कतार विश्वकपबाटै ४८ देश खेलाउने फिफाको संकेत


२५ असार २०७५, सोमबार
Qatars 2022 World Cup 20180709012505

मस्को, २५ असार । रुसमा जारी २१औं विश्वकपको सेमिफाइनल सेमीकरण सकिएको छ। आयोजक रुस विश्वकपको समापन समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा पनि जुटिसकेको छ। यसैक्रममा क्रममा सन् २०२२ मा कतारमा आयोजना हुने २२औं विश्वकपको तयारी र सहभागी टोलीको विषयमा गन्थन र बहस फेरि सुरु भएको छ। विश्व फुटबल महासंघ (फिफा)ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ। अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।Qatars 2022 World Cup 20180709012505

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताए। ‘हामी अर्को संस्करणदेखि नै १६ टोली थपेर विश्वकपको दायरा फराकिलो बनाउन सक्छौं तर, कतारले यस विषयमा आफूलाई तयार गर्न सक्नुपर्छ। मस्कोमा एक महिनाअघि नै यस विषयमा छलफल भएको थियो। आयोजकलाई दबाब नदिई उसको अवस्थालाई ध्यानमा राख्नु हाम्रो कर्तव्य हो,’ इन्फान्टिनोले भनेका छन्।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि सकारात्मक देखिएका छन्। ‘कतारको दोहामा अहिले विश्वकपलाई लक्षित गरी आठवटा स्टेडियम तयार भइरहेको छ। सहभागी टोली बढाउँदा भौतिक संरचनादेखि सबै विषयमा ध्यान दिनुपर्छ। फिफाको प्रस्तावपछि हामी कसरी यसलाई पार लगाउने भन्ने विषयमा सोचिरहेका छौं’, कतार विश्वकप आयोजक कमिटीका सहायक महासचिव नसिर अल खतरले भने।

मस्कोको ग्लोली पार्कमा शनिबार भएको छलफलमा नसिरले ४८ टोली बनाउँदा कतार र फुटबललाई हानि हुन नहुने धारणा पनि राखेका थिए। ‘सहभागी संख्या बढाउँदा विश्वकप खेलको पुरातन ढाँचामा समेत परिवर्तन गरिनुपर्छ। छनोट भएका ३२ टोलीबीच नकआउट खेल खेलाएर १६ टोली छनोट गर्ने र त्यही टोलीसँग फिफा वरीयताको माथिल्लो स्थानमा रहेका १६ टोलीसँग खेलाउनु उचित हुन्छ,’ नसिरको तर्क थियो।

तर, यस्तै प्रस्तावलाई सन् २०१७ को जनवरीमा सम्पन्न फिफाको रुलिङ काउन्सिलले अस्वीकार गरेको थियो। कतारले सन् २०२२ को विश्वकप नोभेम्बरदेखि डिसेम्बरसम्म २८ सम्म आयोजना गर्ने सहमति जनाएको थियो। यही समयमा युरोपमा टप फुटबल लिग सञ्चालन गर्नुपर्ने भएकोले समयको समेत ख्याल राख्नुपर्ने बाध्यता छ। कतारसँग अहिले ३२ टोलीका लागि राम्रो व्यवस्थापन गर्ने क्षमता रहेको कतारी अधिकारीले स्पष्ट पारेका छन्।

कतार विश्वकप छनोट खेलहरू अर्को वर्षको सरुबाटै गर्नुपर्ने हुन्छ। त्यसैले फिफाका अधिकारीले रुस विश्वकपको फाइनललगत्तै यो विषयलाई सहज रूपमा समाधान गर्ने उपाय खोजिने बताएका छन्। रुस विश्वकपको उद्घाटन अघि मस्कोमा सम्पन्न फिफा कंग्रेसले सन् २०२६ को विश्वकपमा भने ४८ टोलीको सहभागिता सुनिश्चित गरेको छ। उक्त कंग्रेसले २३औं संस्करणको विश्वकप उत्तर अमेरिकी देश अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने निर्णयसमेत गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७