शिक्षामन्त्री पोखरेल बीचौलियाको प्रभावमा, परीक्षाबोर्डमा बदनामको लर्को


११ असार २०७५, सोमबार
Giriraj mani pokharel

काठमाडौं, ११ असार । उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्ड गठन भएपछि बाहिरिएका नारायण कोइरालाले शिक्षामन्त्रीका आसेपासेलाई कब्जामा लिएर आफू अनुकूल निर्णय गराउँदैआएका छन् । नागरिकताको मिति सच्याउनेदेखि स्नातकको प्रमाणपत्र नै नभए पनि परिषदमा हालीमुहाली गरेका कोइरालाले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका निकटस्थ सुदर्शन पराजुलीमार्फत् राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकमा कृष्णप्रसाद शर्मालाई ल्याएका छन् । परीक्षा बोर्डमा सदस्य सचिव दुर्गा अर्याल कोइरालाकै मानिस हुन् । प्रशासन प्रमुखमा भर्खरै ल्याइएका जंगबहादुर चौहान पनि कोइरालाकै इशारामा ल्याइएका छन् ।

Giriraj mani pokharel
एसईई परीक्षाको परीक्षाफल प्रकाशित हुने २ दिनअघि २०७५ असार ८ मा कृष्णप्रसाद शर्मालाई परीक्षा नियन्त्रक बनाइएको छ । शर्मा परिषदमा हुँदा सधैं नारायण कोइरालाका पीए हुन् । नारायण कोइराला र शर्माको टीमले परिषदमा जहिले पनि ठूला उच्च माविहरुबाट करोडौं रकम खाएर परिणाममा तलमाथि गर्दैआएको आरोप लाग्ने गरेको थियो । बोर्डका सदस्य सचिव दुर्गा अर्याल पनि नारायण कोइरालाकै विश्वासपात्र हुन् । परीक्षा नियन्त्रक पनि कोइरालाकै विश्वासपात्र शर्मालाई ल्याएपछि अब बोर्ड पूरै नारायण कोइराला र सुदर्शन पराजुलीको इशारामा नाच्ने बनाइएको छ । परीक्षा बोर्डमा देखावटी रुपमा अर्याल र शर्मा भए पनि पर्दापछाडिबाट नारायण कोइराला र सुदर्शन पराजुलीको नियन्त्रणमा पुगेको छ । परीक्षाबोर्डमा कोइराला र पराजुलीले आफ्नो टीम ल्याएपछि अब हुने प्लस टुको परीक्षामा कुन कुन कलेजलाई तलमाथि गर्ने भनेर हिसाबकिताव गर्न सुरु गरेका छन् ।
शर्मालाई परीक्षा नियन्त्रक बनाउनु नैतिक दृष्टिकोणबाट पनि गलत रहेको शिक्षा मन्त्रालय स्रोत बताउँछ । परीक्षा नियन्त्रकमा ल्याइएका शर्माकी छोरी जेभियर्स कलेजमा १२ कक्षामा अध्ययनरत छिन् । नैतिक रुपमा आफ्नै छोरी १२ कक्षामा अध्ययन गरिरहेको अवस्थामा शर्मालाई परीक्षा नियन्त्रक बनाउनु उचित हुँदै होइन, शिक्षा मन्त्रालयका अधिकारीले भने–‘२०७१ मा उच्च मावि शिक्षा परिषदले ११ वा १२ मा छोराछोरी अध्ययनरत रहेको अवस्थामा बाबुआमा परीक्षा नियन्त्रक हुन नमिल्ने निर्णय समेत गरेको थियो । तर परिषदबाट परीक्षाबोर्ड बनेपछि थप शुद्धिकरण हुनुपर्ने हो, तर १२ कक्षामा छोरी अध्ययनरत रहेका शर्मालाई त्यसमा पनि नैतिक मूल्यको वकालत गर्ने मन्त्री पोखरेलले परीक्षा नियन्त्रक बनाएका छन् ।’
ती अधिकारीको प्रश्न छ–‘गिरिराजमणि पोखरेल जस्तो आफूलाई विधि, पद्धति र नैतिक मूल्य मान्यतामा चल्ने दाबी गर्दैआएका मन्त्रीले छोरी १२ कक्षामा अध्ययनरत रहेको अवस्थामा बाबुलाई परीक्षा नियन्त्रक बनाउन मिल्छ ?’ साँघुमा समाचार छ– मन्त्री पोखरेलको कथनी र करनीमा फरक छ भन्ने कुरा नारायण कोइराला जस्ता लोकमानसिंंह कार्कीको बचाउमा जुलुसको नेतृत्व गर्ने भ्रष्टको इशारामा परीक्षा बोर्डमा परीक्षा नियन्त्रक र प्रशासनमा फेरबदलको निर्णयले पुष्टी गरेको छ । सुदर्शन पराजुली गिरिराजमणि पोखरेलका यसअघि मन्त्री हुँदाका स्वकीय सचिव हुन् । मन्त्री पाखरेलको आर्थिक कारोबार यिनैले डिल गर्दैआएका छन् । पोखरेल मन्त्री भएपछि कहाँ कसलाई नियुक्ति गर्नेदेखि सरुवा बढुवामा सबै आर्थिक डिल पराजुलीबाटै हुँदैआएको छ । पोखरेल आफू आदर्शवादी देखिने तर सबै काममा आर्थिक डिल पराजुलीमार्फत् गराउँदैआएका छन् । जनमोर्चा पृष्ठभूमिका एक नेकपाका कार्यकर्ताले भने–‘सुदर्शन पराजुली मन्त्री पोखरेलका एकाउन्टेन्ट(मुन्सी)हुन् । पोखरेल आफू आर्थिक कारोबार कहीँ गर्दैनन् । सबै आर्थिक कारोबार पराजुलीबाट हुने गरेको छ ।’ पोखरेलले आर्थिक ब्यवस्थापनको जिम्मा दिएका पराजुलीले छोटो समयमा स्कुलदेखि सहकारी, घरजग्गा लगायत ठेक्कापट्टा धेरै ठाउँमा २५ करोड रुपैयाँ लगानी गरेको उनलाई चिन्नेहरु बताउँछन् । उनको कोटेश्वर नरेफाँटमा लालीगुराँस बाटिका स्कुल छ । यसबीचमा नारायण कोइरालाले ठूला कलेजहरुमा पनि उनलाई जोडिसकेका छन् । नारायण कोइरालाले त उच्च मावि शिक्षा परिषदमा १० बर्षभन्दा बढी राज गर्दा धेरैवटा कलेजको रिजल्ट तलमाथि गरेबापत सेयर लिएका छन् ।
गिरिराजमणिको कांग्रेसमोह, नेकपाका सदस्य जिल्ल
त्यसैगरी, प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सीटीईभीटी) हेर्ने जिम्मेवारी मन्त्री पोखरेलले सुदर्शन पराजुलीलाई दिएको स्रोतले बताएको छ । पराजुलीकै योजनामा नेपाली कांग्रेसका उग्र समर्थक प्राविधिक महेश भट्टराईलाई सीटीईभीटीको प्रशासन प्रमुख बनाइएको छ । सीटीईभीटीमा अहिलेसम्म प्राविधिकलाई प्रशासन प्रमुख बनाइएको थिएन । भट्टराई नेकपालाई गालीगलौज गर्ने कर्मचारीका रुपमा सीटीईभीटीमा चिनिन्छन् । सीटीईभीटीमा नेकपाका कमिटीका सदस्य जीवराज काफ्ले र मणिराम भट्टराई बर्षौदेखि कांग्रेसको अत्याचारसँग जुध्दै बसेका छन् । उनीहरुलाई अपमान महसुस हुनेगरी कांग्रेसका त्यो पनि प्राविधिक भट्टराईलाई प्रशासन प्रमुखमा ल्याइएको छ । सुदर्शन पराजुलीले सीटीईभीटीमा भ्रष्टहरुको समूहलाई ठाउँ ठाउँमा सेटिङ गरिसकेपछि ५ बर्षदेखि सम्बन्धन नदिइएका विभिन्न बिषयका कलेजहरुसँग मोलमोलाई गर्न सुरु गरेका छन् । तीनकुनेको सिद्धार्थ फुडल्याण्डमा बसी पराजुलीले ५ बर्षअघिदेखि सम्बन्धना लागि निवेदन दिएका तर मापदण्ड पूरा नगरेका कलेजहरुसँग मोलमोलाई मिलाइसकेका छन् । सीटीईभीटीमा प्राविधिक कलेजहरुको सम्बन्धनमा कराडौं रुपैयाँ घुसको कारोबार हुने गरेको कुरा चर्चामा आउने गरेको छ । पराजुलीको समूहले ५ बर्षअघि निवेदन दिएका कलेजहरुलाई सम्बन्धन दिइसकेपछि नयाँ कलेज खोल्नका लागि सूचना जारी गर्नेगरी वातावरण बनाउन लागिएको छ । नयाँ कलेजहरुका लागि आवेदन माग गर्ने र अर्को बर्ष सम्बन्धन दिएर करोडौं खाने दाउमा पराजुलीको समूह छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७