जागरणमा योगमायाको योगदान

 

  • लोककृष्ण भट्टराई

नेपाली सामान्तवादविरोधी आन्दोलनमा महिलाको स्वतन्त्रता, समानताका लागि योगमायाले उठाएको कदम इतिहासमा अमर रूपमा दर्जभएको छ । यिनी त्यसबेला राणाहरूको शासन भएको अवस्थामा शिक्षाको लहर र शैक्षिक संस्थाको अभाव भएको त्यो बेला महिलाहरूलाई शृंगार र नोकर सम्झने भयंकर सामन्ति शोषण भएको त्यो अवस्थाको कल्पना गर्दा एक अनपढ महिलाले सामन्ति शोषणकारी संस्कृतिका विरुद्ध उठाएको त्यो कदम ऐतिहासिक साहसिक त छँदै थियो ।

त्यसका साथै त्याग र आत्मदाहसमेतको आँकलन गर्दा नेपाली समाजको सामान्तवादविरोधी आन्दोलनमा एक कोशेढुंगाको रूपमा रहेको कुरा नेपाली इतिहासका अन्वेषक, समाजशास्त्री, मानवशास्त्री, राजनीतिक शास्त्री वा कुनै पनि विश्लेषकहरूको दुईमत हुन सक्दैन ।  ब्राह्मण परिवारमा जन्मेर दोस्रो वा तेस्रोले विवाह गर्नु भनेको त्यसबेलाका सामन्ति ब्राह्मणवादी चिन्तनप्रतिको ठूलो विद्रोह हो । योगमायाको जीवनचर्यालाई हेर्दा उनी शिक्षा र ज्ञान कुनै संस्थाबाट नलिए पनि व्यावहारिक ज्ञानबाट पोख्त महिला थिइन् ।

 


नेपालको सामन्तवादविरोधी प्रगतिवादी चेतना र युगअनुसारको आन्दोलनमा योगमायाको योगदानलाई नेपाली समाजले आफ्नो प्रगतिपथमा ह्दयदेखि नै ग्रहण गर्नु पर्दछ । यिनको जन्म वि.सं. १९३४ मा भोजपुर जिल्लाको नेपालेडाँडा गाविस सिम्ले भन्ने ठाउँमा भएको थियो । यिनी विलक्षण प्रतिभाकी धनी थिइन् । यिनका बुबाको नाम श्रीलाल न्यौपाने र आमाको नाम चन्द्रकला थियो । यिनको ७ वर्षको उमेरमै बालविवाह भएको थियो । यिनको विवाह भएको २ वर्षमै विवाहित पतिको निधन भयो । उनी माइतमा बसिन् र केही वर्षपछि उनलाई एक जना गाउँलेले भारतको असममा काम गर्ने मानिसको रूपमा लगे । काम गर्दागर्दै ती लाने मानिसको गर्भ बोकिन् र एक छोरी जन्माइन् । छोरी जन्मेको एक वर्षपछि तिनका दोस्रा पतिको पनि मृत्यु भयो । त्यसपछि पनि उनले असममै अर्को विवाह गरिन्, अर्की छोरी जन्माइन् । असमको धार्मिकस्थलमा उनले विष्णु पुराण सुनिन् र विकृति र विसंगति जति पनि समाजमा छन् तिनको अन्त्य गर्ने प्रण गर्दै मातृभूमि फर्किइन् ।

भोजपुरकै मझुवा बेंसी स्थानमा अरूण नदीको किनारामा कुटी बनाएर बसिन् र भगवान्को भजनकीर्तन गर्न लागिन् । उनलाई योगवाणीको महसुस भयो । उनले समाज सुधारक र सामन्ति प्रवृत्तिविरोधी आन्दोलनको सुरुवात गरिन् । उनका पछि धेरैभन्दा धेरै जनता गोलबन्द हुन थाले । उनले समाजमा सामन्तले गर्ने हरेक प्रकारका शोषण, दमन, लैङ्गिक विभेद, छुवाछूत र असमानताजस्ता कुराको डटेर विरोध गर्न थालिन् । जनता उनका पछि आमरूपमा लाग्न थाले । योगमायाले नेपाली समाजमा भएको शोषण, उत्पीडनका विरुद्ध र त्यसका लागि जनपक्षीय सुधारका लागि त्यसबेलाका प्रधानमन्त्रीहरू चन्द्रशमशेरलाई एक पटक र जुद्धशमशेरलाई एक पटक गरेर निवेदनसमेत दिइन् । निवेदनउपर राणा प्रधानमन्त्रीहरूले कुनै कारबाही गरेनन् र त्यसको विरोधमा उनले आत्मदाह गर्ने सोच राखिन् ।

प्रशासनले यो कुरा थाहा पाएर उनलाई जेल हाल्यो । उनका अनुयायीहरूलाई पनि भोजपुर र धनकुटाका जेलमा राखियो । उनले जेलमा समेत आफ्नो विरोध जारी राखिन् । जेलबाट पछि छोडियो र पनि शासकीय सुधारका लागि आफ्नो र आफ्ना अनुयायीहरूसमेतको शान्तिपूर्ण आन्दोलन जारी राखिन् । राज्यबाट कुनै सुनुवाइ नभएपछि वि.सं. १९९८ असार २२ गते आफ्ना ६७ जना अनुयायीहरूसहित अरूण नदीमा डुबेर आत्महत्या भनौं वा राम्रो भाषामा भन्दा जलसमाधि लिइन् । नेपालको इतिहासमा मात्रै नभएर विश्व इतिहासमै समाज सुधारका लागि यति धेरै मानिसले एकै पटक आत्मदाह गरेको कमै पाइन्छ । भ्रष्ट एवं घुस्याहा, शोषणकारी समाजका बारेमा उनले भनेका वाक्य यस्ता छन् :
अन्त्यकालमा त्यो घूसले फटाउला धाँजा,
बढो कष्ट मिल्नजाला त्यो घूस निस्कि जाँदा ।
अहिले मात्र पचेको छ भरे पच्ने छैन,
सम्झी राख सत्य वचन झूटो हुने छैन ।

उनका मागमा हरेक गाउँका वडैपिच्छे एक वा दुई अनिवार्य गौचरन हुनुपर्ने, जातीय छुवाछूत, शोषणकारी विभेद र भेदभाव समाजमा हुन नहुने, सतीप्रथा पूर्णरूपमा निर्मूल हुनु पर्ने, दास प्रथाको अन्त्य गरिनु पर्ने, जात काडिनु नहुने, जोगी–सन्यासीले गलामा रुद्राक्ष माला भिर्नुभन्दा सदाचारयुक्त समाज बनाउनु पर्ने, वनजंगल जोगाउनु पर्ने, काटमार र हिंसाको अन्त्य हुनु पर्ने, समाजमा व्याप्त घूसखोरी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, नारी–पुरुषबीचको भेदभाव हुन नहुनेजस्ता परिवर्तनकारी र अग्रगामी कुरा उठाएर ठूलो नैतिक चुनौती तत्कालीन राज्य, राज्यका शासक र विभेदकारी समाज व्यवस्थालाई दिएकी थिइन् । शासकहरूले जिल्ला जिल्लामा नियुक्त गरेका शासकका बारेमा उनले यस्तो रचना गरेकी थिइन् –
महाराज छन् दरबारमा हेर्न आउँदैनन्
दु:खी जनले निया निसाफ सिधा पाउँदैनन् ।
जागिरदार लोभी छन् नियाँ हेर्दैनन्
मर्नु पर्ने शरीर हो विचार गर्दैनन् ।।

पटक–पटक राणा प्रधानमन्त्रीलाई भेटेर वा निवेदन दिएर शासकीय सुधार र समाज सुधारका लागि गरेको पहलबाट कुनै सुधार नभएपछि उनले आत्मदाह गरी एउटा नैतिक आन्दोलनको आँधीबेहरी सिर्जना गरिन् । यसअघि प्रजापरिषद् गठन भएर उक्त दलले राणाहरूको विरोधमा वि.सं. १९९३ बाट र प्रचण्ड गोर्खा नामक दलले वि.सं. १९८८ बाटै राणा शासनको विरोधमा आन्दोलन उठान गर्दै थियो । यसअघि वि.सं. १९९७ मा राणाहरूले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई फाँसीको सजाय दिइसकेका थिए । यसले नेपाली मन मस्तिष्कमा विस्तारै राणाविरोधी विचारले घर गर्दै गइरहेको थियो । योगमायाको त्यसमा पनि महिला र विधवाको संगठित विद्रोह र ६७ जना मानिसले राणाशासन अन्त्यका लागि यत्रो ठूलो आत्मदाहजस्तो बलिदान गरेका थिए । यसले नेपाली समाजमा आगाको झिल्को सुकेको खरमा परेजस्तो गरी प्रभाव पार्‍यो र जताजतै राणाहरूको विरोधमा सशक्त विद्रोहले जन्म लियो ।

योगमायालाई हिम्मत नभएकी र आत्मदाहजस्तो लाछी काम गर्ने भनेर टिप्पणी पनि गरिन्छ । तर, त्यो चेतना भएको समाजमा माथिका माग राखेर महिलाहरूलाई संगठित गर्नु र त्यो विभेदकारी समाज व्यवस्थाका बारेमा जानकारी दिएर मर्न मार्न तयार पार्नु कम महत्त्वपूर्ण कुरा होइन । योगमायाका बारेमा देशका विभिन्न विश्लेषक र विद्वान्ले बेग्लाबेग्लै मत राखेका छन् । स्व. पुष्पलालले हिन्दु शोषणकारी वर्ण व्यवस्था र निरंकुश पारिवारिक शासन व्यवस्थाविद्धको सशक्त आक्रोश जो जायज र न्यायपूर्ण थियो भन्नु भएको छ । यद्यपि योगमायाका बारेमा अझै त्यति खोज हुन सकेको छैन । जति खोज भएर बाहिर आएका छन् ती सबैको अध्ययन र विश्लेषण गर्दा उनी एक सशक्त नारी हुन् र उनले नेपालको मात्र वर्गभेद र वर्णभेद चिन्तन र संस्कृतिलाई मात्र नभएर विश्वकै वर्गभेद र वर्णभेद व्यवस्थाका विरुद्ध सशक्त हुँकार गरिन् । यस्ती विवेकशील आधुनिक र सुधारवादी नारीबाट सिंगो नेपाली समाजले पाठ पढ्नु पर्दछ र आज विश्वमा भएका पाँच करोड नेपालीले उनले आधुनिक चेतनायुक्त न्यायपूर्ण समाज स्थापना गर्न गरेको सशक्त विद्रोहलाई वन्दना र नमन दुइटै मात्र नगरेर हार्दिक अभिवादन र सलाम पनि गर्नु पर्दछ । विश्वमा आधुनिकता ल्याउन र सभ्य समाजको निर्माण गर्ने महायज्ञमा लाग्दा सोक्रेटसले विष पिउनु पर्‍यो । गरिबको दु:ख दर्द हेर्न गौतम बुद्धले राजपाठ त्यागे । माक्र्स खान नपाएर लेख्दालेख्दै मरे । हाम्रै संस्कृतिमा पनि गौतम ऋषिले अपमान बेहोर्नु पर्‍यो । देशभक्ति पूर्ण युद्धमा लड्दालड्दै माटो र आमाका लागि वीर भक्ति थापाले प्राणको आहूति दिनुपर्‍यो । देशभक्तिपूर्ण कार्य गर्दागर्दै बहादुर शाह र भीमसेन थापा मारिनु पर्‍यो । अमरसिंह थापाले अपमानपूर्वक युद्धमा आत्मसमर्पण गर्नु पर्‍यो । यी सब शासकहरूको विलासिताका पराकाष्ठाबाट घटित घटना थिए ।

नेपाली समाजको आधुनिकीकरण र न्यायपूर्ण समाज स्थापना गर्ने आफ्नो जीवनको आहूति दिने असंख्य योद्धाहरू नेपाली समाजमा र सभ्यतामा जन्मे । यस्तै एक वीरंगना योगमाया थिइन् जसले त्यसबेला निरंकुश फासिस्ट एक दलीय पारिवारिक शासन व्यवस्थाको ठाउँमा प्रगतिशील समाज व्यवस्था र शासन व्यवस्था स्थापना गर्ने उद्देश्य राखेर त्यो अनपढ समाजलाई संगठित गर्नु र मर्न मार्नसमेत तयार पार्नुमा आधुनिक युगको सशस्त्र वा निशस्त्र विरोधभन्दा कम थिएन । आज योगमायाले जलसमाधि लिएको ७५ वर्ष भएछ । तर, नेपाली राज्य, समाज र सभ्यताले उनलाई एक महान् सहिदको रूपमा गणना गरेको छैन । यही अन्यायपूर्ण र विभेदकारी समाज दलीय व्यवस्था आए पनि यथास्थितिमा रुमल्लिइरहेको छ । योगमायाको अदम्य र असंख्य साहसलाई हामी ५ करोड नेपाली विश्वका जुनसुकै कुनामा बस्नेले पनि कदर गर्नु पर्दछ । हामी मातृभूमिको सिमानाभित्रको माटोमा बस्नेले त अझ बढी प्रगाढ रूपले बुझ्ने र सम्झने गर्नु पर्दछ ।

(भट्टराई पुस्तक ‘नेपाली सभ्यता: विगत र वर्तमान’को एक अंश)

प्रतिक्रिया दिनुहोस्