मार्जिन लोनको सीमा बढाउने चर्चाले सुध्रियो नेप्से


२२ असार २०७५, शुक्रबार
nepse photo नेपाल स्टक एक्सचेन्ज

काठमाडौं, २२ असार । केहि दिनदेखि निरासाजनक देखिएको शेयर बजारमा एक्कासी सुधार आएको छ । कारोबार रकमसँगै नेप्से सूचक समेत फराकिलो अंकले बढेको छ ।nepse photo नेपाल स्टक एक्सचेन्ज

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस साता सूचक पहिलो दिनको तुलनामा अन्तिम दिन ३९.८८ अंकले बढेर १२२४.४१ अंकमा पुगेको छ । यस साता १८४ कम्पनीको एक अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । अघिल्लो साताको तुलनामा कारोवार रकम २८.३९ प्रतिशत बढी हो ।

अघिल्लो साता १८६ कम्पनीका एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँको कारोवार भएको थियो । यस साता मार्जिन ऋणमा केन्द्रीय बैंकले ५० प्रतिशतसम्मको सीमालाई बढाएर ६० देखि ६५ प्रतिशतसम्म पुर्‍याउने चर्चा सार्वजनिक भएसँगै बजारमा सुधार देखिएको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने खबरले समेत बजार बढ्न टेवा पुर्‍याएको उनको भनाई छ ।

यस साता कारोवारमा आएका समूहगत उपसूचकमा उत्पादनमुलक बाहेक सबै बढेका छन् । उत्पादनमुलक ९.१७ अंकले घटेको छ । यस साता कारोवार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । यसैगरी कारोवार भएको शेयर संख्याको आधारमा प्राइम कमर्सियल बैंक र कारोबार संख्याको आधारमा नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छन् ।

सूचीकरणतर्फ ६ कम्पनीका बोनस शेयर यस साता सूचीकृत भएका छन् । जसमा ओम डेभलपमेन्ट बैंक, सूर्योदय लघुवित्त, देव विकास बैंक, मञ्जुश्री फारुइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र आरएमडीसी लघुवित्तका बोनस शेयर सूचीकृत भएका हुन् । सूचीकृत शेयर आगामी सातादेखि कारोवारमा आउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७