बाघदरबारमा तीन कालखण्डको प्रतिनिधित्व


२५ असार २०७५, सोमबार
bagh darbar

काठमाडौं, २५ असार । पुरातत्व विभागले भत्काउन स्वीकृत दिएपछि बाघदरबार नामले चिनिने हरि भवन भत्काइने भएको छ । ‘करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हालको हरिभवन तीन तत्लाको छ, भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने छ’, काठमाडौं महानगरपालिकाका सह–प्रवक्ता नवराज ढकाल भन्छन् । bagh darbar

भत्काउने काम शुरु भएको तीन महिनामा सक्ने र एक अर्ब ५० करोडको लागतमा पुनर्निर्माणको काम थाल्ने कामपाको योजना छ । निर्माण कार्य शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उनी भूकम्पका कारण क्षतिग्रस्त बाघदरबारले अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताउँछन् । गत असोजको पहिलो साता कामपाले पुनर्निर्माण प्रक्रिया अघि बढाए पनि पुरातत्व विभागले रोक लगाएको थियो । उक्त भवनका योजनाकार इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले हरिभवन नयाँ शैलीको हुने भएकाले उक्त भवन नेपालकै नमूना भवन हुने उल्लेख गरे ।

परम्परागत पाटी, ढुंगेधारा, चोक आदि निर्माण हुने सो भवनमा अपांगमैत्री शौचालय, पर्याप्त लिफ्ट, विपत्तिको सामना गर्न आकस्मिक कक्षको निर्माण र आकासे पानी संकलन जस्ता काम हुने भएको छ । तीन भागमा निर्माण हुने सो भवनको पहिलो भागलाई तीन तला, लिच्छबीकालीन शैलीको दोस्रो भागलाई साढे ६ तला र आधुनिक शैलीको तेस्रो मोहडालाई १५ तलामा प्रस्ताव गरिएको छ । महानगरको यो भवनमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित सबै कर्मचारी अटाउने छन् । एकै ठाउँमा प्रमुख, उपप्रमुख, इजलास, बोर्ड हल, न्यायिक समितिको कार्यकक्ष, इजलास र कार्यपालिकाको बैठक कक्ष पनि हुनेछ ।

भवनमा विविध विशेषतायुक्त चार वटा चोक÷आँगन रहने भएकामा मुख्यचोक र प्रमुखकोमा जाँदा भेटिने चोक परम्परागत नेवारी शैलीका हुनेछन् । प्रमुख, उपप्रमुख, कार्यकारी तथा अतिविशिष्ट व्यक्तिका लागि छुट्टाछुट्टै प्रवेश द्वार हुनेछन् । गोर्खा भूकम्प र त्यसपछिका पराकम्पनबाट कार्यालय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बागदरबारको राजश्व विभाग र शहरी विकास विभाग बाहेक कामपाका अन्य विभाग, जिल्ला समन्वय समिति, बबरमहल, राष्ट्रिय सभागृह र सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा सञ्चालन भइरहेको छ ।

दरबार पुनर्निर्माणका विषयमा विषयगत निकायबीच मतान्तर भएपछि भवनको जोखिम मूल्यांकन र सवलीकरण सम्भावनाका विषयमा नियुक्त गरिएको परामर्शदाताले महानगरमा बुझाएको प्रतिवेदनमा हालको हरिभवन विसं १९९२ मा पुनर्निर्माण भएको उल्लेख छ । उक्त दरबारमा पाटेबाघ पालेकाले बाघदबार भनिएको हो । इतिहासकार प्रा दिनेशराज पन्त गिर्वाणविक्रमको पालामा विक्रम संवत् १८६८ तिर बाघरदरबार बनेको बताउँछन् । भीमसेन थापाले गिर्वाणविक्रमबाट लालमोहर लगाएर धेरै जग्गा हातपारेको पनि उनको भनाइ छ ।

प्रा पन्त भन्छन्, ‘अहिलेको भवन बाघदरबारको भवन होइन बाघदरबार धेरै जमिनमा बनाइएको र ठूलो थियो ।’ हालको दरबार हरि शम्शेररले भोगचलन गरेका हुनाले हरिभवन भनिएको हुनसक्ने भन्दै उनले यस दरबारलाई बाघदरबार भन्दा फरक नपर्ने धारणा व्यक्त गरे । विसं २००७ पछि सरकारी स्वामित्वमा रहेको यस दरबार बीचमा केही समय अर्थ मन्त्रालयको कामकाज भएको र विसं २०६० पुस २८ गते तत्कालीन श्री ५ को सरकारले दरबारको साँचो कामपालाई दिएको थियो । त्यसैवर्ष चैत २७ गतेदेखि महानगरका काम यस दरबारबाट शुरु भएको थियो ।

विसं १९०१ मा भीमसेन थापाका भतिजा माथवरसिंह थापा प्रधानमन्त्री भएपछि त्यसअघि सरकारीकरण भएको दरबार पुन थापालाई नै फिर्ता गरिएको थियो । त्यसको एक वर्षपछि विसं १९०२ मा तत्कालीन राजा राजेन्द्रको योजनामा माथवरसिंह थापाको हत्या उनकै भाञ्जा जङ्बहादुरबाट भएपछि दरबारलाई पुनः सरकारीकरण गरिएको इतिहासकार पुरुषोत्तम शम्शेर जबराको भनाइ छ ।

उपेन्द्रविक्रम शाहपछि उनका छोरा भूपेन्द्रविक्रमले त्यसदरबारलाई उपयोगमा ल्याएकामा १९९० को भूकम्पले संरचना जीर्ण भएकोले भवन पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माण गर्ने समयमा भूपेन्द्रविक्रमका जेठा छोरा मोहनविक्रम पुल्चोकतिर सरे । त्यसपछि उक्त दरबार जुद्ध शम्शेरका छोरी ज्वाइँ हरि शम्शेरको स्वामित्वमा पुग्यो । हरि शम्शेरले भोग चलन गरेका हुनाले यसै तथ्यलाई आधार मानेर विद्यमान भवनलाई हरिभवन भनिएको हो । बाघदरबार अहिलेको भवन होइन, अहिलेको भवनमा रहेका इँट्टामा श्री ३ जुद्ध १९९० र श्री ३ जुद्ध १९९१ लेखिएको छ । यदि १९९० अघि बनेको भवन भए श्री ३ जुद्ध लेखेका इँटा कसरी पर्खालमा हुन्थे ? सम्पदा संरक्षणमा काम गर्नेहरुको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७