सुन काण्डका ११ अभियुक्तले तारेखमा छुट्न गरे माग, को–को पुगे अदालत ?


११ असार २०७५, सोमबार
morang

मोरङ, ११ असार । साढे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डका अभियुक्त चार प्रहरी अधिकारीसहित ११ जनाले जिल्ला अदालत मोरङको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गराएका छन् ।morang

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका उनीहरुले साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालतमा मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर अनुसार आज निवेदन दिएका हुन् । पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत, गोरेको सहयोगी टेकबहादुर मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी राजन थापा, हेमन्त गौतम, पुण्यप्रसाद लामा, भूजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेलगायतले उच्च अदालतमा निवेदन दिएका हुन् । गोरेका सहयोगी मल्ल र नेपाल एयरलाइन्सका कर्मचारी थापाले कानुन व्यवसायी नारायणप्रसाद अधिकारी मार्फत र अन्य अभियुक्तले आआफ्ना कानुन व्यवसायीमार्फत निवेदन दिएका हुन् ।

अदालती बन्दोबस्तको १७ नम्बरमा पुनरावेदन सुन्ने अदालतले मातहतका अदालतमा परेका मुद्दाको कार्बाहीमा म्याद नाघेको वा प्रक्रिया नर्पुयाएको पाइएमा १५ दिनभित्र प्रक्रिया पूरा गर्न वा कानुन बमोजिम मुद्दाको किनारा गर्न आदेश दिन सक्ने व्यवस्था छ । अभियुक्तले उच्च अदालतमा निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेशसहितको कैफियत प्रतिवेदन पठाएको छ । यस निवेदनमाथि उच्च अदालतले आउँदो बिहीबार पेशी तोकेको छ । उक्त दिन उच्च अदालतमा वादीको तर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने बताइएको छ ।

वादी र प्रतिवादीको कानुन व्यवसायीहरुले बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरी प्रमाणको मुल्याकन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा साधारण तारेख वा धरौटीमा छाडने सक्ने अथवा जिल्ला अदालतले गरेको आदेलाई नै सदर गर्न सक्ने अधिवक्ता विकास थापाले जानकारी दिए । मोरङ जिल्ला अदालतका न्यायधीश नारयणप्रसाद शर्माले गएको जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दाका पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा छाड्ने आदेश दिएका थिए ।

प्रहरी जवान अमरबहादुर थापा मगरलाई साधारण तारेखमा र प्रहरी हवलदार विष्णुबहादुर खड्कालाई १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए । अन्य २८ जना पुर्पक्षको लगि झुम्का कारागारको थुनामा रहेका छन् । जसमध्ये भुजुङ गुरुङ, छिरिङ वान्देल गुरुङलाई काठमाडौ लगिएको छ । जिल्ला कारागार मोरङमा रहेका चुडामणि उप्रेती गोरेलाई पनि काठमाडौं लगिएको छ । उनीहरुविरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी(पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७