशक्तिदेखि पाकिङसम्मका सबै काम सकिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७