कामीरिता शेर्पाको प्रश्न, ‘कञ्चन मेरो हिमालको हिउँमा कसले कालो थोपरिदियो ?’

रमेश लम्साल-सिबी अधिकारी
काठमाडौँ, ९ असार : ‘म रेकर्ड राख्न भनेर सगरमाथाको चुचुरो गएको हैन, मेरो काम नै पर्वतारोहण पथप्रदर्शन हो, मलाई सगरमाथा जाँदा आफ्नै घर गाउँ अनि परिवारलाई भेटन गए जस्तो लाग्छ,’ यो भनाइ हो, विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पाको ।

‘कतिपटक शिखरमा पुगियो मैले गनेको त छैन, तर चढ्दा चढ्दै २२ पटक पुग्यो । साथी भाइले रेकर्ड राखिदिएका छन् । यसैमा त खुशी लाग्छ’ शेर्पाको अनुहारमा नयाँ उत्साह देखिन्छ । मान्छेहरु कोही खुशीका लागि जान्छन्, कोही प्रेरणाका लागि त कोही सौख पूरा गर्न चुचुरोको यात्रा तय गर्छन् । यो एउटा स्वभाविक प्रक्रिया नै हो शेर्पा लवजमा कामीरिता बढी आत्मविश्वासी लाग्छ ।

हुनत आरोही शेर्पा रेकर्ड तोड्छु र अरुलाई उछिन्छु भनेर कहिल्यै भौतारिनुभएन । खासमा म अर्काको रेकर्ड तोड्छु र अरुलाई बिगार्छु भन्ने हिसाबले सगरमाथा चढेकै होइन् । जति पटक चढेपनि सधैँ पहिलो पटक नै पुगे जस्तो लाग्छ, किन नि हाम्रो प्रतिप्रश्न थियो उनलाई । शेर्पा भन्छन्– ‘विश्वको सर्वोच्च चुलीको विशेषता नै त्यस्तै छ, लाग्छ प्रकृतिले हामीलाई स्वर्गको एउटा टुक्रा नै धर्तीमा ल्याइदिएको छ ।’

‘पहिलो पटक पुग्ने र धेरैचोटी पुग्नेका अनुभव फरकरफरक होलान, मेरा पनि केही त्यस्ता अनुभव छन्, जसले मलाई हरेक वर्ष शिखरको बाटोमा बोलाइरहन्छ’ शेर्पाको आँखामा अर्को चमक देखा पर्छ ।

‘हिउसँग मेरो राम्रै मित्रता छ, तर पछिल्ला वर्षमा हिउँमा कालो कालो धब्बा देखिन थालेको छ, कञ्चन मेरा हिमालको हिउँमा कसले कालो थोपरिदिएको छ, मलाई पटक्कै चित्त बुझ्दैन’ जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर देखिन थालेको छ शेर्पा भन्छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथाको २२ पटक आरोहण गर्ने सोलुखुम्बु थामेका ४८ वर्षीया कामीरिता शेर्पा अझै तीन-चार वर्ष सगरमाथाको चुचुरामो पुग्ने सोचमा छन्। हाम्रा हिमालमा हिउँ घट्दै गएका छन् । बाह्रैमास हिउँ रहने क्षेत्र पछिल्लो दिन कालो पहाडमा परिणत भएको छ । ‘हाम्रा पूर्खाले हाम्रा लागि राखिदिएका हिमाल हामीले हाम्रा छोरानातीका लागि पनि उस्तै राखिदिनुपर्छ, ठूला राष्ट्रले वातावरणमा पारेको प्रभावका कारण हाम्रा हिमालले दुःख पाउनु त भएन नी रु हामीले दुःख पनि भोग्नु भएन नी ?’ उनको गुनासो छ ।

सन् १९९४ को मे १३ मा उच्च हिमाली क्षेत्रमा भारी बोक्ने भरियाको रुपमा शेर्पा शिखरमा पुगेका थिए । त्यसपछि हरेक वर्ष शेर्पा कहिले भरिया, कहिले सहयोगी त कहिले डोरी टाँग्ने पात्रको रुपमा शिखरमा पुगिरहेका छन्, सन् २०१५ मा मात्रै गोरखा भूकम्पको धक्काले शेर्पालाई शिखर पुर्याउन सकेन । हिम पहिरो नजिकैबाट नियालेका छन् शेर्पाले ।

शेर्पा भनेकै हिमालमा खेल्ने जाती भने जस्तो लाग्छ रे उनलाई । ‘हामीलाई धेरैजसो समय हिमालले चिन्छ, हिमाललाई हामी पनि चिन्छौँ, तर प्रकृतिसँग त केही लाग्दो रहेनछ । आँखै अगाडि साथीको शव कुल्चदै हिँड्नु पनि दुःखको कुरा हुँदोरहेछ’ सन् २०१४ को हिमपहिरो सम्झन्छन् उनी। हिपहिरोमा परी १४ शेर्पा सहित कूल १९ जनाले ज्यान गुमाए त्यसवर्ष ।

‘कहिलेकाहीँ सगरमाथा पनि रिसाउँछ कि जस्तो लाग्छ ’ कहिलेकाहीँ त्यस्तै हुन्छ, यस वर्षको वसन्त ऋतुमा धेरै क्षति हुन पाएन । ‘कहिले शान्त र विशाल लाग्छ हिमाल’ शेर्पाको आफ्नै परिभाषा छ । हामीले पनि हाम्रो सम्पत्तिको जर्गेना गर्नुपर्छ, सगरमाथामा फोहोर बढेकोमा गुनासो छ उनको । ‘लाग्छ एउटा डम्पिङ साइट जस्तै भएको छ, अक्सिजनका सिलिण्डर यत्रतत्र भेटिन्छन्, मान्छेलाई सगरमाथाको संरक्षण गर्नुपर्छ भन्ने ज्ञान नभएर त होला नी रु यसले हामीलाई कहाँ पुर्याउँछ रु चिन्तित छन् शेर्पा ।

उनलाई एउटा विषयमा असाध्यै दुःख लाग्छ, ‘चुचुरोमा पुर्याउने हामी शेर्पा, बाटोभरी दुःख कष्ट सहने पनि हामी तर हाम्रो नाम लिन धेरैलाई अप्ठ्यारो लाग्छ, मानौँ कि आरोहणमा जानेहरु आफै शिखरमा पुगेका हुन् ।’

‘हामीले सहयोग गरेर, उस्तै पर्दा बोकेर शिखर पुर्याएकाहरुको नाम र दाम दुबै छ, तर हामीलाई सम्झन पनि चाहादैनन् उनीहरु । आखिर समाज नै स्वार्थी छ, क्या रे रु ‘स्वर्गको टुक्रा देखेर आएकाहरु त इमान्दार बनिदिए हुन्थ्यो नी,’ शेर्पाको गुनासो छ ।

सगरमाथाको नौ पटक सफल आरोहण गरेकी महिला कीर्तिमानी आरोही ल्हाक्पा शेर्पालाई पनि सगरमाथाको चुचुरोमा पुग्नु कुनै अनौँठो लाग्दैन । यो त नियमित काम हो उनी भन्छिन्।

उमेरले ४४ काटेकी शेर्पाको जोस् समान्य मानिसको भन्दा फरक छ । स्थायी घर संखुवासभा गाविस–५ की शेर्पा परिवारका साथ अहिले अमेरिकाको न्यूयोर्कमा बस्छन् । सात समुद्रपारिको सुखसयलले छेक्दैनन्, उनलाई ।

मातृभूमि र प्रकृतिको प्रेमसँग अटुट नाता गाँसिएको छ, उनको । आरोहणको मोहले छोड्दैन, त्यसैले हरेक वर्ष आरोहणको याममा दुई महिना समय निकालेर नेपाल आउँछिन् उनी । सगरमाथा १० पटक चढेर पाकिस्तानको केटु हिमाल चढ्ने योजना छ उनको । तर सगरमाथाको नाममा केही गलत भइरहेकोप्रति भने उनको दुखेसो छ । कोही अनुमति लिएर आरोहण गर्ने, कोही ओरोहण नै नगरी शिखर पुगेको भनेर प्रचार गराउने प्रवृत्ति बढेको छ, ल्हाक्पा दुखेसो गर्छिन्।

दुबै आरोहीको बुझाइमा सगरमाथामा विगत भन्दा केही बदलिएकै छ, तर आम रुपमा उस्तै छ । यस वर्षको वसन्त ऋतुमा ९० प्रतिशत बढी आरोहण सफल भएको छ । हिउँ पर्ने मात्रामा भने केही कमी आएको छ । फोहोर बढेको छ । त्यसलाई तत्काल नियन्त्रण गर्नुपर्ने देखिन्छ । ‘गोरखा भूकम्प’का कारण खुम्बु आइसफल चाँही राम्रो भएको छ । “मौसमले साथ दिएरै यस पटक आरोहण अलि राम्रो भयो,’– आरोही शेर्पाले भने।

सगरमाथामा बढ्दै गएको फोहरले कीर्तिमानी आरोहीलाई चिन्तित तुल्याएको छ । शिविर–२ र शिविर–४ मा धेरै फोहर देखिएको छ । ल्हाक्पालाई मानिसको व्यवहार मन पर्दैन । ‘हाम्रो सम्पदालाई हामी आफैले फोहोर गरेर के गर्न खोजिरहेका छौ’ उनको प्रश्न छ ।

कामीरितालाई विदेशी नागरिकले धेरै मन पराउँछन् । कोही घर बार जोडौँ भन्छन्, कोही मेरोमा काम गरिदिओस् भन्ने चाहन्छन् । कोही मेरो बारेमा लेख्न चाहन्छन् त कोही मलाई सुन्न चाहन्छन् । उनी भन्छन् ‘मलाई अझै केही समय यही पेशालाई नै निरन्तरता दिउँ जस्तो लाग्छ ।’

अल्पाइन एशोसिएसनमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकको रुपमा काम गरेको उनी अहिले मुख्य पथप्रदर्शकको रुपमा जिम्मेवारी पाएर काम गरिरहेका छन्। पथप्रदर्शक भएको नाताले अझै केही वर्ष निरन्तरता दिने सोच छ, मलाई नपुग्दो के छ र ? बढी आशावादी देखिए कामीरिता । आफ्नो २७ वर्षे सगरमाथा आरोहणको जीवनमा अनेकन आरोह अवरोह थिचोल्दै अहिले चर्चाको शिखरमा रहेका कामीरितालाई शेर्पाको संरक्षण नभएकोमा चिन्ता लागेको छ । सन् १९५३ मा तेञ्जिङ नोर्गे शेपा र विदेशी सर एडमण्ड हिलारीले सगरमाथा चढे । तर, जो चढे पनि शेर्पालाई अगाडि नलगाई चुचुरोमा पुग्न सम्भवै थिएन र अझै हुनेवाला पनि छैन ।

अहिले जुनसुकै रेकर्ड कायम गरे पनि शेर्पा बिना कसैले चढेको छैन । आरोहण क्रममा शेर्पाले ओछ्यान बनाउने, ओडाउने, खाने पिलाउनेदेखि बाटो डोर्याउनेसम्मका शेर्पाले गरेको कामको मूल्यांकन कहिलै भएन ।

अहिलेसम्म चुचुरोमा पुगेर नाम कमाउने धेरै छन्, तर उसलाई सहयोग गर्ने शेर्पाको नाम कहिल्यै लिदैन, मलाई दुःख लाग्छ यो हाम्रो राष्ट्रको कमजोरी नै हो । आरोहण गर्ने सम्बन्धित व्यक्ति वा कम्पनीले शेर्पाको एक पटक पनि नाम लिइदिए हुन्थ्यो कामीरिता फेरि विगतमा नै फर्किए ।

नेपालमा १०-१२ पटक चढेका धेरै छन्, तिनलाई राज्यले केही व्यवस्था गर्नुपर्छ । नेपालको पर्यटन चिनाउने चाँही शेर्पा तर उनीहरु जहिल्यै छायाँमा पर्छन् । अहिले पनि सगरमाथा आरोणका लागि ट्रेकिङ कम्पनी तीन महिना अघिदेखि शेर्पा खोज्न दौडन्छन् ।

उनले भने–‘तेञ्जिङ शेर्पा हाम्रा बाजे हुन्, बाजेदेखि नातिको पालासम्म यो पेसामा छौँ, हामी शिक्षाको पहुँचमा नभएर नै यो क्षेत्रमा रह्यौँ, अबका पुस्ताले सगरमाथा चढे पनि एक पटक भन्दा चढ्दैनन् र नाम कमाएपछि अर्कै क्षेत्रमा लाग्नेछन्, त्यसैले शेर्पा संरक्षणमा सरकारले विशेष ध्यान दिनुपर्छ ।’

छिमेकी मुलुक भारतमा एक पटक आरोहण गर्नेलाई सरकारले विशेष भत्ताको व्यवस्था गरेको छ । हाम्रो यहाँ २२ पटकदेखि कम्तीम १० पटक चढेका धेरै शेर्पा आरोही छन् । तिनको भविष्य के हुन्छ रु कामीरिताको प्रश्न छ ।

उनले आरोहणमा रहेका कतिपय विकृतिको अन्त्य गरी यस क्षेत्रमा संलग्न शेर्पाको संरक्षणमा ध्यान नदिए अबको १० वर्षमा शेर्पा पाउनै गाह्रो हुन्छ, उनी भन्छन् । आरोही ल्हाक्पा शेर्पाको अनुभवमा सगरमाथामा हरेक वर्ष मौसम फरक किसिमको हुनेगर्छ । यस पटक पनि मौसम त्यति अनुकूल थिएन । तै पनि शिखर चुम्ने अभिलाषा पूरा भयो ।

निरन्तरको अभ्यासले नै मानिसलाई सफलताको शिखरमा पुर्याउँछ । जुन आरोही शेर्पामा लागू हुन्छ । अक्सिजनबिना सगरमाथा चढ्नेका नाम पनि नेपाली शेर्पाकै छ । सबैभन्दा छिटो आरोहण गर्नेको नाम पनि शेर्पाकै छ । सबै कीर्तिमान जति शेर्पाको नाममा नै छ । तर शेर्पालाई राज्य तथा सरकारले जे जति सम्मान गर्नुपर्ने हो, त्यो हुन नसकेको गुनासो छ कामीरिता र ल्हाक्पाको । आशा गरौँ कुनै न कुनै दिन हाम्रो मागको सुनुवाई होला नी ?

 

प्रतिक्रिया दिनुहोस्