बुढीगण्डकीकाे ४ अर्ब ३८ करोड मुआब्जा निकासा


२५ असार २०७५, सोमबार
BUdhi gandaki river 37675259693f43c

गोरखा, २५ असार । बुढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित गोरखाबासीलाई मुआब्जाका लागि चालु वर्ष ४ अर्ब ३८ करोड रुपैयाँ निकासा भएको छ । यो वर्ष फुजेलका १ हजार १७९, नाम्जुङका ४६७ र बुंकोटका ५२३ प्रभावितको खातामा रकम निकासा भएको हो ।BUdhi gandaki river 37675259693f43c

आर्थिक वर्ष ०७४–७५ मा वितरणका लागि पाँच अर्ब रुपैयाँ निकासा हुने भएको थियो । बाँकी रहेको रकम निकासाका लागि अन्तिम तयारी भइरहेका आयोजनाको वातावरण मुआब्जा वितरण पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख कृष्ण कार्कीले बताएका छन् । चालु आर्थिक वर्ष जग्गाको मात्र मुआब्जा वितरण गरेको इकाइले आगामी आर्थिक वर्ष डुबानमा पर्ने घर, गोठ र फलफूलको पनि लगत संकलनको तयारी गरेको छ ।

गत वर्षको बाँकी रहेको ४० करोड र यस वर्ष निकासा भएको पाँच अर्ब रकम सबै वितरण गरिसक्ने इकाइले जनाएको छ । ‘हामीसँग १ अर्ब ६ करोड रुपैयाँ छ,’ उनले भने, ‘बोर्लाङका केही डुबानपीडितलाई यसै महिना खातामा रकम जम्मा गर्ने तयारीमा छौं ।’ बाँकी रकम मुआब्जा निकासा नभएका फुजेल, नाम्जुङ र बुंकोटका प्रभावितलाई वितरण गर्न लागिएको उनले बताए ।

‘आरूघाट बजार क्षेत्रको मुआब्जा निर्धारण हुन सकेको छैन,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘आगामी साउनको सुरुबाटै घरगोठ, फलफूल र रूखको लगत संकलन गर्ने अनि आरूघाट बजारको मुआब्जा निर्धारण गर्ने काम सुरु गरिहाल्छौं ।’ डुबान प्रभावितलाई वितरणका लागि यो वर्ष प्राप्त हुने भनिएको रकम सबै निकासा हुने पनि उनले बताए ।

गत वर्ष घ्याल्चोक, भुम्लिचोक र दुर्बङका प्रभावितलाई झन्डै तीन अर्ब रुपैयाँ वितरण भएको थियो । धादिङ र गोरखातर्फ डुबान क्षेत्रका व्यक्तिगत जग्गाको मुआब्जा वितरणका लागि मात्र ३२ अर्ब लाग्ने इकाइले जनाएको छ । ‘घर, गोठ, फलफूल सबैको मुआब्जा दिँदा करिब ४५ अर्ब लाग्ने हाम्रो अनुमान हो,’ इकाइका प्रमुख कार्कीले भने । १२ सय मेगावाटको जलाशययुक्त आयोजना निर्माणका लागि धादिङ र गोरखातर्फको करिब ५८ हजार रोपनी निजी जग्गा अधिग्रहण गर्न मुआब्जा वितरण भइरहेको छ । आयोजनाका कारण गोरखातर्फ साबिकको १४ र धादिङतर्फ १३ गाविसका बासिन्दा पूर्णरूपमा प्रभावित हुने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७